“गुणस्तरहीन मारुती सिमेन्ट प्रयोग नगर्न”- सरकारको निर्देशन !


  • सुरज सिंह

गुणस्तरहीन मारुती समेन्ट प्रयोग नगर्न नेपाल सरकारले निर्देशन दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणको काममा प्रयोग नगर्न निर्देशन दिएको हो ।
४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट गुणस्तरहीन भएको फेला परेसँगै सरकारले मातहत निकायलाई परिपत्र जारी गरेको छ ।

विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले अनुगमन तीव्र बनाएको थियो ।

अनुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेसँगै मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न भन्नुअघि नै गुणस्तर तथा नापतौल विभागले बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन भनिसकेको छ । तर, विभागको कुरा मारुती सिमेन्टले सुनेको छैन ।

नेपाल गुणस्तर चिह्न प्राप्त उक्त कम्पनीको सिमेन्टलाई नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

विभागका अनुसार उक्त सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा उक्त कम्पनीले गुणस्तहीन सिमेन्ट उत्पादन गरी उपभोक्तालाई ठगी गरिरहेको तथ्य फेला परेको छ ।

मुख्य उत्पादन कार्यायलय सिरहाको चन्द्रोदयपुरमा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे विभागले १५ दिने स्पष्टीकरण सोधेको छ ।

विभागले चित्तबुझ्दो जवाफ नदिए उक्त कम्पनीबाट उत्पादन हुने ओपीसी सिमेन्ट सदाका लागि बन्द गरिदिने चेतावनीसमेत दिएको छ ।

मारुती सिमेन्टप्रति नागरिकस्तरबाट पनि विगतमा प्रश्न उठ्दै आएका थिए । यसपटक विभागले नै प्रयोग नगर्न आग्रह गरेको छ ।

                               

प्रतिक्रिया