#सेतो सारी

महिलाको सेतो सारी (अ)सभ्य समाज लाइ किन भारी ?


  • आभाष गुरु

रंग कयौ प्रकारको हुन्छ र सबै रंगहरुको आआफ्नो सांकेतिक महत्व हुन्छ | रंगमा हाम्रो व्यक्तित्व लुकेको हुन्छ | रंगको पनि मुकभाषा हुन्छ |कुनै रंगले उतेजित गर्छ भने कुनैले क्रोधको भावना जागृत गर्छ , कुनैले हाम्रो भावावेगलाइ शान्त तुल्याउछ |रंग जीवनको महत्वपूर्ण पक्ष हो|

विभिन रंगहरुको आआफ्नो किसिमको मौलिकता र प्रतिक हुन्छ | रातो रंग लाइ क्रान्ति ,उतेजना ,उर्जा र जीवन्तताको प्रतिक मानिन्छ | कालो रंगले विरोध र आधित्य दर्शाउदछ | हरियो रंगले प्रकृति ,विकाश र तानाबमुक्तिको संकेत गर्छ भने सेतो रंगलाइ शान्ती र शुद्धताको प्रतिक मानिन्छ|

जब सेतो रंग शुद्धताको प्रतिक हो भने हिन्दु परम्परा अन्तर्गत पतिको देहान्त पछी श्रीमतीले लागाउने सेतो सारी यो (अ)सभ्य समाजमा अशुद्ध कसरी भयो? र सेतो सारी लगाउने ति महिलाहरु(आमाहरु) कसरि कुलक्ष्नि र अभागी भइन ? कुनै आमाले नियतिबश सेतो सारी लगाइएकै कारणले उनको चरित्र ,योग्यता ,छामता र नैतिकता माथि आफ्नो संकीर्ण सोचको कारण अछ्म्य प्रश्न उठाउछन भने के त्यसले सिंगो (अ)सभ्य समाजको औकात प्रतिविम्बित गर्दैनन् र ?

हिन्दु ग्रन्थ माहाभारतमा हस्तिनापुरकि माहरानी “कुन्ती” ले सेतो सारी लगाएर आफ्ना पाच छोराहरुलाइ सर्बश्रेष्ठ योद्धा बनाएको र सेतो सारी लगाएरै चन्द्रगुप्त कि माता “मोरा” ले आफ्ना सन्तान लाइ संसारकै शक्तीशालि सम्राट बनाएको इतिहास छ |साधारण सेतो सारी ,शृंगार विहिन सरिर अनि कटनको झोला र साधारण चपल लगाएर भारत पस्चिम बङ्गालकि नेत्री ममता बेनर्जीले साढे तिन दशकको लामो वामसत्ता लाइ जरै देखि उखालेर सेतो सारीको सहास र सामर्थ्यको परिचय दिइन |

त्यस्तै च्यातेको पुरानो सेतो सारी ,चपल विहिन पैताला र हाथमा एउटा चाँदीको बाला लगाएर सिरहा जिल्लाकी तेतरी देवी आफ्ना छौ ओटा सन्तानहरु मध्ये एक छोरालाइ श्रवन कुमार जस्तै सपुत र प्रबुद्ध बनाए ,२ छोरी लाइ करीब सात वर्ग किलोमिटर क्षेत्रफल भएको गाउमै पहिलो पल्ट एस.एल.सि पास गराएर बिवाह गरे ,एक छोरी लाइ तत्कालिन गा.वि.श मै पहिलो पटक नरसिंग पढाएर गार्हो भनिएका सरकारी सेवामा प्रवेश गराए ,अर्की एक छोरी लाइ नगरपालिकामै पहिलो पल्ट ओप्थाल्मोलोजी पढाएर एउटा आँखा संस्थानको प्रमुख बनाए भने एक छोरा लाइ नगरमै पहिलो पटक पाँच बर्षे कानुन पढ्न पठाए र एस.एल.सि मात्रै पास गरेर आएकि बुहारी लाई स्नातकोत्तर सम्म पढाएर सेतो सारीको कौसलता र दुरदर्शीताको प्रमाण देखाइन |सेतो सारी लगाएर नै नेत्री विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति सम्म बनेर सेतो सारीको क्षमता लाइ बिश्व सामू प्रस्पुटन गरिन् |

सेतो सारीको कथा बंगालकी मुख्यमन्त्रि ममता बेनर्जीको होस अथवा सिरहा की निम्न वर्गकि महिला तेतरी देवीकै होश ,कुनै न कुनै रुपमा सबैको सारीमा प्रश्न उठेकै होला भनेर हामी अहिले बनीरहेको सिनेमाहरुमा एकल महिला लाइ प्राय बोक्सी जस्ता नकारात्मक भूमिका राखी उनलाई तथ्नाम गालि गरेको रिलको दृश्य देखेर हामीले उनीहरुको रीयल लाइफमा भोगेको पिडाहरु लाइ सजिलै आँकलन गर्न सक्छौ | ति गालि ,गलत व्यब्हार र कुतर्क गर्नेहरु समाजका अबुझ ,अचेत र मुर्खहरु थिए होलान उनीहरुको चेतना स्तर प्रति दाया गर्नु बाहेक अरु केहि पनि गर्न/भन् सकिदैन |

तर एक जना प्रतिनिधि सदस्य भइसकेकि र नयाँ पुस्ताको प्रेरणाको श्रोत भनिएकि नेतृ रामकुमारी झाक्री मगरले रास्ट्रपति बिद्यादेवी भणडारि पर्ती ब्यंगवान गर्दै “सेतो सारीको दुरपयोग भएको ’’ भन्नु र केहि बर्ष पहिले रास्ट्रपति जानकी मन्दिरमा गएर पुजा गर्दा , “एउटा विधवाले पुजा गरी मन्दिर लाइ अशुद्ध बनाएको’’ भन्दै त्यहाँ केहि सचेत भनिएका युवाहरुले गंगाजल छर्केर मन्दिर लाइ चोख्याइउने काम अत्यन्त लजास्पद ,घृणित र गम्भीर प्रकृतिको आपराध हो |आफ्नो क्षनिक स्वार्थ र सस्तो लोकप्रियता लाइ बढावा दिनको निम्ति यस्तो निच अभिब्यक्ति दिनेहरु (अ)सभ्य समाजका कलंक हुन् |यस्ता व्यक्ति र प्रवृति लाइ निरुत्शाहित गर्नु सचेत नागरिकहरुको कर्तब्य र धर्म हो | यस घटनाले रास्ट्रपतिको मात्रै होइन सबै एकल महिलाहरु को इज्जतको मानमर्दन गरेको छ ,बास्तवमा सिंगो सम्माजकै इज्जतको धजिया उड़ाएको छ |

प्रगतिशिल युवासमाजले यस्ता संकीर्ण घृणित सोच लाइ जरै देखि उखालेर फाल्ने समय आएको छैन र ? किन कतै बाट बिरोधका स्वरहरु सुनिएन ? किन कुनै महिला अधिकारवादीहरुले बोलेनन् ? नागरिक समाजको मौनताको रहस्य के ? कि यो (अ)सभ्य समाजले यस्ता घृणित कार्य पचाईसकेको हो ?

(अ)सभ्य समाज लाइ साँचो रुपमा सभ्य बनाउनको निम्ति सामाजिक अगुवाहरुले एक पल्ट गम्भीर चिन्तन गरि यस लाइ बहषको बिषय बनाउनु अत्यन्त जरुरी रहेको महसुस् गर्दैछु |

लेखक कानुन विद्यार्थी हुन् |

                               

प्रतिक्रिया