जनमत पार्टी तोडफोडसहित आमहड्तालमा उत्रिएको भन्दै सिरहामा निषेधाज्ञा जारी


  • सुरज सिंह

जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले गरिरहेको आमहड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उतर दक्षिणा ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गर्न निर्देशन दिएका हुन् । सोमबार एक विज्ञप्ति जारी गरी उनले उनले चोहर्वादेखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्व पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा मंगलबार र बुधबार बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीले केही दिन अघिदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर राखी मिति २०७८/०९/१३ र १४ गते सम्मका लागि बिहान ५ः०० बजेदेखि बेलुका ७ः ०० बजे सम्म कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायका क्षेत्रहरुमा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।’

विज्ञप्तिमा भनिएको छ : ‘उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहने छ । आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।’

जनमत पार्टीले मंगलबार र बुधबार पनि चक्काजाम गर्ने

सात बुँदे मागहरु सम्बोधन नगरेपछि जनमत पार्टी आन्दोलन समितिले किसानको न्याय पक्षमा गरिरहेको आन्दोलनलाई थप लम्ब्याउने निर्णय गरेको छ ।आईतवारको सिरहा जिल्ला आमहड्ताल र सोमवारको चक्काजामको समिक्षा पश्चात जनमत पार्टी सिरहा समितिले पुष १३ गते (मंगलवार) र पुष १४ गते (बुधवार) समेत सिरहा जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेका हुन्।

सोमबार जनमत पार्टी सिरहाको विज्ञप्तीमार्फत मंगलवार र बुधवार समेत सिरहा जिल्लामा चक्काजाम यथावत रहने पवन यादवले जानकारी दिएका हुन् । किसान आन्दोलनलाई एक्यवद्धता जनाउदै गरेको आमहडतालमा प्रशासनद्धारा किसानहरुमाथि भएको व्यापक दमनप्रति घोर भत्र्सना गर्दै पक्राउ परेका कार्यकर्ताको बिनाशर्त रिहाइको माग समेत गरेका छन् ।

किसानको समस्या समाधान प्रति अग्रता नदेखाउनु उल्टै किसानमाथि प्रशासनले दमन नीति लिनु आफैमा निन्दनीय रहेको समितिले ठहर गरेको छ ।

पक्राउ परेका किसानहरु मिथिलेश यादव, सुभाष चौधरी, पटवारी ठाकुर, रुकेश साह श्याम यादव, उमा महतो, सुरेन्द्र यादव, हरेकृष्ण साह सुरेश कामती देव कुमार मुखिया रामवृक्ष यादव, बालेश्वर यादव, महेश यादव, हिरालाल यादवसहितका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने लगायतका माग समितिको छ ।

किसान उपर लगाईएका झुठा मुद्दा फिर्ता गर ,सरकारले सिचाईको व्यवस्था गर्नुपर्ने वा सिचाईको लागि विद्युत निशुल्क गर्नुपर्ने, किसानका लागि समयमा मल, बिउ र खादको व्यवस्था गर,हावा हुरी र वर्षाका कारण क्षति भएका वालीनाली वापत किसानको लागी राहत सिघ्र उपलब्ध गराऊ, किसानहरुको बालीनालीको उचित बजार मुल्य कायम गर, स्थानीय निकायमा भएको चरम भ्रष्टाचारको छानवीन गरी दोपीलाई जेल चलान गर लगायतका ७ बुँदे मागहरु राखेका छन्।

सरकारले पुष १४ गते सम्म मागहरु सम्बोधन नगरे आन्दोलन समितिको बैठकबाट थप आन्दोलन प्रदर्शन गर्ने प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएका हुन्।

                               

प्रतिक्रिया