राजर्षी जनक विश्वविद्यालयका आन्दोलित शिक्षकहरुको समर्थनमा अभियन्ता सरोज राय


  • thebuddhaexpress

शिक्षक भर्ना विवादको कारण राजर्षी जनक विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पस विश्वविधालय क्याम्पसका शिक्षकहरु आन्दोलित भएका छन् । जनकपुरस्थित मुख्यालयमा ताला मारी शिक्षकहरु आन्दोलित भए पनि व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चासो नदेखाए पछि सामाजिक अभियन्ता सरोज रायलाई पहलको लागि आग्रह गरिएको छ ।

आन्दोलनको ३४ औं दिन धर्ना स्थलमा पुगेर अभियन्ता रायले धर्नामा बसेका शिक्षकहरु संग वस्तुस्थिति बुझेका थिए । शिक्षकहरुले उठाएका मांग जायज रहेको भन्दै अभियन्ता राय समर्थन जनाउदै सरोकारवाला पक्षलाई चांडो समस्या समाधान गर्नको लागि आग्रह गरेका हुन् । धर्ना स्थलबाट सामाजिक संजालमा गरिएको लाइभ विडियोमा बोल्दै अभियन्ता रायले शिक्षकको मांगको साथ आन्दोलित विधार्थीहरुले अफलाइन कक्षा सुचारु गर्न उठाएको मांग समेतलाई लाई सम्बोधन गर्न विश्वविधालय व्यवस्थापन पक्षलाई आग्रह गरेका छन् ।

आन्दोलित शिक्षक र विधार्थीको मागलाई वेवास्ता गरिए आफ्नो संगठन तराई मधेश राष्ट्रिय परिषद (टिएमएनसी) ले यस आन्दोलनलाई काठमाडौँ सम्म लैजाने अभियन्ता रायले चेतावनी समेत दिए ।

कोरोनाको कारण अनलाइन बाट कक्षा सुचारु रहेको थियो । विधार्थीहरु लाई ल्यापटप, सिम कार्ड र इन्टरनेट सेवा सहयोगको लागि विश्वविधालयले चालिस लाख रुपैया अनुदान पाएका थिए तर आजसम्म कुनै पनि विधार्थी केहि नपाएको कारण अभियन्ता रायले यस रकम समेतको खोजबिन हुनुपर्ने माग राखेका हुन् ।

यसै क्रममा हेल्प मधेशी नेपालको अध्यक्ष राम उदगार यादवले शिक्षक आन्दोलनलाई एक्यबद्धता जनाउदै आवश्यक परे आफ्नो संगठन पनि आन्दोलनलाई बल दिन सडकमा उत्रिन सक्ने बताए ।

शिक्षकको आन्दोलन किन र के-का लागि?

राजश्री जनक विश्वविधालय २०७४ सालमा स्थापना हुँदा त्रि.वि. अन्तर्गत सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, सिरहाको सुर्यनारायण सत्यनारायण मरवैता क्याम्पस र धनुषाको जनकपुरधाममा रहेको रा.रा.ब. क्याम्पस यस विश्वविधालय अन्तर्गत रहने व्यवस्था गरिएको थियो । उपरोक्त त्रि.वि. का आंगिक क्याम्पसहरु रा.ज.वि. मा आउन नमानेकाले केहि उप-प्राध्यापक तथा सह-प्राध्यापकहरु मात्र समायोजनमा आए र उनीहरु मध्ये अधिकाँश रा.ज.वि. मा पदाधिकारी भएका थिए । उपकुलपति प्राध्यापक भरत झा र रजिष्टार महेन्द्र प्रसाद यादवले २०७५ सालमा B.M.L.T. र B.Sc. CSIT मा विधार्थी भर्ना पुर्व नै पांच जना शिक्षक नियुक्त गरेका थिए । त्यस पश्चात B.M.L.T., B.Sc. CSIT, BCA, MBA, BALLB, BPH मा अध्यापन सुचारु गर्न सम्बन्धित विषयका शिक्षकहरु खोजि गरिरहँदा, विभिन्न निजी कलेजहरुमा अध्यापन गराउने शिक्षकहरुलाई पछि दरबन्दी आउँदा करार गर्ने मौखिक आश्वासन दिई पेपर (कोर्ष) करारमा क्याम्पस खुलेको प्रत्येक दिन उपस्थित हुनुपर्ने तोकी ६ महिनाको सेमेष्टरको लागि नियुक्त गर्दै आएका रहेछन ।

रा.ज.वि.को २०७६ साल अशोजमा भएको तेस्रो सभाबाट २६ जना उप-प्राध्यापकहरुका लागि दरबन्दी शृजना गरिएको थियो र उक्त वापत तलब भत्ताका रकम समेत आइरहेको भएतापनि हालसम्म यतास्थितिमै रहेका छन् । कोर्ष कन्ट्रैक्ट शिक्षकहरुले उक्त दरबन्दीमा करार गरिदिन माग राख्दा उपकुलपति र रजिष्टारले पहिले ज्यालादारीमा रहेका कर्मचारी करार गर्ने तथा समायोजनमा आएका उप-प्राध्यापक र सह-प्राध्यापकहरुलाई प्रमोशन पछि मात्र तपाईहरुको प्रकृया शुरु हुने आश्वस्त गरेका थिए ।

वारम्बार आश्वासन दिदै आएका उपकुलपति र रजिष्टारले मुख फेरे, नियमले करार गर्न नमिल्ने र खुल्ला विज्ञापन द्वारा पदपूर्ति मात्र सम्भव भएकोले परिक्षाको तयारीमा लाग्नु भनि शिक्षकहरुलाई केन्द्रिय कार्यालयबाट फर्काएको थिए । तर दुई दिन पछि नै २०७७ साल बैशाख १३ गते उपकुलपतिको विशेष टिप्पणी आदेशबाट नजिकका ४ जना उप-प्राध्यापक र १ जना प्रशिक्षकलाई करारमा नियुक्त गर्न क्याम्पस प्रमुखलाई आदेश आएका जानकारी पाएपछि रिसाएका कोर्ष कन्ट्रैक्ट शिक्षकहरुले विरोध गरेपछि उक्त करार विज्ञापनलाई तत्काल स्थगित गरिएको थियो ।

आन्दोलनमा उत्रेका शिक्षकहरुको एक सुत्रिय माँग मात्र रहेको छ जस अन्तर्गत दरबन्दी आएका २६ वटै सिटमा उनीहरुको करार हुनुपर्ने माँग राखेका छन् । माँग पुरा गराउन संघर्षको निम्ति २०७८ श्रावन ८ गते कोर्ष कन्ट्रैक्ट शिक्षकहरुले दिलिप कुमार यादवको अध्यक्ष्तामा १३ सदसीय ‘रा.ज.वि. पेपर कोर्ष कन्ट्रैक्ट शिक्षक संघ’ स्थापना गरि आन्दोलन गर्दै आएका छन् । पहिलो चरणको आन्दोलनमा २०७८ श्रावण २४ गते देखि भाद्र ७ गते सम्म विधार्थीले देखिने गरि कालोपट्टी बाँधी अनलाइन कक्षा लिएका थिए । सम्बन्धित निकायले कुनै चासो नदेखाए पछि २०७८ भाद्र ८ गते देखि भाद्र २२ गतेसम्म जनकपुरधाम भ्रमरपुरा चौकमा रहेको उपकुलपति तथा रजिष्टारको कार्यालयमा धर्नाको कार्यक्रम गरेका थिए । धर्ना प्रारम्भ भएको दिन देखि नै उपकुलपति र रजिष्टार सम्पर्कविहीन भएका छन् । धर्नामा बस्दा पनि व्यवस्थापकले कुनै चासो नदेखाएको र केहि पदाधिकारी उक्त कार्यालयबाट कार्य सम्पादन गरि उपकुलपति र रजिष्टारलाई सहयोग गर्दै आएकोले भनि आन्दोलित शिक्षकहरुले भाद्र २३ गतेदेखि अनिश्चित कालका लागि तालाबन्दी गरेका छन्, साथै विहान ११ बजे देखि २ बजेसम्म कार्यालयमै दिन्हु धर्ना दिदै आएका छन् ।

कोर्ष कन्ट्रैक्ट शिक्षक संघको अध्यक्ष दिलिप यादवले भने “हाम्रो मिहिनेत र पसिनाको सम्मान गर्दै आन्तरिक प्रक्रीयाद्वारा हामी शिक्षकहरुलाई करार गरियोस माँग राखेका छौँ ।”

विधार्थीहरु पनि आन्दोलित
रा.ज.वि. पेपर कोर्ष कनट्रैक्ट शिक्षकहरु आन्दोलित भएपछि पठनपाठनमा ठुलो असर परेका छन् । अन्य विश्वविधालय र क्याम्पसहरुमा कक्षा अफलाइन सुचारुले यस विश्वविधालय क्याम्पसका विधार्थीहरुले अनलाइन कक्षा सुचारुको मांग राख्दै आन्दोलानमा उत्रेका छन् । अफलाइन कक्षा संचालनमा विधार्थीहरु लाई ल्यापटप, सिम कार्ड र इन्टरनेट सेवा सहयोगको लागि विश्वविधालयले चालिस लाख रुपैया अनुदान पाएका थिए तर आजसम्म कुनै पनि विधार्थी केहि नपाएको गुनासो विधार्थीहरुको रहेका छन् ।

आन्दोलित शिक्षकहरुले आफ्नो माँग पुरा गराउन पहल गरिदिनको लागि अभियन्ता सरोज रायलाई आग्रहपत्र समेत बुझाएका छन् । समाज र देशलाई आइना देखाउने शिक्षकहरु नै आफ्नो जायज मांगको लागि आन्दोलन गर्नुपर्ने र विधार्थीहरुको भविष्यमा असर पर्नेगरी पठनपाठन ठप्प हुनु धेरै दुखदाई रहेकोले सम्बन्धित पक्षले यताशीध्र माँग सम्बोधन गर्न सामाजिक अभियन्ता सरोज रायले बताए ।

                               

प्रतिक्रिया