हिउँमा फसेका बाबुछोरा गत चार दिन देखि उद्धार गर्न सकिएन


  • thebuddhaexpress

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै चार दिनदेखि हिउँमा फसेका उद्धार हुनसकेको छैन ।

उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ ।

मिक्वाखोला घर भएका अन्दाजी ५५ वर्षका लाक्पाटासी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका हुन् ।

हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो । पहिलोपटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रोपटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए ।
उद्धारका लागि भोलि पुनः हेलिकोप्टर लैजाने तयारी भएको शेर्पाको भनाइ छ ।‘हामी दुई पटकसम्म सो क्षेत्रमा पुग्यौँ, पहिलोपटक ठाउँ पत्ता लागेन, दोस्रोपटक जाँदा कुहिरो लाग्यो, अब भोलि पुनः जान्छौँ’, शेर्पाले भने ।

हिउँमा फसेकाहरू बेलाबेलामा फोन सम्पर्कमै रहने गरेकाले ज्यान जोखिममा नहोला भन्ने अनुमान रहेको शेर्पाको भनाइ छ ।

चौँरीगोठ सार्ने क्रममा उनीहरू हिमपहिरामा परेका थिए । फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आड लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

                               

प्रतिक्रिया