‘तमु ल्होसार’ मनाउँदै


  • thebuddhaexpress

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् ।

शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार/ल्होसार–२०७८ का अवसरमा शुभकामना दिँदै उहाँले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ ।
सरकारले तमु ल्होसार पर्वको अवसरमा पुष १५ गते बिहीबार सार्वजनिक विदा दिएको हो।

                               

प्रतिक्रिया