महिला दिवसमा जसपा नेतृ यादवद्वारा महिलालाई कम्बल र स्यानेटरी प्याड


  • बिनय यादव

बिनय यादव,सिरहा । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जसपा नेतृ रेणु यादवले महिलाहरुलाई कम्बल र स्यानेटरी प्याड वितरण गरेकी छिन्

जसपाका प्रदेश २ को कोषाध्यक्षसमेत रहेकी नेतृ यादवले कर्जन्हा नगरपालिका-११ स्थित आफ्नै निवास हटलेटबामा एक कार्यक्रम आयोजन गरी महिलाहरुलाई कम्बल र स्यानेटरी प्याड प्रदान गरेकी हुन् ।

कर्जन्हाका ११ वटै वडाबाट कार्यक्रममा सहभागी जम्मा १ सय ११ जना महिलाहरुलाई १-१ थान कम्बल र १-१ थान स्यानेटरी प्याड वितरण गरिएको नेतृ यादवले जानकारी दिइन् । सो क्रममा उनले महिलाहरुलाई अविर लगाएर सम्मानसमेत गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरु स्वयं सक्रिय भए मात्र महिलाहरुमाथिको दमन अन्त्य हुने बताइन् । उनले छोरा र छोरीमा कुनै पनि भेदभाव नगरी समान रुपले पालन पोषण, शिक्षा र संस्कार प्रदान गर्न सबैलाई आग्रह पनि गरिन् ।

महिलाहरुलाई सानै उमेरमा विवाह गर्नाले उनीहरु उच्च शिक्षा हाशिल गर्नबाट बञ्चित भई गृहस्थी जीवन यापन गर्न मजबुर हुनुपरेको भन्दै बालबिवाह अन्त्य गर्नुपर्नेमा उनको जोड छ । छोरी सरह बुहारीलाई पनि माया गर्नुपर्ने र छोरीलाई पनि सासुलाई सम्मान गर्ने संस्कार दिए मात्र सभ्य समाजको निर्माण हुने उनको धारणा छ ।

दाइजो प्रथालाई जरैदेखि अन्त्य गर्न पनि सबैले आ-आफ्नो ठाँउबाट इमानदारिपूर्वक कदम उठाए एक असल, सभ्य, शान्त र विसकसित समाजको परिकल्पना पूरा हुने उनले बताइन् । नेतृ यादवले महिलाहरुका लागि प्रदेश स्तरीय छात्रावास सहितको विश्वविद्यालय सिरहा जिल्लामा स्थापनका लागि आफू विशेष पहल गरिरहेको पनि जनाइन् ।

कार्यक्रममा नेतृ यादवसहित कर्जन्हाका जसपाका नगरध्यक्ष केशव प्रसाद साह, कर्जन्हा ४ का वडाध्यक्ष टेक बहादुर सिंगर, युवानेता प्रेम किशोर साह, प्रकाश श्रेष्ठ, जित नारायण यादव, शम्भु ब्यार, कलाकार लाल किशोर यादवसहित नगरका बुद्धिजिवी, समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।

                               

प्रतिक्रिया