प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार


  • thebuddhaexpress

दाङ जिल्लाको घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८को जयराम परियार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका प्रहरीकै मोटरसाइकल चढेर फरार भएका छन् । बिहीबार दिउँसो जयराम परियार(कैदी) अस्पतालबाट भागेका हुन् ।

घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए ।

उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशंका छ । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेर अनुसन्धान भैइरहेको छ ।

फरार भएका परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

                               

प्रतिक्रिया