नागरिकताको विषयमा मधेशीले झेलेको मैथिली नाटक ‘ढकियामे नागरिकता’ माघ १ गतेदेखि प्रदर्शनमा


  • thebuddhaexpress

मधेशीले जन्मसिद्ध नागरिकता पाएका आमा बुवाका छोराछोरीले वंशजका आधारमा नागरिकताविहीन हुनु परेको कथामा आधारित मैथिली नाटक ‘ढकियामे नागरिकता’ अर्थात टोकरीमा नागरिकता आगामी माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ ।

निर्देशक सरिता शाहको लेखन÷निर्देशन रहेको मैथिली नाटक माघ १ देखि १० गतेसम्म हरेक दिन साँझ ४ः३० बजेदेखि काठमाडौंको शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ । साइलेन्ट एक्ट र सरिता फाउन्डेसनको प्रस्तुतिमा ‘ढकियामे नागरिकता’ नाटकको पोस्टरसमेत सार्वजनिक भइसकेको छ ।

मधेशी समाजले नागरिकताका कारण झेलेको समस्यालाई नजिकबाट अनुभव गरेकी साहले त्यसलाई विषयवस्तु बनाएकी छन् ।

मधेसमा टोकरीमा नागरिकता बिक्री हुन्छ रे, त्यहाँ भारतीयहरुलाई नागरिकता दिइन्छ रे भनि टिप्पणीहरू हुने गरेका छन् तर मधेसमै धेरैजना नागरिकता बिहिन छन् किन ? त्यहीँबाट मलाई यो नाटकको कन्सेप्ट आयो’ निर्देशक साहले बताउँछिन्।

‘मधेसी जनताले नागरिकता नभएका कारण जग्गाको लालपुर्जा पाएका छैनन् जागिर खान पाएका छैनन, विदेश जान पाएका छैनन, बैंकमा खाता खोल्न पाएका छैनन्, बलात्कृत महिलाले दोषीमाथि मुद्दा लगाउन पाएका छैनन्, नागरिकता नहुनेहरुको यी र यस्ता थुप्रै समस्याहरु छन् ती समस्याहरुलाई यो नाटकको माध्यमबाट देखाउन प्रयास हुनेछ’ निर्देशकले स्पष्ट पारिन् ।

नाटकमा राज्य सत्तामा रहेका व्यक्तिले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानुन कार्यान्वयन नगर्ने, अदालतको आदेश प्रमुख जिल्ला अधिकारीले नमान्नेजस्ता समस्या देखाइएका छन् । नागरिकताको सवाल सम्पूर्ण नागरिकको अधिकारको विषय रहेको कुरालाई नाटकमा जोडदाररुपमा प्रस्तुत गर्नाका साथै कतै न कतै प्रशासनको दोषलाई पनि देखाइएको छ ।

नाटक ‘ढकियामे नागरिकता’ १ घण्टा २० मिनेटको रहेकाे छ । जसमा मधेशी समाजले नागरिकताका कारण झेलिरहेको समस्यालाई देखाउने प्रयास गरिनेछ।

नाटकमा कलाकार सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पङ्गेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), सञ्जय मुडियारी (मोरङ), सुदिपजंग कार्की (मोरङ), सुदीप पटेल (धनुषा), सुस्मिता पोख्रेल (सुनसरी), आकाश झा (महोत्तरी) र प्रिन्सेज शाहको अभिनय रहेको छ ।

नाटकको रिहर्सल सकिएको र प्रदर्शनको तयारी भइरहेको निर्देशिका साहले बताइन् ।

                               

प्रतिक्रिया