बैशाखमै स्थानीय तहको चुनाव गर्ने सहमति जुट्यो, बिहीबार मिति तोकिने


  • thebuddhaexpress

सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । बिहीबार मिति तोकिने सहमतिको विषयमा थप गृहकार्य गर्न अर्को बैठक बस्ने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको थियो । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका हुन् ।

छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको संचारकर्मीलाई जानकारी दिए । यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । बिहीबार नै मन्त्रिपरिषदको नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।

                               

प्रतिक्रिया