आज माघे संक्रान्ति पर्व, विभिन्न जात जाति र समुदायले आआफ्नो परम्परा अनुसार माघी मनाउँदै


  • thebuddhaexpress

माघे सङ्क्रान्ति पर्व आज देशका विभिन्न नदी तथा संगम त्रिवेणीहरुमा मकर स्नान गर्नुका साथै पूजाआजा गरी मनाइँदै छ । यस अवसरमा मुलुकका विभिन्न तीर्थस्थलमा मेला पनि लागेको छ । थारु, मगर तथा छन्त्याल समुदायले यस दिनलाई माघी पर्वको रुपमा मनाउँदै छन् ।

ज्योतिषीय गणना अनुसार आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा सर्ने भएकाले यस संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे सङ्क्रान्तिदेखि ६ महिनासम्म सूर्य उत्तरायण हुने हुँदा आजदेखि उत्तरी गोलार्धमा रात छोटा र दिन लामा हुनथाल्छन् । यसलाई वर्षा यामको आरम्भ पनि मानिन्छ । सूर्य उत्तरायण भएको अवधि यज्ञयज्ञादि तथा दानपुण्यका लागि उत्तम मानिन्छ । माघे संङक्रान्तिको अवसरमा आज पूर्वको कन्काईधाम, वराहक्षेत्र, देवघाट, रुरु क्षेत्र, गलेश्वरधाममा मकर स्नान गर्ने र मेला भर्नेको भीड लागेको छ । यसै गरी ललितपुरको शंखमूल,कास्कीको ढुँगेसाँघु तथा सिकलेशमा पनि मकर स्नान गर्नेको मेला लागेको छ । आजै भक्तपुरमा तीलमाधव उत्पत्ति र काठमाडौको पशुपति आर्यघाटमा माधवनारायण मेला लागेको छ ।

माघे संक्रान्तिका अवसरमा घिउ,तिल,चाकु, खिचडी, मासका फुरौला, उखु,तरुल लगाएतका कन्दमूल खाई चिसोबाट बच्न घाममा बसेर जीउमा तोरीको तेल लगाउने चलन छ । मुख्य गरी तराई क्षेत्रमा बसोवास गर्ने थारु समुदायमा माघे संक्रान्तिलाई माघी पर्वको रुपमा मनाउने चलन छ । माघी थारु समुदायको प्रमुख पर्व भएकाले बडो हर्ष उल्लासपूर्वक मनाउने गरिन्छ । यस समुदायमा माघीका अवसरमा प्रकृति र पुर्खाको पूजाआजा गर्नुका साथै नयाँ वस्त्र लगाई नाचगान गरी परम्परागत परिकार खाएर आपसमा शुभकामना आदान गर्ने चलन छ । माघी थारु समुदायको नयाँ वर्षको थालनी भएकाले यस दिन पुरानो हरहिसाब मिलाएर नयाँ व्यवहार थाल्ने गरिन्छ । यसै दिन परम्पराअनुसार नयाँ थकाली चयन गर्ने पनि चलन छ । माघीको अवसरमा आज काठमाडौको टुँडीखेलमा विशेष मेला आयोजना गरिएको छ । मगर समुदायले पनि माघे संङ्क्रान्तिलाई महत्वपूर्ण पर्वको रुपमा मनाउँने चलन छ ।

यस अवसरमा इष्टदेव तथा पितृको पूजा गर्नुका परम्परागत परिकार खाएर मनोरञ्जन गर्ने गरिन्छ । माघे संक्रान्तिको अवसरमा राष्ट्रपति विद्या देवि भण्डारीले पनि शुभकामना सन्देश दिनुहुँदै नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत प¥याउने चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्नुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

                               

प्रतिक्रिया