निर्वाचन आयोगले शिक्षक-कर्मचारीलाई दलका पदाधिकारी र सदस्य बाट हटाउन निर्देशन !


  • सुरज सिंह

शिक्षक, कर्मचारी र प्रधानध्यापकलाई राजनीतिक दलको सदस्यता नदिन भन्दै निर्वाचन आयोग सरकारले निर्देशन दिएको छ । त्यसरी दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन मातहतका निर्वाचन कार्यालयलाई मंगलवार प्रेस जारी गर्दै निर्देशन दिएको छ ।

राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र शिक्षक निर्वाचित भएको र उम्मेदवार बनेको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गर्दै आयोगले त्यस्ता क्रियाकलाप रोक्न भनेको हो ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलहरूको महाधिवेशनमा सार्वजनिक पदमा वहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरूसमेत दलका महाधिवेशनमा भाग लिई प्रतिनिधिसमेत चयन भएको भनी सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचार प्रति आयोगको ध्यानाकर्षण भएको छ ।’

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा वहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था स्पष्ट भएको आयोगले जनाएको छ।

यसअघि नेपाली कांग्रेसको जारी जिल्ला अधिवेशनहरूमा विभिन्न जिल्लामा वहालवाला शिक्षक र कर्मचारीहरूसमेत उम्मेदवार बनी निर्वाचित बनेको समाचार सार्वजनिक भएका थिए ।

                               

प्रतिक्रिया