‘कोरोना संक्रमण बढेमा चाँडै स्मार्ट लकडाउन’:सिसिएमसी समितिको निष्कर्ष


  • thebuddhaexpress

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकमा देउवाले संक्रमण बढ्न नदिन तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन्।

निर्देशक समिति बैठकमा देउवाले सीमा नाकाहरुमा चेकजाँच बढाउन, संक्रमितको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

बैठकमा प्रधानमन्त्री देउवाले कोरोनाको परीक्षण, उपचार र खोप व्यवस्थापनलाई तीव्रता दिन पनि निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताए।

बैठकमा सीमा नाकामा परीक्षणपछि संक्रमण पुष्टि भएका नागरिकलाई आइसोलसनको व्यवस्था गर्ने, खाने तथा बस्ने सुविधाको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको छ। पूर्ण मात्रा खोप लगाएकालाई बुष्टर डोजको व्यवस्था गर्ने विषयमा पनि बैठकमा छलफल भएको मन्त्री खतिवडाले बताए। खोप व्यवस्थापनको प्रक्रिया तत्काल अघि बढाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए।

संक्रमणदर बढेमा चाँडै अर्को बैठकबाट स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ। खतिवडाले संक्रमण बढेमा आवश्यकता अनुसार सिनेमा हल, विद्यालय तथा अन्य भीडभाड बढी हुने क्षेत्रमा स्मार्ट लकडाउन गर्नेबारे पनि छलफल भएको बताए।

                               

प्रतिक्रिया