नागरिकताविहीनले सरकारसँग नागरिकता माग्दै माइतीघरमा धर्ना


  • सुरज सिंह

नागरिकताविहीनले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् ।​ नागरिकताविहीन नेपालीले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधबार पनि माइतीघरमा धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा नागरिकताविहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमाका सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन रहेको बताए ।

नागरिकताविहीनले प्लेकार्डमा-“आमा नेपाली बुबा नेपाली म चाहिँ कहाँ को?,देशको असल नागरिक पहिचान गर, २०७२को संविधान अनुसार भाग २
धारा १०को उपधारा (१) छिटो भन्दा छिटो कार्यान्वयन गर लगायतका नारा प्रदर्शन गरेका छन्।

उनले संविधानमा एकल आमा र जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भनिए पनि संशोधन नगरी आफ्नो अपहेलना गरिरहेको आरोप लगाए ।

‘हामी नागरिकता प्राप्तिका लागि आन्दोलन गरिरहेका छौँ । २०६३ सम्म जन्मसिद्धका आधारमा नेपाल सरकारले नागरिकता बाँड्यो । त्यसका सन्तानलाई कुन नागरिकता दिने कुरा २०७२ को संविधानले स्पष्ट गरेको छ । तर, संविधानमा लेखेर पनि नागरिकता ऐन संशोधन नभएको कारणले गर्दा जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाएका छैनन् । संविधान बनेको ६ वर्ष भइसक्यो हामी कहिलेसम्म यसरी बस्ने हो’ उनले भने ।

अध्यक्ष साहले सरकारले आफ्ना नागरिकलाई अनागरिक रूपमा राख्न नपाउने भन्दै सरकारको बारम्बार ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको बताए ।

                               

प्रतिक्रिया