मधेश प्रदेश: सर्लाहीमा बस दुर्घटना हुँदा १६ जना घाइते


  • thebuddhaexpress

मधेश प्रदेशको सर्लाहीमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना५ख ५०५५ नम्बरको बस हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।

बसमा यात्रारत १६ जना यात्रु घाइते भएका छन् । जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

दुर्घटनामा परी सुनसरीको भन्टाबारी नगरपालिका–९ बस्ने ४० वर्षीय अरुण महतो, महोत्तरीको बर्दिबास नगरपालिका–२ बुद्धचोक बस्ने ३६ वर्षीया बिमला सेन्चुरी, सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्ने ३७ वर्षीया सुधा खड्का र उनको ४ वर्षीय छोरा कृष खड्का, हरिपुर नगरपालिका–२ चिताइन बस्ने ६५ वर्षीय रामपुजन कुमर, उनका ६५ वर्षीया पत्नी रमनी कुमर, रौतहटको चन्द्रपुर नगरपालिका–८ बस्ने २५ वर्षीया निल कुमारी राम, सर्लाहीको लालबन्दी नगरपालिका–११ बस्ने ६० वर्षीया सिलादेवी ठाकुर, रौतहटको राजपुर नगरपालिका–२ बस्ने ४० वर्षीय राजदेव भगत र उनका ११ वर्षीय छोरा रञ्जनकुमार चौरसिया घाइते भएका छन् ।

त्यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–११ बस्ने १९ वर्षीया पुष्पा गौतम, सर्लाहीको बागमती नगरपालिका–१० बस्ने १३ वर्षीया अस्मिता आचार्य, हरिपुर नगरपालिका–५ बस्ने ४८ वर्षीया ठगनीदेवी चौधरी, सोही नगरपालिका– ८ बस्ने ७० वर्षीया असिया देवी चौधरी, रौतहटको गुजरा नगरपालिका–३ बस्ने २४ वर्षीय सयफुरलाई देवान र सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्ने ३७ वर्षीय सुदिप खड्का घाइते भएका छन् ।

घाइतेहरुको हरिवनस्थित नमुना अस्पताललगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे यकिन विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरीले जानकारी दिए ।

                               

प्रतिक्रिया