#अवैध एग्रोभेटको

अवैध एग्रोभेटको बदमासि : पोखरीमा गलत औषधि दिन लगाउँदा लाखौंको माछा मरे, सञ्चालक टाप


  • विनय यादव

विनय यादव ,सिरहा । सिरहामा एक एग्रोभेटको बद्मासीले पोखरीमा पालिएको लाखौंको माछा मरेको छ ।

मिर्चैया-५ स्थित थाना चोकमा सञ्चालित स्वस्तिका इन्टरप्राइजेजको बद्मासीले कल्याणपुर नगरपालिका-१ बनिनियाँस्थित झण्डै डेढ बिघाको पोखरीको माछा मरेको हो ।

कल्याणपुर नगरपालिकाको स्वामित्वमा रहेकोे १ बिघा १५ कठ्ठा १५ धुर क्षेत्रफलको उक्त पोखरी विष्णुपुर गाउँपालिका-२ का अमर प्रसाद यादवले दुई महिनाअघि मात्रै ८ लाखमा ३ वर्षका लागि ठेक्कामा लिएका थिए । लामो समयदेखि बेवारिसे जस्तै रहेकोे पोखरी माछा पाल्नका लागि ठेक्कामा लिएपछि अमरले पोखरी सफाई गरे ।

त्यसपछि विभिन्न प्रजातीका लाखौंको माछा हाले । तर, पोखरीमा पुरानो पानी र फोहोर पनि अत्यधिक भएका कारण सफाई गरिएपनि हरेक दिन १०-१२ वटा माछा मर्ने गरेका थिए ।

त्यसपछि उनले अनुभवीहरुसँग सल्लाह गरे । उनीहरूले फिस चुना पोखरीमा हाल्न अमरलाई सुझाए । उनी फिस चुना खोज्दै गत १८ गते मिर्चैया आइपुगे । मिर्चैयास्थित स्वस्तिका इन्टरप्राइजेजमा फिस चुना खोज्दा पसलेले फिस चुना राम्रो नहुने भन्दै त्यसको सट्टा आफूसँग अर्को औषधि रहेको र यसले राम्रो काम गर्ने अमरलाई बताए ।

अमर पनि पसलेले भनेको सही होला सोचेर औषधि लिन राजी भए । उनले अमरलाई डेढ बिघा पोखराका लागि भनेर १५ पोका सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सीलाइट (अक्सिजन) नामक दुई वटा औषधि दिए ।

किनेर लगेको औषधि पसलेले भने अनुसार अमरले पोखरामा हाले । तर, माछा मर्ने समस्या समाधानका लागि भनेर दिइएको सो औषधि दिउँसो पोखरीमा हालेको केहि बेरपछि माछा अकस्मात छटपटाउन थाले, र माछा मर्ने क्रम पनि सुरु भयो ।

साँझसम्म आधी जति माछा मरिसके । १९ गते बिहान पोखरीका सबै माछा मरेर पोखरी नै सखाप भयो । लगत्तै उनी फेरि मिर्चैया आए, पसले भेटेनन्, उनलाई फोन गर्दा शनिबार आउन समय दिए ।

शनिबार भेटेर पसलेसँग गुनासो गर्दा पसलेले आफ्नो औषधिले माछा नै नमरेको भन्दै उल्टै झगडा गर्न खोजेको अमरले दुखेसो पोखेका छन् । पसलेले गलत औषधि दिँदा पानी विषाक्त बनेर माछा मरेको अमरको आरोप छ । ‘डाक्टर होला सोचेर म विश्वास गरेँ,’ उनले सुनाए, ‘तर, आज म घर न घाटको भएँ, ठूलो क्षति भयो ।’

पसलेले झगडा गर्न खोजेपछि उनी मिर्चैया प्रहरीमा आएर अनुसन्धान र क्षतिपूर्तिका लागि निवेदन गरेका छन् । पीडित अमर प्रहरीमा गएको थाहा पाएलगत्तै स्वस्तिका इन्टरप्राइजेजका सञ्चालक पसलको बोर्डसमेत हटाई बन्द गरेर फरार भएका छन् ।

मिर्चैया थाना चोक भएर बजार जाने बाटोमा सञ्चालित उक्त औषधि पसल अवैध रुपमा सञ्चालन भइरहेको देखिएको छ । पसलको अगाडि झुन्ड्याइएको बोर्डमा दर्ता र पान नम्बर केहि पनि देखिएन ।

पसलका सञ्चालक जय साहसँग यस सम्बन्धमा कुरा गर्दा उनले आफूसँग सबै प्रमाण रहेको दावी गरे । तर, दर्ता नम्बर माग्दा उनले फोन नै काटिदिए । आफूले दिएको औषधिका कारण माछा नमरेको दावी पनि उनको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले घटनाको सबै जानकारी आफूले पीडितसँग लिएको र आवश्यक थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पोखरी ठेक्कामा लिई ऋण लिएर माछापालन गरेको अमरले बताए । पोखरीमा हालसम्म साढे ७ लाख जति लगानी लागिसकेको उनको भनाइ छ ।

ठेक्का लिँदा सुरुमै ४० हजार धरौटी तिरेको, पहिलो किस्तामा नगरपालिकालाई २ लाख ६६ हजार बुझाएको, त्यसपछि १ लाख खर्च गरेर पोखरी सफाई गराएको र झण्डै साढे तीन लाखको माछा हालेको सुनाए । क्षतिपूर्ति दिलाई दिन सम्बन्धित निकायसँग उनले अपिलसमेत गरेका छन् ।

                               

प्रतिक्रिया