किसान आन्दोलन प्रभाब: गोलबजार नगरपालिकाले किसानको बिजुलीको बिल तिरिदिने


  • thebuddhaexpress

प्रदेश २को सिरहाको गोलबजार नगरपालिकाले किसानको कृषि बिजुली बिल तिर्ने निर्णय गरेको छ । कृषिमा लागत अनुसार आम्दानी नभएको निष्कर्ष निकाल्दै उक्त नगरपालिकाले कृषिमा किसानको लागत कम गर्न कृषिका लागि जडान गरिएको मिटरको बिल नगरपालिकाले तिरिदिने निर्णय गरेको मेयर देवनाथ साहले बताए ।

माघ १ गतेदेखि सो बिल तिरिदिने नगरपालिकाको तयारी रहेको बताउँदै उनले त्यसका लागि कार्यविधिहरू बनिरहेको बताए । नगरपालिकाभित्र ५९२ कृषि मिटर रहेको छ । अझै जडान गर्ने काम भइरहेकाले मिटरको संख्या अझै बढ्ने सम्भावना रहेको उनले बताए ।

यसअघि बिजुलीको बिल नतिरेको कारण केही डीप बोरिङहरु बन्दको अवस्थामा थियो । नगरपालिकाले गत वर्ष ती डीप बोरिङहरुको बिजुलीको बक्यौता रकम भुक्तानी गरेपछि अहिले सञ्चालनमा आएको उनले बताए । उनले भने, यहाँका किसानले आकाशको भरमा खेती गर्छन् तर समयमा पानी न पर्दा किसानहरू मर्कामा परिरहेको थाह पाएर नै कृषिका लागि बिजुलीमा नगरपालिकाले पुरा सहयोग गर्न लागेको छ ।’

गोलबजार नगरपालिका कृषिमा आत्मनिर्भर जस्तै थियो, तर पछिल्लो समय सिँचाइका अभावका कारण तरकारी उत्पादनमा कमी आएको छ । गोलबजार नगरपालिकामा लाग्ने विभिन्न बजारमा अहिले बाहिरबाट पनि तरकारी आउन थालेको छ । तरकारीलगायत कृषिका अन्य बालीमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले प्रयास गरिरहेको मेयर साले बताए ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी दिलाउनुपर्ने, निःशुल्क बिजुली बिल हुनु पर्ने लगायतका ११ बुँदे माग राखेर करिव ३हप्ता देखि डा. सिके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनरत छ ।

                               

प्रतिक्रिया