औपनिवेशिकरण या राज्य एकिकरण ?


  • thebuddhaexpress


पृथ्वीनारायण शाहको जन्मजयन्ती भनेर गोरखा नगरपालिका लगायत अन्यले सार्वजनिक विदा घोषणा गरेको थियो । पृथ्वीनारायण शाहलाई नेपाल राज्य एकिकरणकर्ताको भूमिकामा स्वीकार गर्ने र राष्टनिर्माताको पगरी पहिरयाउने नेपाली जमात नरहेको कहाँ छ र ? त्यसो हो भने राज्य एकिकरणको सन्दर्भ के हो ? आजसम्मको इतिहासमा जे पढाइयो के साँचो तथ्य त्यही नै हो त ? शाहवंशको इतिहासभित्र गौरवगाथा मात्रै रहे भन्ने हो कि ? त्यही हो भने एकतिर पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइरहेको समय कीर्तिपुरका ज्यापु(नेवार) वर्षेणी किन एक ढुंगोमा थुकेर प्रतिरोध गर्दैछन् ? त्यसो हो भने राज्यधारीको आँखामा राज्य एकिकरणलाई हेर्ने दृष्टी र राज्यविहिन राष्ट्रहरुको राज्य एकिकरण हेर्ने दृष्टी अलग अलग रहेको प्रतित हुन्छ । यो लेखमा राज्यविहिन राष्ट्रहरुको दृष्टी सम्बन्धमा छलफल गरिनेछ ।

राज्यविहिन राष्टको पहिचानः आधुनिक राज्यको निर्माणसंगै संसारभरि नै राष्ट राज्यको परिभाषाभित्र शासक जातिको पहिचानलाई समग्र राष्ट्रको मान्यता मिले पश्चात ती पहिचानभन्दा वाहिर ठहर हुनपुगेका राष्ट्रहरु नै राज्यविहिन राष्ट्र भएको मानियो । नेपालको सन्दर्भमा नेपाली भाषा, दौरा सुरुवाल तथा टोपी सहितको शासकीय पहिचान नेपाली ठहर भएपश्चात बाँकी लामाभोटे, मधेशी, मुसलमान, थारु, ज्यापु(नेवार) आदि राज्यविहिन राष्ट्र हुने भयो । मगर तथा गुरुङ जसको योगदान कुनै वेला पृथ्वीनारायण शाहको सेना भएर ती सबै आक्रमणमा सहभागिता जनाए उनीहरु आज उपेक्षित एवम् दमित भएको वेला ती किरातीहरु जसले अन्तिम समयसम्म आफ्नो सुरक्षाको खातिर गोरखाली सेनासंग युद्ध गरे उनीहरुको हालत अझ जोखिमयुक्त हुने नै भए । त्यसैले होला अरुण खोलाको किनारमा लिम्बुवानका सेनापति काँङ्सोरे वनेम लिम्बुलाई छलकपटपूर्ण युद्धमा हत्या गर्ने गरेका रघु राना मगरको नाम कम उचारण गरिन्छ जबकी अमरसिंह थापा र भक्ति थापालाई राष्टिय विभूति ।

राज्य एकिकरणको उद्देश्यः गोरखा राज्य विस्तारको उद्देश्य प्रष्ट नै छ । यो विभिन्न विद्वानहरुको मतानुसार गोरखा अतिक्रमण भएको पुष्टी हुन्छ । महेशचन्द्र रेग्मीको मत अनुसार जब सेना–जमीनको सम्बन्ध कायम गर्दै जागीर र बक्सिस राजाले घोषणा गरे त्यसले युद्धका लागि गरीब गोरखाली जनताको लागि हौस्याए । धनको लोभमा उनीहरु मर्न र मार्न तयार भए । त्यसैको परिणाम राज्यहरु जित्दै त्यही जमीनदारी विस्तार गरेको प्रमाण अझै अवशेषको रुपममा गाउँ गाउँमा सेनाका कर्णेलहरुको जमीनदारी रहेकोबाट प्रष्ट हुन्छ । विशेषगरी तराईका समथर जमीनमा उनीहरुको नजर रहेको थियो जहाँ खेतीयोग्य जमीन प्राप्त गर्ने लालसा बोकेर युद्धमा होमिए । अर्को विद्वान मोहन मैनाली २०५६ सालमा महाकालीपारिको धार्चुला पुग्दा सन् १७९१ देखि १८१५सम्मको पच्चीस वर्षमा गोरखालीले कुमाउँका जनतामाथि गरेको अत्याचारको कथा उतारेको छ । त्यतिवेला उनले गरेको अनुभूति अनुसार गोरखाली सेनाले सुन चाँदी लुटेको, हीराजवाहरात लुटेको मात्र होइन ओछयानमा संगै सुतेका कुमाउँनीका स्वास्नीसमेत लुटेको वर्णन भन्ने छ । यसरी अंग्रेज र गोरखाली सेना वीच युद्ध हुँदा सो क्षेत्रका जनताहरु अंग्रेजको साथ दिएको पाइन्छ ।

नेपाल एकिकरणको भाष्य राणाशासनको अन्त्यतिरबाट शुरु भएर पञ्चायतकालमा नै सबैभन्दा सवल बनेको हो । त्यसअघि न पृथ्वीनारायण आफैंले कहींकतै नेपाल एकिकरणको उल्लेख गरे, न उनका प्रशस्तिमा काव्य लेख्ने भाट कविहरुले नै । चन्द्रगीरिबाट नेपाल देखेका पृथ्वीनारायणले यो देशको राजा बन्न चाहेको भन्ने छ तर त्यो एकिकरणको लागि न भएर त्यो समयमा सबैभन्दा समृद्ध र व्यवस्थित हुनुको कारण लोभ जागेर । गोरखा राज्य विस्तारको क्रममा नेपाल उपर आघिपत्य स्थापित भैसकेपछि सीमाना बढेको आफ्नो देशको नाम गोरखा राख्न पृथ्वीनारायण शाह चाहेनन् । बरु उनलाई नेपालको राजा कहलाउनुमा गर्व महसुस भयो । यति भएर पनि लामो समयसम्म अर्थात् राणाशासनको अन्त्यसम्म राजनीतिक, प्रशासनिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक सबै हिसावले नेपाल शब्दले हालको काठमाण्डौ उपत्यकालाई मात्र जनाउँथ्यो ।

आधुनिक नेपालको चिन्तनः आधुनिक नेपालको चिन्तन सन् १९४० पश्चात शुरु भएको पाइन्छ । पाठ्यक्रममा आधारित शिक्षाको उदय र शहरीकरण तिब्र बन्दै गएपश्चात नेपालका धनीका छोराछोरीहरु स्कूल तथा कलेज पढ्न थाले । आम जनताको जीवनमा अधिकार बोध गराउने उक्त शिक्षा प्रणाली मार्फत राज्यको शासनव्यवस्था बारे वहस शुरु भयो । समानता, आत्मसम्मान तथा बन्धुत्वको सिद्धान्त अन्तरगत प्रजातान्त्रिक व्यवस्थाको वहस चल्नुमा भारतीय स्वतन्त्रता संग्रामको समेत प्रभाव भएको र नेपालमा जहाँनिया राणाशासन अन्त्य गर्न जनविद्रोह भएको थियो । त्यसैले सन् १९५०मा दिल्लीमा राजा, राणा र काँग्रेस वीच सम्पन्न सम्झौता अनुसार संविधान सभा मार्फत नेपालको शासनव्यवस्था तय हुने विषय त्रिभुवनले खुल्लामञ्चबाट २००७ फाल्गुन ७ गते उदघोष गरेको थियो । यसरी आधुनिक नेपाल राज्यको जग राणाशासनको अन्त्य पश्चात शुरु भएकोले पृथ्वी नारायण शाह आधुनिक राज्य निर्माणकर्ता भन्नु र क्रिश्टोफर कोलम्बसले अमेरिका पतालगाएको मान्नु एकै मत हुनजान्छ । यहि कारणले होला अमेरिकामा कोलम्बसको शालिक ढाल्ने काम र नेपालमा पृथ्वीनारायण शाहलाई अतिक्रमणकारी मान्ने मतले दुइटैको नियति समान रहेको डा.प्रमोद मिश्रको भनाई छ । नेपालमा शासक जाति(वर्ण)का सम्भ्रान्तहरुको लागि एकिकरण होला । त्यसमा पनि वर्तमान दलीय व्यवस्थामा सरकार चलाउन मान्यता पाएका दलका केही नेतागणको लागि एकिकरण मानी भविष्यमा पनि वर्चश्व कायम राख्ने मनोभावना हुनु आश्चर्यको विषय हुँदै होइन तर आधुनिक नेपालमा असमानता, वहिष्करण एवम् सीमान्तिकरण भोग्दै आएका वहुसंख्यक जात, जातिहरुको लागि यो वहिष्करणात्मक सहभागिता ठहर्छ । अझ थप भन्नुपर्दा राज्यविहिन राष्ट्रहरु निर्माणको अध्याय पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारले गर्न पुगेको भन्न सकिन्छ ।

राज्यविहिन राष्ट्रहरुको दृष्टीकोणः राज्यविहिन राष्ट्रहरुको लागि पृथ्वीनारायण शाहको जन्मदिन महत्वहीन छ । गोरखा राज्य विस्तारलाई उनीहरुको मत अनुसार आतातायी हमला अथवा अतिक्रमणको लागि खुनी हमला भएको बुझिन्छ । त्यसैले नेपालको इतिहासमा गोरखा राज्य विस्तारलाई हाल आन्तरिक औपनिवेशिकरणको रुपमा व्यख्या गर्नेको किता र यसलाई एकिकरणको रुपमा बुझाउने किता वीच संघर्ष हुँदै आएको छ । राज्यविहिन राष्ट्र एकिकरणको भाष्यसंग सहमत हुने स्थिति नदेखिए पछि नेपालमा राजयपुनर्संरचनाको लागि सशक्त दवाव निर्माणको खाँचो देखे । आज संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्दा समेत कुनै राजाको जन्मजयन्ती मनाउने असान्दर्भिक प्रक्रियाको निरन्तरता दिने र शालिक ठड्याउने गरेको छ । सोही विषय राजतन्त्र पुनस्र्थापनाको लागि कारक बन्न त सक्दैन तर जब गणतन्त्रका लागि सडक संघर्ष गरेका र आज फेरि खुनी हमलाका नायकेको पथलाई स्वागतयोग्य मान्दै चरित्र प्रदर्शन गर्दा प्रतिरोध हुन्छ । हिजो संघीयतालाई भौगोलिक अखण्डताको घातक प्रस्ताव मान्ने ती राज्यसम्भ्रान्तहरु अहिले एकल राष्ट्र–राज्यको भरथेग गर्न लागेका छन् । यथास्थितिलाई मलजल गर्न शक्ति केन्द्रीकरण गर्न लागि परेको छ ।

राज्यविहिन राष्ट्रहरुको दृष्टीकोणमा जब राष्ट्र एकिकरणको शक्ति जनताहरु ठहर्छ भने अब आन्तरिक औपनिवेशिकरणको जंजिर तोड्न नीति, योजना र कार्यक्रम तय गर्न सक्नुपर्छ । त्यो भनेको वहुलराष्ट्र राज्य निर्माण हो । यसको लागि नै नयाँ ज्ञानको श्रोतको आवश्यकता रहेको छ । विकासको भाष्य अन्तरगत उक्त ज्ञानको श्रोत खोजी गर्न सकिंदैन् । विकास सम्बन्धि ज्ञानले यो वा त्यो हिसावले पश्चिमा ज्ञानको प्रवद्र्धन गर्ने गरेको छ । राज्य विहिन राष्ट्रहरु आत्मसम्मानको लडाइ लडिरहेकोले राष्ट्रिय उत्पीडनबाट मुक्तिको लागि राष्ट्रिय मुक्ति क्रान्ति प्रधान विषय हो । यो कुनै अर्को राज्य उपरको हमला हुँदै होइन बरु आन्तरिक उपनिवेशमा परेका राष्ट्रहरु आत्मसम्मानका खातिर हुने मुक्ति क्रान्ति हो । सारमा, त्यो आत्मनिर्णयको अधिकार सहितको स्वायत्तता वा स्वशासन नै हो ।

निष्कर्षः नेपाल एकिकरणको डंका एकातिर पिट्दै गरेको छ भने अर्कोतिर यसलाई अमान्य करार गर्दैै विभिन्न तरिका अपनाएर प्रतिरोध पनि हुँदैछ । फरक फरक लक्ष्यका साथ यी गतिविधिहरु राजनीतिक रुपले अगाडि बढे पनि बुझाईमा समस्या रहेको छ । यसलाई तुलनात्मक राजनीतिक विषयसंग जोडेर बुझे राम्रो । हाल सिंगो समुदाय खुल्ला बजारको प्रतिनिधित्व गर्न थालेको कारण बजारको शक्तिले एक उपभोक्ताको रुपमा व्यवहार गर्न सिकाए । त्यसैले यी गतिविधीहरुलाई बजारले कसरी कुनै मालको रुपमा प्रशोधन गर्न पुगे ? विचारणीय सवाल मान्नुपर्छ । यहि परिप्रेक्ष्यमा अभियान, संघर्ष र विद्रोहको त्रिआङ्गी मार्ग सवालको हल दिनेछ ।

बहुलसाँस्कृतिकता तथा विविधता नेपालको यथार्थ हो । यसलाई चुनौतीको रुपमा बुझे पनि हुन्छ । तर हाम्रो देशको यथार्थतालाई विर्सेर जवरजस्ती राज्यको नीति पुरानै तरिकाले लाद्ने काम अब मान्य छैन भनेर विभिन्न आन्दोलनहरुले पुष्टी गरीसके । लोकतान्त्रिक व्यवस्थामा प्रतिस्पर्धा स्वभाविक ठहर्छ तर निर्वाचनलाई लोकतन्त्रको एक मात्र आधार भने त्यो औपचारिकता पुरा गर्नका लागि हुने होला । लोकतन्त्रसंग ज्ञान समेत जोडेर आएकोले त्यसले आत्मसम्मान सहितको बराबरीको अधिकार सुरक्षित गर्न सक्नैपर्छ । नेपालको एकिकरणकर्ता यस अर्थमा यहाँका वहुलसाँस्कृतिकतामा बाँचेका जनताहरु हुन् न कि कुनै अतिक्रमणकारी नायक ।

                               

प्रतिक्रिया