प्रेम लीला: विश्व प्रणय दिवस


  • वचन शाह बिराम

आजबाट औपचारिक रुपमा प्रणय दिवस अर्थात् भ्यालेन्टाईन्स डे सप्ताहको सुरुआत भएको छ। सर्वप्रथम सम्पूर्ण प्रेमिलो मनका प्रेमसम्बन्धमा मायाका आँकुरा सधैं ताजा रहोस् र जीवनका प्रत्येक पल हाँसी- खुशी बितोस् भनी कामना गर्दछु।
हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा श्री कृष्ण अष्टमीलाई नै प्रेम दिवस मान्नुपर्ने विचार राख्छन् र भ्यालेन्टाईन जस्तो पश्चिमा संस्कृति उपयुक्त नभएको तर्कमा जोड दिन्छन्। वास्तवमा भ्यालेन्टाईन डे एउटा आयातित संस्कृति हो तर प्रेमका पक्षपातीहरु भन्छन्,प्रेमको कुनै भूगोल र सीमा हुदैन। १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देश र उपहारहरु लिने- दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ। तथापि एउटा प्रेमिल मनले अरुप्रतिको आफ्नो प्रेमभाव प्रकट गर्न अपितु कुनै खास तिथि मिति दिवस या साइत नै कुरिराख्नुपर्दैन। धेरै पहिले १४ फेब्रुअरी एकदिन मात्र मनाइने भ्यालेन्टाइन केही वर्षयता सप्ताहव्यापी रुपमा मनाउन थालिएको छ।

एकैछिन भ्यालेन्टाईन्स डे को उद्गमको बारे कुरा गरौं। भ्यालेन्टाइन डे को सुरुआत ईस्वी सम्वत् २६९ रोमनबाट सुरु भएको हो। यस दिवससँग एउटा साह्रै दुखान्त प्रेम कहानी जोडिएको छ। तत्कालिन रोमन सम्राट् क्लाउडियस द्वितियले आफ्नो राज्यका सैनिकहरुलाई प्रेम तथा विवाह सम्बन्ध गाँस्न रोक लगाएका थिए। प्रेम तथा विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचनासमेत दुई व्यक्तिबीच साझा भई सार्वजनिक हुन्छ भन्ने धारणाअनुरुप सम्राट क्लाउडियसले यस्तो उद्घोष गरेका थिए। तर आफ्नै सम्राट्को नियम मन नपराएकाहरु मध्ये रोमनका सैन्ट भ्यालेन्टाइन नाम गरेका पादरीले प्रेम र प्रेमीहरुको पक्षमा आवाज उठाए। उनले सम्राट क्लोडियसको प्रतिबन्ध उल्लङ्घन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह समेत गराए। सम्राटले पादरीको यस्तो गतिविधीको खबर पाएपछि आफ्नो अवज्ञा सहन सकेनन् र उनलाई तुरुन्त पक्राउ गर्ने आदेश दिए। सम्राटको आदेशानुसार पादरी सैन्ट भ्यालेन्टाईनलाई पक्राउ गरी जेल हालियो। पादरीलाई सम्झाईबुझाई गर्दा पनि आफ्नो हठ नछोडेपछि सम्राट क्लोडियस उनलाई मृत्युदण्ड दिने निष्कर्षमा पुगे।

जेलमा केही खास अवधिसम्म बसिरहँदा सैन्ट भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग अगाध प्रेम बस्यो। आफूलाई मृत्युदण्ड दिनुअघि सैन्ट भ्यालेन्टाइनले “लट्स अभ् लभ् फ्रम योर भ्यालेन्टाइन”भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिएका थिए भन्ने कथन छ। उनले आफ्ना दुवै आँखा दृष्टिविहीन प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए। यस घटनाले ईतिहासमा एउटा गहिरो र नि:स्वार्थ प्रेमको उदाहरण स्थापित गरेको छ,साथै भ्यालेन्टाईनलाई प्रेमीहरुको देवताका रुपमा अमर बनाएको छ। उनलाई सन् २६९ को फेब्रुअरी १४ का दिन मृत्युदण्ड दिइएको इतिहास छ। पादरी भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको करिब २२९ वर्षपछि सन् ४९८ मा इसाई धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झना दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए। त्यसपछि रोम, फ्रान्स र इंग्ल्यान्ड हुँदै पछिल्लोसमय प्रेमका लागि सैन्ट भ्यालेन्टाईनले गरेका त्यागको सम्झना गर्दै विश्वभरि हरेक वर्ष फेब्रुअरी १४ का दिन प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ।

प्रेमको भाषा यस्तै हुन्छ,यसमा जो जित्छन् उनीहरुले हारेको भनिन्छ र हार्नेहरुलाई नै विजेताको उपमा दिई ईतिहासले अमरत्व प्रदान गर्दछ। रोमियो जुलियट,हीर रञ्झा,लैला मज्नू,शिरिन फरहाद,सोनी महिवाल ईत्यादि प्रेमकहानीहरुलाई सापेक्षका रुपमा लिन सकिन्छ।यी कहानीहरुमा प्रेमी-प्रेमिकाले एकअर्काको वियोगमा तड्पिदा-तडपिदै प्रेमको बाजी हारेका पाइन्छन् अथवा साँचो प्रेमको प्रमाणस्वरुप आफ्नो ज्यानसम्म आहुति दिएका छन् र अमर बनेका छन्।

यसले प्रेमलाई एक गन्तव्यहीन अनन्त यात्रा को रुपमा परिभाषित गर्छ। तर आजको आधुनिक विचारको दुनियाँमा यस्ता प्रेम कहानीलाई केवल एउटा कथाका रुपमा मात्र हेर्नेहरुको पनि कमी छैन। वास्तविक प्रेमले कहिल्यै पीडा दिदैन। प्रेम भनेको मनसँग मनको गहिराइ नाप्ने आत्मीय समर्पणको सम्बन्ध हो जसको सार्थकता खुसीसाथ एकाकार जीवन बाँच्नुमा हुनुपर्छ न कि आफ्न‍ो जीवन अपूर्ण उ‌‍देश्यहीन ठानी स्वयम् को अस्तित्व मेटाउनुमा। यस दृष्टिकोणले रोमियो जुलियट,हीर रञ्जा,लैला मज्नू ईत्यादि खास अर्थमा प्रेम कहानी नै होइनन् भन्ने दावीका साथ भन्न सकिन्छ।

सामान्यतया:नव यौवनाबीच हुने आपसी आकर्षण,सद्भाव र सौहार्दतालाई नै प्रेमको रुपमा अर्थ्याउने गरिन्छ। तर आमाबुवा,छोराछोरी, दाजुभाई,दिदीबहिनी लगायत मान्यजन, आफन्तजन,नातागोता लगायतमा पनि एकप्रकारको प्रेम सुषुप्त रहेको हुन्छ। साँचो मायामा एकअर्काको जिन्दगीको गति र दिशा समेत साझा हुन्छ। साँचो प्रेम अपरिभाषित छ,अपरिमित छ,असीमित छ। साँचो प्रेम कुनै ब्यक्ति विशेषको सम्बन्धमा होईन, बेनामी कल्पनाको अनुभूतिमा फक्रिरहेको हुन्छ। अहिलेको जमानामा आत्मिक प्रेम अर्थात् प्लेटोनिक लभको कुरा केवल एक आदर्शजस्तो मात्र लाग्छ। प्रेम आफैंमा हुदैन।

मुख्यतः युवायुवतीबीच उत्पन्न हुने शारीरिक आकर्षणकै कारण प्रेम जन्मिन्छ। महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले तपाईं प्रेममा पर्नुको दोषारोपण गुरुत्वबललाई गर्न नमिल्ने विचार राखेको थिए। विश्वबिख्यात साहित्यकार शेक्सपियरले प्रेम अन्धो हुन्छ भनेर उक्ति दिएका थिए। प्रेमी-प्रेमिकाहरु एकअर्का दोष र कमीकमजोरीहरु देख्न सक्दैनन् भन्ने अर्थमा यस दर्शनलाई बुझ्न सकिन्छ। वडे बुजुर्गहरुको कुरा सुन्ने हो भने केटाकेटी बीच विवाहअघि प्रेम हुनै सक्दैन, फगत शारीरिक आकर्षण मात्र हुन्छ भन्ने धारणा राख्छन्। यद्यपि प्रेमविनाको यौन र यौनविनाको प्रेम अधुरो हुन्छ भन्नू प्रेमको सङ्कीर्णताको पराकाष्ठा हो।

प्रेमको विज्ञान :सुन्दा अलिकति अचम्म लाग्ला, तर अध्ययनकर्ताहरुका अनुसार प्रेममा परेको मान्छेको मस्तिष्क भर्खरै कोकिन खाएको मान्छेको मस्तिष्क जस्तै हुन्छ। कोकिनले प्लेजर सेन्टर नामक खुसीको महसुससँग सम्बन्धित हाम्रो मस्तिष्कको एउटा भागलाई सक्रिय बनाइदिन्छ। यसले हामी खुसी हुनको लागि आवश्यक उत्तेजना “डोपामिन”को मात्रा बढाइदिन्छ। फलस्वरुप स–सानो कुराले पनि हामी खुसी हुन्छौँ। प्रेममा परेको व्यक्तिको दिमागमा पनि यही हुन्छ। तर कोकिन सेवन गर्दा वा प्रेममा पर्दा हामी कोकेन वा प्रेम मात्रको कारणले खुसी हुने भने होइन। त्यसैले प्रेममा पर्दा आफू जोसित प्रेममा परेको हो, त्यो व्यक्ति मात्र होइन, सबै चिज राम्रो लाग्न थाल्छ ।आफ्नो मनपर्ने व्यक्तिसँग हुँदा वा उसको फोटो मात्र हेर्दा पनि हाम्रो शरीरमा फिल् गुड हर्मोन- “डोपामिन” र “नोर एपिनेफ्रिन” नामक हर्मोनहरु मस्तिष्कको अघिल्लो भागवाट उत्पादन हुन थाल्छन्। मानिसहरुमा प्रेम हुनुको कारण “इण्डार्फिन” नामक हर्मोन पनि जिम्मेवार छ। जव कसैलाई आँखाले देखिन्छ त्यसको सन्देशी सोही हर्मोनका कारण दिमागमा पुग्छ र हर्मोन थप सक्रिय हुन थाल्छ। हाम्रो शरीरमा अन्य विभिन्न रसायन पनि प्रेम बढाउनमा जिम्मेवार मानिन्छन्। जस्तै “सेरोटोनिन” मानिसक शान्ति दिने काम भने लभ् हर्मोन भनिने “अक्सीटोसिन”ले थप उत्तेजना बढाउँछ। यसले हामीमा यौनइच्छा जगाउने मात्र नभई आफूले प्रेम गरेको व्यक्तिसित हरपल हरक्षण साथ रहिरहने इच्छा र तृष्णा उत्पन्न गराउँछ। वास्तवमा भन्ने हो भने यो प्रेम भनेको कुनै भावना वा आवेग मात्र होइन, यो हाम्रो मस्तिष्कमा हुने रसायनिक प्रतिक्रियाहरुको परिणाम हो। प्रेमसँग सम्बन्धित यी सबै कुराहरु दशकौँसम्म सक्रिय रहिरहन सक्छन्। यीबाहेक प्रेममा पर्नको लागि अन्य थुप्रै शारीरिक वा मानसिक कारणहरु हुने भए पनि सत्य के हो भने किन र कसरी प्रेम हुन्छ भन्ने कुराको ठोस उत्तर विज्ञानले अझै पनि दिन सकेको छैन । तर अर्को सत्य के हो भने आफू प्रेममा परेपछि मात्र हामी सबैलाई प्रेम के हो भन्ने कुरा महसुस हुन्छ।

प्रेम मानवसभ्यताको सुरुआतदेखि नै जोडिएको छ। सुरु सुरुमा मानिसहरु सँगोलमा बस्ने गर्दथे, निजी सम्पत्ति भन्ने थिएन। हरकोही एकले अर्काेलाई प्रेम गर्ने पूर्ण स्वतन्त्रता थियोे। त्यतिबेला सानो-ठूलो,धनी-गरिब,कालो-गोरो, सही-गलत,ठिक-बेठीक भन्ने मान्यता जन्मिएकै थिएनन्। एक सबैका र सबै एकका थिए। निजी सम्पत्तिको विचार विकास भएसँगै विवाह र परिवार को मान्यता सिर्जना भयो। त्यसपछि धेरै निजी सम्पत्तिको मालिक पुरुष भएकाले उसले रोजी-रोजी स्वास्नीहरु छनौट गर्न थाले। ताजमहल बनाएर एक अमीरले गरिबहरुको प्रेमको उपहास गरिदिए। तथापि प्रेमले यस्ता शोषण दमनका विरुद्ध विद्रोह गरेका ईतिहास यदाकदा भेटिन्छन्। प्राचीन रोम समाजमा स्पार्टकसले वारियिनासँको प्रेमकै कारण मालिकहरुको सत्ताविरुद्ध युद्ध गरेका थिए। अाफूभन्दा जेठी र धनी परिवारकी केटी जेनीसँगको प्रेमका लागि विद्रोह गर्नुपरेकाले दार्शनिक कार्ल मार्क्समा विद्रोही विचार अंकुरण भएको थियोे। फलस्वरूप उनले संसार नै उथलपुथल गर्ने विद्रोही दर्शन प्रतिपादन गरे।

देवता र देवीहरुबीचको प्रेम कथा धर्मग्रन्थहरुमा पढ्ने समाजमा पनि प्रेमलाई नकारात्मक विषयकै रुपमा लिईन्छ। हाम्रा पिता-पुर्खाले समाजलाई जे जे कुरा दिए,त्यसलाई हामीले निर्दिष्ट रीतिरिवाज मानिदियौं। प्रेमबारे हाम्रो परम्परागत धारण छन्।यद्यपि यसको परिमार्जन हुन आवश्यक छ। खासमा हाम्रो समाज प्रेमप्रति अनुदार छ। विवाहपूर्व प्रेमसम्बन्ध स्थापित हुनुलाई अझै हाम्रो समाजले स्वीकार गर्न सकिरहेको छैन। विवाह भनेको प्रेममा एक सम्झौता मात्र हुन सक्छ। विवाह प्रेमले निर्माण गरेको सम्बन्ध होइन,कहिल्यै पनि थिएन। यो पूँजीवादीले बसालेको रीति हो। त्यसैले विवाहमा जाति,धर्म,कूल,खन्दान हेरिन्छ। उच निच जाति भनेर छुट्याइएको छ। फरक जाति र धर्मका स्त्री र पुरुषबीचको विवाह वर्जित गरिएको छ। सामाजमा विवाहले पुरुषलाई स्वामी अर्थात् मालिक र महिलाई सेविका बनाएको छ। सामाजले विवाहको नाममा पुरुषलाई भोगी र महिलालाई भोग्या हुन सिकाएको छ। दुवैलाई जकडिएको छ,स्वतन्त्र प्रेम गर्ने छुट कसैलाई पनि हुदैन। अधिकतम् विवाहमा प्रेम छैन, केवल यौन छ। प्रेमको बाटो भएर यौनमा पुगिन्छ। तर जब यात्रा यौनबाट नै सुरु हुन्छ,प्रेम गौण भईसकेको हुन्छ।

प्रकृतिको प्रेम लिला पनि अनौठो छ। हाईड्रोजन आफैंमा बल्ने तत्त्व हो, अक्सिजन बल्न मदत गर्ने तत्त्व हो तर यी दुई मिलेपछि आगो निभाउने पानी बन्छ। त्यस्तै सोडियम पानीको सम्पर्कमा आएपछि बल्ने अखाद्य तत्त्व हो, क्लोरिन एक विषालु ग्यास हो तर यी दुवैको सम्मिश्रणबाट(सोडियम क्लोराईड) खाने नुन बन्छ। वैज्ञानिकहरुका अनुसार पदार्थको सबैभन्दा सानो एकाई परमाणु हो। परमाणु-परमाणु मिलेर अणु बन्छन्। अणु-अणु मिलेर पदार्थ बनेका हुन्छन्। परमाणुभित्र ईलेक्ट्रोन,प्रोटोन र न्युट्रोन गरि तीनओटा उप-परमाणविक कणहरु रहेका हुन्छन्। दुई भिन्न-भिन्न तत्त्वका परमाणुहरुले एकआपसमा बाँडेर या लेन-देन गरेर सम्बन्ध बनाउँछन्,जसलाई बोन्ड
भनिन्छ।

वैज्ञानिकहरुले यो नदेखिने तर सारा ब्रह्माण्ड बाँध्ने शक्ति बोन्ड नै हो प्रेम। जब परमाणुहरुले एकआपसमा ईलेक्ट्रोन शेयर गर्छन्, त्यसलाई कोभ्यालेन्ट बोन्ड भनिन्छ भने ईलेक्ट्रोन लेन-देन गरी बनाएको सम्बन्धलाई ईलेक्ट्रोभ्यालेन्ट बोन्ड भनिन्छ। कोभ्यालेन्ट बोन्ड ईलेक्ट्रोभ्यालेन्ट बोन्डभन्दा बलियो हुन्छ। जब मानिसहरु एकअर्कालाई आफैंमा साटासाट गर्छन्,त्यो कोभ्यालेन्ट बन्ड हुन्छ। जब सम्बन्धमा सेयरिङ हुन्छ,प्रेम हुन्छ। लिने र दिने सम्झौताले बन्ने ईलेक्ट्रोभ्यालेन्ट बन्ड विवाहजस्तो सँस्कार हो।

भ्यालेन्टाईनजस्तो विशेष दिन प्रेम विषयक प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ। यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको सङ्केत हो। गुलाफी रङको गुलाफ मुटुको धड्कनको प्रतीक मानिन्छ। भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्किरहेको छ अर्थात् मेरो मुटु तिम्रै लागि हो भन्ने हो। पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ। फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ। सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ। भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ। कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ। फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्मको दिनलाई प्रेम सप्ताह को रुपमा मनाईन्छ। हरेक दिन कुनै न कुनै डे मनाईन्छ। भ्यालेन्टाईनको सुरुआत रोज डे बाट हुन्छ। गुलाफ आफ्नो भावना व्यक्त गर्ने माध्यम हो। गाढा रातो रङको गुलाफ उपहारमा दिईन्छ। फेब्रअरी ८ का दिन आफ्नो प्रेमी या प्रेमिकालाई प्रस्ताव राख्ने गरिन्छ। फेब्रुअरी ९ लाई ‘चकलेट डे’ भनिन्छ, यस दिन प्रेमी-प्रेमिकाले एकअर्कालाई चकलेट खुवाउने गर्छन्। फेब्रुअरी १० लाई ‘टेडी डे’ भनिन्छ, यस दिन टेडी दिएर सम्बन्ध गहिराइमा पुर्याउन सकिन्छ। फेब्रुअरी ११ लाई ‘प्रोमिस डे’ भनिन्छ,यस दिन साँचो प्रेमको वाचाकसम खाने गर्छन्। फेब्रुअरी १२ लाई ‘किस् डे’ भनिन्छ, यसदिन चुम्बन गरेर जोडीहरु प्रेमको गहिराई महसुस गर्छन्। फेब्रुअरी १३ लाई ‘हअ्ग डे’ भनिन्छ, प्रेमी या प्रेमिकालाई अङ्कमाल गरेर प्रेम थप कसिलो बनाउने दिन हो। यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यसलाई प्रणय दिवस अर्थात प्रणय दिवस भनिन्छ ।

प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन सकिन्छ। यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ। यद्यपि भ्यालेन्टाईनलाई कुनै असमझदारीले गर्दा बिग्रिन पुगेका आफ्ना नातागोतासँग सम्बन्ध सुधारका अवसरको रुपमा पनि लिन सकिन्छ।

आखिर माया गर्नेहरुका लागि प्रत्येक दिन प्रत्येक पल प्रेम दिवस नै हुन्छ तर पनि पश्चिमी संस्कृति सँगै भित्रिएको यो दिवसले कैयौं युवापुस्ताको जीवनमा धेरै असर पारेको छ। उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ। यसले गर्दा हाम्रो देशमा आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भइरहेका छन्। प्रेमजोडीहरुलाई त उत्सव हो त्यौहार हो तर सिङ्गलहरु अथवा प्रेमप्रस्ताव स्वीकार नभएका प्रेमीहरु थप दु:ख पीडा र डिप्रेसन बढ्ने गरेको पाइन्छ। आधुनिकता र देखावटीपनको चकचकी बढदो छ। माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ। गल्फ्रेन्ड र ब्याइफ्रेन्ड बनाउने त फेसन नै चलेको छ। यसप्रकार भ्यालेन्टाईन डे ले आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाउदै गइरहेको छ।

लेखक वचन शाह बिराम, स्नातक दोस्रो बर्षमा अध्ययनरत छन् ।

                               

प्रतिक्रिया