भ्रम


  • रमेश श्रेष्ठ

यो संसार भ्रम हो
र म त्यही भ्रममा टेकेर
भ्रमको खेती गरिरहेछु
`भ्रम´ सुन्दा तुच्छ तर अतिप्रिय
नेताका वाणी पिच्छे भ्रम
जनताका आसा सबै भ्रम
कार्यकर्ता, प्रचारकर्ता
सबै भ्रमका एकसेएक पारखी हुन्
सत्यता भित्रको यथार्थ गौण हो
मज्जा त त्यसमा हुन्छ
जो भ्रम भित्रको भ्रममा
लुकेको तितो यथार्थमा
त्यसैले त यो जिन्दगीनै भ्रम हो।

यहाँ कोही विद्वान छैन
जो विद्वत्त माथिको भ्रम चिर्न सक्दैन
ती विद्वान भन्नेहरु सब भ्रमका
उम्दा पात्र हुन्
जो सत्यता भित्रको भ्रम फैलाइरहेछ।

यो माया प्रेम आशक्ती
सब भ्रम र मूर्ख बनाउने जुक्ती हो
त्यो घृणा ,तृष्णा तिरस्कार
तिनै भ्रम भित्रको निच यथार्थ हो
त्यो धन दौलत ईमान ऐश्वर्य
उच-निच त्यो चन्द्र सुर्य
यी खसोखास भ्रम हुन्
नत्र यत्ती त भनिदेउ कसैले
कुन चाहिँ जेफ बेजोस
मरेर सुनको सिंहासनमा आसिन छ?
कुन अग्नि मिलेर सुर्य बन्छ
कुन सितलताले चन्द्रमा,
के छ बस्तु अकाट्य यहाँ
कुन बिष्टा फेरिन्छ अन्नमा।

यो जिन्दगी भ्रम हो
यहाँ प्रेम हुन्न
जे जति नाटक हुन्छन् ती सब भ्रम हुन्
नत्र त फुल देखाएर
कुन अलौकिक प्रेमको नाटक गर्छ मान्छे?
ती प्रेमका साधगी कृष्णहरुलाई सोध्नुछ
तिमिले अहिले सम्म कति भ्रम फैलायौ?
कति मूर्ख भ्रमित भए अनि कति प्रेमी उल्लु,
यदि संसारमा प्रेम हुन्थ्यो भने
किन पत्थरको सेखिले अग्नि जन्मन्थ्यो
यो प्रेम रुपि जिन्दगी भ्रमको भ्रुणबाट जन्मन्छ
र भ्रममै अन्त्य हुन्छ
त्यसैले प्रेम पनि भ्रम हो।

त्यो सत्ता र शक्ति मुलतः
अजङ्गको भ्रमको दोकान हो
त्यसले केही हुन्न र केही हुनेवाला छैन
त्यसले केही गर्दैन र केही गर्नेवाला छैन
बस् त्यसले भ्रम बाड्छ
क्षितिजको सपना देखाएर
खाल्डोमा पुर्छ।
हो त्यसैले सपना आफैमा एउटा भ्रम हो
सत्ता भ्रमको शिखर हो
र शक्ति त्यसका सिँढी हुन्
त्यसैले कोहिपनी भ्रमको सिँढी उक्लने
दुस्साहस नगर्नु,
भ्रमले कहिँ पुर्याउदैन
पुर्याउने भनेकै भ्रममा हो
किनकी यो संसार नै भ्रम हो।

कवि : रमेश श्रेष्ठ ()
चौतारा-साँगाचोकगढी -८ इर्खु ,
सिन्धुपाल्चोक

                               

प्रतिक्रिया