टिएमएनसीले मनाए कालोदिन, काठमाडौँमा जलाए संविधान


  • thebuddhaexpress

संविधान जारी भएको छठौँ साल पनि तराई मधेश राष्ट्रिय परिषद (TMNC) अशोज ३ गते लाई कालो दिनको रुपमा मानी विरोध प्रदर्शन गरेका छन् । यसपाली वृहत नागरिक आन्दोलन, थरुहट थारुवान राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान लगायत संविधानसंग असन्तुष्ट रहेका अन्य घटकसंग मिलि संयुक्त रुपमा अशोज ३ मा कालो दिन मनाएका छन् ।

माइतिघर मण्डलाबाट संसद भवन जाँदै गरेको मार्च-पास्ट लाई नयाँ वानेश्वर मै प्रहरीले रोकेपछि प्रदर्शनकारी त्यंही कोणसभा गरे । कोणसभामा टिएमएनसीको संयोजक विकास ठाकुर, वृहत नागरिक आन्दोलनको अगुवा नारायण बाग्लेको साथ सुकुम्बासी, थारु, दलित, आदिवासी जनजाति, नेवार, महिला लगायतका प्रतिनिधि वक्ताहरुले वर्तमान संविधान विभेदकारी, नश्लिय, अधुरो र अपूर्ण रहेको स्पष्ट गर्दै यसलाई पुनर्लेखन हुनुपर्ने अडान राखेका थिए ।

नारायण बाग्ले आफ्नो मन्तव्य राखी रहेकै बेला प्रहरीको कडा र चौतर्फी घेराबन्दी बिच टिएमएनसीका सदस्यहरुले संविधान जलाएका हुन् ।

सम्मान र अधिकारको सुनिश्चितता माग्दै भएको यो संविधान निर्माणको प्रकृया देखि, संविधान जारी अघि र पश्चातसम्म निरन्तर चलेको आन्दोलनमा दुई सय भन्दा बढी वीरहरु शहादत भए । यो जारी भएकै (असोज ३ गते) दिन बिरगंजमा निस्केको जुलुसमा सहभागी शत्रुघन पटेल सुरक्षाकर्मीले चलाएको गोली लागेर शहिद भए । एकातिर संविधान जारि भएको उपलक्ष्यमा देशको केहि भू-भागमा दीपावली मनाई रहेको अवस्थामा मधेसले आँगनमा लास राखेर शोक मनाउदै थियो ।

टिएमएनसीको अनुसार:

यो संविधान स्वरूपमा अन्तरविरोधी र सारमा विभेदकारी छ । यसले मधेशी र अन्य सीमान्तकृत समुदायहरुको राष्ट्रिय उत्पीडनबाट मुक्तिको एतिहासिक सपनालाई हत्या गरेको छ । यो संविधान निर्माणको प्रकृया र प्रकृति दुवै दोषपूर्ण रहेको छ । यसले स्वाधीनता, समानता र सामाजिक न्यायको लागि भएको मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरुको सहादतको अपमान र लोकतान्त्रिक आन्दोलनहरुको भावनालाई तिरस्कार गरेको छ । यो संविधान मधेशी तथा नेपालका अन्य उत्पीडित समुदाय माथिको नियन्त्रणलाई अच्छुन राख्ने संकृण नश्लीय मनोकांक्षाबाट ग्रसित देखिन्छ । यस अर्थमा यो संविधान अन्याय र असमानतालाई संस्थागत गरका छन ।

सिएन थारुको अनुसार यो संविधानले प्रस्तावना मै स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गरेको भनिए पनि वहिष्करणमा परेका समूहको राजनीतिक कन्सटीच्युएन्सी वेगर सो अधिकार प्रत्याभूत गर्ने कुनै उपाय देखिन्न ।

TMNC ले राज्य र राजनैतिक दलहरुलाई यस्तो चुनौति पनि दिए:

यो संविधानको निर्माण आफैमा नेपाली राजनीतिमा प्रतिगमन हो । यसको लागि तिन प्रमुख दल समान रुपमा दोषी छन । यसको विरुद्धमा मधेशवादी दल निरन्तर संघर्ष गर्दै आएको थियो । यस विचमा संविधान संसोधनको विभिन्न नकली प्रयासहरु भए पनि यसले मुल समस्यालाई सम्वोधन गर्न सकेन । पच्छिलो कालमा छद्म युद्धको रुप अख्तियार गरिसकेको नेपाली राजनीतिमा मधेशवादी दलहरुको पराजय र चुनाव रुपी अनुष्ठानमा समर्पण पछि मधेसीहरुको आन्दोलनको विसर्जन भएको ठान्ने ठूला राजनैतिक दलहरु लगायत जो कोहीका लागि त्यो ठूलो भूल हो । अहिले पनि मधेशी राष्ट्रियतामा आन्दोलनको बिज व्यापक रुपमा विधमान रहेको र मधेशमा प्रतिरोधको राजनीति जीवित रहेको कुरा अवगत गराउन चाहन्छौ ।

संयोजक विकास ठाकुर अनुसार असोज ३ मधेसीहरुको लागि कालो दिनको रुपमा रहिरहने छ जबसम्म मधेसीहरुको मुद्दाहरु सम्बोधन हुनेगरी यस संविधानको तात्विक पुनर्लेखन गरिदैन । जबसम्म पुनर्लेखन गरिदैन, तबसम्म यो संविधानको वैधतामाथि प्रश्न चिन्ह रहीरहने छ । मधेसीहरुको भावनालाई समेट्ने गरी पुनर्लेखन गरेमा मात्र मधेसीहरुको यो संविधानमा आफ्ना स्वामित्व हुन्छ र अनि मात्र हामी संविधान दिवस मनाउने अवस्थामा हुनेछौ उनले बताए ।

यस्तै TMNC को संगठन विभाग प्रमुख सामाजिक अभियन्ता सरोज रायले मधेशी लगायत देशको हरेक नागरिक आत्मसम्मान, स्वाभिमान, पहिचान सहित बराबरीको अधिकारले बाँच्नु पर्ने जन्मसिद्ध अधिकार रहेकोले सबैको माग समेट्ने गरि संविधान पुनर्लेख्नु हुनुपर्ने बुद्धएक्सप्रेस लाई बताए ।

तराई मधेश राष्ट्रिय परिषद (TMNC) एक युवाहरुको स्वयंसेवी मिसनरी संगठन हो, जसले तराई-मधेसमा विद्यमान राजनैतिक र सामाजिक समस्याहरु समाधान हेतु बिभिन्न किसिमका अभियानहरु संचालन गर्दै आईरहेको छ । यसको ठहरमा मधेसको मूल राजनैतिक सवाल आन्तरिक उपनिवेशवाद र राष्ट्रिय उत्पीडनबाट मुक्तिको सवाल हो । तसर्थ, यसको मूल उदेश्य विभिन्न अभियानहरुद्वारा देशभित्र स्वायत्तता, समानता र आत्मसम्मान स्थापित गर्न सक्षम युवा नेतृत्वको विकास गर्दै सुदृठ राष्ट्रिय समाजको निर्माण गर्नु रहेको छ ।

                               

प्रतिक्रिया