गोलबजार तनावग्रस्त: युवक हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै सोमबार चर्को प्रदर्शन


  • न्युज डेस्क

सिरहा जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियामा शनिवार छुरा प्रहारबाट युवकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै सोमबार पनि स्थानीयले सडक जाम र बजार बन्द गरेका छन् । स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए पनि पूरा नभएपछि पीडितहरू बजार बन्द गराउन उत्रिएका हुन् ।

सडक जामका कारण सोमबार सयौँ सवारीसाधन सडकमा अलपत्र परेका , थिए भने हजारौँ यात्रु बिजोग भएको थियो। सबैभन्दा धेरै मार टाढा जाने लागेका यात्रुलाई परेको थियो ।​ बन्दाकर्ताहरूले बाँसका भाटा लिएर सवारी अवरुद्ध र बजार बन्द गर्दै हिँडिरहेका थिए । उनीहरूले गोलबजार क्षेत्रको राजमार्गको दर्जनौँ स्थानमा टायर बालेर, ढुङ्गामुढा सडकमा तेर्साएका थिए ।

अवरुद्ध सडक खुलाउन प्रहरीले माइकिङ गरेपनि आन्दोलनकारी प्रहरीमाथि नै जाइलागेका थिए। आन्दोलनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरे । तर आन्दोलनकारी भागेनन् । लाठी बोकेर सडकमा उत्रेका सयौं महिला र पुरुषले प्रहरीलाई नै लखेटेका हुन्।

आन्दोलनको नेतृत्व गर्ने शिवशरण सदाले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाए । उनले दुई आन्दोलनकारीलाई प्रहरीले टाउँको फुटाएको र उनीहरुको उपचारका लागि भुमिजा अस्पताल पुर्याएको बताए । अपराधीलाई पक्राउ गर्नुको साटो सुरक्षाकर्मीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरे परिणाम ठिक नहुने उनको चेतावनी रहेको ।

शनिवार बेलुका घर जाने क्रममा गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने, निकेश उपचारत छन् ।

पीडित पक्षका शिवशरण रायले दोषी पक्राउ नगरेसम्म आन्दोनल जारी रहने बताए । उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहेको र दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न दबाब मात्र दिएको बताए । प्रहरीले भने घटनामा संलग्नहरूको पहिचान भइसकेको बताएको छ । उनीहरू घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

छुरा प्रहार गरी हत्या गर्नेलाई पक्राउ गर्नुपर्ने, घाईतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आन्दोलनकारीको माग छ ।

उनीहरुले अपराधी ठूला व्यक्ति भएकाले प्रहरी आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नचोहेको आरोप लगाएका छन् ।

                               

प्रतिक्रिया