मधेश प्रदेशको राजधानी तनाबग्रस्त :राष्ट्रियसभा निर्वाचनको मतदानस्थलमा के – के भयो?


  • thebuddhaexpress

राष्ट्रियसभा अन्तर्गत मधेश प्रदेशमा मतदान बुधवार सम्पन्न भएको छ । जसमा कुल मतदाता ३ सय ७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएकोमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका छन् । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका छन् ।

मतदान स्थलमा छिर्न नदिएपछि जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

मधेस प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच बुधबार झडप भएको छ । राष्ट्रियसभा निर्वाचनको मतदानस्थल नजिकै जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

मतदानस्थल महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानभित्र जनमतका कार्यकर्ता जबरजस्ती छिर्न खोज्दा प्रहरीले उनीहरूलाई रोकेपछि विवाद हुँदा झडप भएको बताइएको छ ।

भीडलाई तितरवितर पार्न प्रहरीले १८ सेल अश्रु ग्यास प्रहारसमेत प्रहार गरेको हो । अश्रु ग्यास प्रहारबाट जनमत पार्टीका आठजना कार्यकर्ता घाइते भएका छन् । झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सिके राउतका कार्यकर्ताले गरे हरिओन नगरपालिकाको गाडीमा तोडफोड

सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गरेका छन् ।

नगर प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड भएको हो ।

उनीहरू मतदान गर्न आइरहेको समयमा जनकपुरधामस्थित रामचोकमा प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा तोडफोड गरिएको थियो । सोहि क्रममा प्रमुख प्रसाईलाई चोटसमेत लागेको छ ।

प्रदेशसभा सदस्यको गाडीमा तोडफोड, सांसद यादवको हात भाँचियो

जनमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेशसभा सदस्यको गाडीमा समेत तोडफोड गरेका छन् ।

जनमत पार्टीका कार्यकर्ताले मतदान गर्न आउँदै गरेका जसपा मधेस प्रदेशका सांसद अशोक यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड गरेका हुन् ।
सांसद यादव प्रदेशसभाका अर्थ समितिका सभापति पनि हुन् । प्रदर्शनकारीले उनको हातसमेत भाँचेका छन् ।

जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले गाडीमा तोडफोड गर्नुका साथै आफ्नो हात भाँचिदिएको उनले बताए ।

जनमत पार्टीका कार्यकर्ताले चिकित्सकमाथि पनि गरे आक्रमण

जनमत पार्टीका कार्यकर्ताले चिकित्सकमाथि समेत आक्रमण गरेका छन् । बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेसु डा. सतिस साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

आक्रमणमा परी घाइते भएका मेसु साहको मुखमा ८ वटा टाँका लागेको छ । प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमाथि आक्रमण भएको बताइएको छ ।

बुधवार बिहानैदेखि जनमत पार्टीका कार्यकर्ताले ‘पहिले मल खाद देऊ अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए । जनमत पार्टीका कार्यकर्ताले बाँसको लाठी बोकेर प्रदर्शन गर्न थालेपछि नियन्त्रण गर्न कयौं अश्रु ग्यास प्रहर गरेका थिए।

तोडफोडमा संलग्न केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

                               

प्रतिक्रिया