प्रेम,सद्भाव र आत्मीयताको पर्व ‘रक्षाबन्धन’ तथा जनैपूर्णिमा मनाइँदै


  • thebuddhaexpress

प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने प्रेम,सद्भाव र आत्मीयताको पर्वरक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व शुक्रबार मनाइँदैछ ।

तराईको जिल्लामा रक्षाबन्धनको दिन दिदीबहिनीहरुले आ-आफ्ना दाजुभाइका दाइने हातको नाडीमा दिर्घायु र सफलताको कामना गर्दै रङ्गगीचङ्गी धागो र फुल जोडिएका राखी लगाइदिने समाजिक चलन चल्दै आएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी बाँधिदिने साथै विभिन्न परिकार खुवाउने र उपहार दिने र दिदीबहिनीले आफ्नो माइतीको दीर्घायुको कामना गर्दै हर्षोल्लासका साथ रक्षाबन्धन मनाइँदै छ।

रक्षाबन्धनका लागि चहिने सामग्रीको किनमेलले यतिवेला मधेसको बजारमा रौनक छाएको छ।

तराईका दिदीबहिनीले आफ्ना दाजुभाइका लागि राखी (रक्षाबन्धन) सहित मिठाई, उपहारका सामान खरिद गर्नेको भीडभाडले तराई मधेसको मुख्य चोक, बजारमा रौनक छाएको हो।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल” भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।

स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूणिर्मासमेत भनिन्छ । पहाडको जिल्लामा जनैपूर्णिमा
हर्षोल्लासका साथ मनाइदैं छ।

                               

प्रतिक्रिया