त्रिविले कोर्स नसकेरै हतारमा परीक्षा लिइदैं,विधार्थी चिन्तित


  • सुरज सिंह

त्रिभुवन विश्वविद्यालय(त्रिवि) अन्तर्गतका क्याम्पसमा कोर्स नसकेरै हतारमा परीक्षा लिइदैं पाइएको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार बर्षे स्नातक तहका क्याम्पसमा प्रथम बर्षको ५० प्रतिशत मात्र कोर्स सकेको छ।

५० प्रतिशत मात्र कोर्स मात्र सकेर त्रिविले व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षा फागुन १३ गतेदेखि सञ्चालन गर्ने परिक्षा तालिका सार्वजानिक गरिसकेको छ ।

त्रिविले भविष्यमाथि लापरबाही गरेको प्रथम वर्षका विद्यार्थीहरुको आरोप छ ।

प्रथम वर्ष विज्ञान संकायमा अध्ययनरत सुजन पौडेल भन्छन्- ‘अनलाइन र भौतिक उपस्थिति मिलाएर २ महिनामा ५० प्रतिशत मात्र सकेको छ र त्रिविले परिक्षाको तालिका सार्वजानिक गरिसकेको छ , यस्तो तरिकाले परिक्षा कसरी दिने?’।

उनले भने- ‘परिक्षा सार्नुपर्ने र आफ्नो तयारीको लागि समय दिनुपर्छ, त्रिविले शैक्षिक क्यालेन्डर मिलाउन हामी विधार्थीलाई तनाब मात्र दिइएको छ।’ अहिले ‘खाए खा न खाए घिच ’ भने जस्तै पढाइएको छ र ज्ञान केहि आर्जन छैन् ,गोरु घोकाई जस्तै पढ्ने अवस्थामा छौं।

अस्कल क्याम्पसमा अध्ययनरत सम्मी झा बताउँछन्- ‘एक महिना क्लास गरेर कहाँ पास हुन्छौं ,सबजना त्यसै फेल नै हुन्छौं।’

त्रिचन्द्र कलेजको प्रथम बर्षको सुरज न्यौपानेले भन्छन् -‘ ५० प्रतिशत कोर्स पनि मुश्किलले सकेको छ, परीक्षाको तनाबले झन केहि आउदैन, कसरी पढ्ने?’

मानविकी संकायको पहिलो वर्ष पढिरहेकी रचना बस्नेतले भनिन्, ‘कोरोनाको कारण सबै कलजेहरुले अनलाइन पढाएको छैन । अनलाइन नपढाउकोहरुको कोर्ष नै पढाइ सकिएको छैन ।’

क्याम्पसले पहिलो वर्षका विद्यार्थीका लागि २०७८ मंसिरको पहिलो सातादेखि अध्ययन सुरु भएको थियो ।

त्रिविले स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्न गत मंसिरमा एक सूचना जारी गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले फारम भर्ने म्याद मंसिर २७ गतेदेखि पुस २६ गतेसम्म दिएको थियो । तर रजिस्ट्रेसन नम्बर प्राप्त भएपछि मात्र फारम अपलोड गर्नुपर्ने भएकाले पुस २६ गतेसम्मको अवधि थप गरी माघ ५ गतेसम्म कायम गरिएको थियो ।

माघ ६ गतेदेखि १० गतेसम्म दोब्बर दस्तुरमा फारम भराइ २०७८ माघ ११ र १२ गते भित्र आवश्यक प्रकिया पूरा गरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन सूचित गरिएको थियो ।

परीक्षा फारम भर्ने म्याद सकिएको अघिल्लो दिन परीक्षा नियन्त्रण कार्यालयले माघ ४ गते अर्को सूचनामार्फत स्नातक तह प्रथम वर्षका सबै संकायको परीक्षा फागुन २ गतेदेखि गर्नेगरी तालिका सार्वजनिक गरेको थियो । तर कोरोना संक्रमणको जोखिमका कारण परीक्षा फागुन १३ गतेदेखि गर्नेगरी स्थगित गरिएको थियो ।

दोस्रो बर्षका विद्यार्थी चिन्तित

त्रिविले आफूहरुको सधैं भविष्यमाथि खेलबाड गरेको दोस्रो वर्षका विद्यार्थीहरुको आरोप लगाएका छन् ।

त्रिविको दोस्रो वर्षमा अध्ययनरत झण्डै एक लाख विद्यार्थीहरूले पहिलो वर्षको नतिजा कुरेर बसेका छन् । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ व्याचको प्रथम वर्षको नतिजा सार्वजनिक अहिले सम्म गरेको छैन् तर चारवर्षे स्नातक तह प्रथम वर्ष(२०७७ ब्याच)को परीक्षा तालिका फागुन १३ गते देखि सञ्चालन गर्ने भएको छ । यसरी अघिल्लो वर्ष(२०७६ व्याच)को परीक्षामा अनुतीर्ण भएको विषयमा विद्यार्थीले परीक्षा यसपाली दिन नपाउने भएका छन् ।

यदि,नतिजा सार्वजनिक भए पनि स्नातक दोस्रो वर्षमा पुगेका विद्यार्थीले अनुतीर्ण विषयको परीक्षाका लागि फारम भर्न पाउने छैनन् । किनभने, फारम भर्नेलगायत अरु प्रक्रिया पूरा गरी त्रिविले परीक्षा तालिका नै सार्वजनिक गरिसकेको छ ।

स्नातक तह दोस्रो वर्षमा अध्ययनरत (२०७६ ब्याचका) विद्यार्थीले पहिलो वर्षको कुनै परीक्षामा अनुतीर्ण भए परीक्षाका लागि अब थप एक वर्ष कुर्नपर्ने भएको छ ।

पहिलो वर्षको परीक्षा गराउनु दोस्रो वर्षका विद्यार्थीमाथि अन्याय भएको विज्ञान संकायमा दोस्रो वर्ष अध्ययनरत विद्यार्थी राम जोशी भन्छन्- ‘यदि हामी पहिलो वर्षमा कुनै विषय लागेर फेल भएमा कसरी पुनःपरीक्षा दिने ?’ उनले भने, ‘के अब हामी फेल भएर परीक्षा दिँदा अहिले त छुट्ने नै भयौं । हाम्रो पढाइ एक वर्ष ढिलो हुने भयो ।’

जोशी जस्तै चिन्तामा दोस्रो वर्ष अध्ययन गरिरहेका कुसुम हुमागेन भनिन्- ‘त्रिविले हाम्रो बारेमा नसोची पहिलो वर्षको परीक्षा गराउन लागेको छ । हामीले दोस्रो वर्ष पढेको एक वर्ष हुन लाग्यो, अझै परीक्षा फारम खुलाएको छैन । हामीभन्दा पछाडि कक्षा सुरु भएकोहरुको फारम खुलाएर पनि परीक्षा मिति तोकिसकियो ।’

अहिलेसम्म त्रिविले दोस्रो वर्षका विद्यार्थीहरुको अझै परीक्षाको लागि फारमसमेत खुलाएको छैन । उनीहरु २०७६ सालमा पहिलो वर्ष भर्ना भएका थिए । तर कोरोना महामारी पहिलो वर्षको परीक्षा दिन दुई वर्ष लागेको थियो ।

यस्तै, अवस्था रहियो भने स्नातक तह सकिन दोस्रो बर्षका विद्यार्थीलाई कति बर्ष लाग्ला भनेर विधार्थी चिन्ताजनक अवस्थामा रहेको छ।

त्रिविको नियमअनुसार पहिलो वर्षको परीक्षाको नतिजा निकालेर दोस्रो वर्षको परीक्षाको लागि फारम खुलाउनु पर्ने थियो । तर यसपटक परीक्षा नियन्त्रण बोर्डले दोस्रो वर्षको परीक्षा फारम खुल्नुअघि नै पहिलो वर्षको फारम खुलाएर परीक्षा मितिसमेत तोकिसकेको छ ।

                               

प्रतिक्रिया