मिथिलाञ्चलमा बरसाइत (बटसाबित्री) पर्वको रौनक सम्पन्न


  • सुरज सिंह

हिन्दु धर्मावलम्बी महिलाले आफ्नो पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिको कामना गर्दै सिरहा सहित तराईका विवाहित महिलाहरू आज बिहीबार बरसाइत (बट सावित्री) पर्व मनाएका छन्।

कोभिड-१९ (कोरोना भाईरस)को सन्त्रास र लकडाउनमै गत वर्षको तुलनामा यस वर्ष सार्वजनिक स्थलमा श्रदालु कम देखिए पनि सिरहाको विभिन्न नगरपालिका, वडा र टोल- टोलमा बर-पिपलको रुखमुनि ब्रतालु नयाँ वस्त्र पहिरी, सोह्र श्रृंगार गरेर महिलाले सौभाग्य-समृद्धिका लागि वरको रूखमा दूध र जल चढाई श्रद्धापूर्वक बरसाइत (बटसाबित्री) पर्व मनाएका छन्।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुने तथा सावित्री पनि सोही रूखमा प्रतिष्ठापित हुने मान्यताअनुसार पतिको दीर्घायुका लागि व्रत गर्ने गरिएको सिरहा जिल्ला गोलबजार नगरपालिका – ०९ की चन्दा सिहंले बताइन्।

मैथिली भाषामा वटलाई वरभनिन्छ भने पतिलाई पनि वरभन्ने गरिन्छ। बरको रुख लामो समयसम्म बाँच्ने भएकाले यसको पूजा गर्ने मान्यता रहेको छ। बट-सावित्री पूजा नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्नुपर्ने परम्परा रहेको छ ।

नवविवाहित महिलाले पहिलो वरसाइत (विहेपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा श्रीमानकै घरमा मनाउनुपर्छ।अघिल्लो दिन नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र श्रृंगार अर्थात् लाउने लुगादेखि चुरासम्मका सबै श्रृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ गोलबजार – ०९ की जानुका महतोले बताउँछन्।

सुरुमा ब्राह्मण, क्षेत्री, बैश्य र कायस्थले मात्र मनाउने पर्व अहिले सबै मैथिल समुदायका साथै तराईमा बसोबास गर्ने पहाडी, माडबारी समुदायले समेत मनाउन थालेको रहेछन्। बिहानै नुहाई रातो पहिरनमा नजिकको वर (बट) को रुखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिँदुरले रगाउँछन्। प्रसाद चढाइसकेपछि ब्रतालुले वरको रुखमा सात फेरो पहेलो र रातो धागोले बेर्छन्।

वरको रूखको पूजासँगै जेष्ठ महिलाले रुखमुनि गौरी, भगवती र विसहराको कथा भन्ने र अरुहरुले सुन्ने गर्छन्। पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने गोलबजार नगरपालिका – १० की पुजा ठाकुरले बताइन्।

ब्रतालु महिलाले बट सावित्री व्रतका दिन सिन्दूर, फल, फूल, अक्षता, बाँसको पंखा,पान सुपारी, चना र मिठाईले सावित्री, सत्यवान, नाग र यमराजको पूजा गर्छन्। नयाँ फल आँप, लिच्ची, केरा, भिजाएको चना आदी चढाएर पूजा गरी बाँसको पंखाले हम्कनाले शितलता प्राप्त हुने विश्वास रहेको छ ।

सम्पूर्ण मिथिला क्षेत्रमा १६ श्रृंगार गरेका महिलाले दूध, लावा, फलफूल चढाई वरको रुखको परिक्रमा गरी बेसारले रंगिएको काँचो सुतको धागो बाँध्ने चलन रहेको छ ।

प्रेम, श्रद्धा र समर्पणको यो पर्व पवित्र प्रेमको पौराणिक कथामा आधारित छ। सनातन काल त्रेतायुगदेखि मनाउन थालिएको बट सावित्रीको पूजा गरेमा महिलाले अखण्ड सौभाग्यवतीको आर्शिवाद प्राप्त गर्ने विश्वास रहेको गोलबजार नगरपालिका – १० की बिना नायकले बताइन् ।

यस्तो छ पौराणिक कथा:

कथाअनुसार यमराजले सत्यवानको प्राण लिएर जान लागेपछि सावित्री पनि यमराजको पछि लागिन । यमराजले मृत पतिसँगै जिवित सावित्री जान नपाउने भन्दै त्यस्को साटो बरु वरदान माग्न भने। सावित्रीले सय पुत्रको आमा हुन पाऊँ भनी बरदान मागिन्।

यमराजले सय पुत्रको आमा हुन पाउने बरदान दिएलगत्तै सावित्रीले यमराजसँग आफू पतिव्रता महिला भएकोले पति बिना सन्तान सम्भव नहुने बताएपछि सत्यवानको प्राण फिर्ता गर्न यमराज बाध्य भएको पौराणिक कथामा उल्लेख छ ।

जेठ कृष्णपक्ष अमावश्याका दिन मैथिल महिलाले पतिको दीर्घायुका लागि बरको पूजा गर्ने परेमा पतिको साथै पिपलको पूजा गर्ने चलन रहेको छ।

सावित्रीले पतिको प्राण बचाउन यमराजको पछि लागेको बेला बट वृक्षले नै सत्यवानको शवको देखरेख गरेको पौराणिक कथामा छ। पतिको प्राण फिर्ता लिएर फर्किने बेला सावित्रीले बट वृक्षप्रति आभार व्यक्त गर्दै परिक्रमा गरेर आराधना गरिन्। यसैले वट सावित्री व्रतमा बरको रुखमा पूजा तथा परिक्रमा गर्ने नियम छ। आसपासमा बरको रुख नभएको अवस्थामा वरको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ।

                               

प्रतिक्रिया