
मधेश प्रदेशको सरकारलाई आफ्नो विभिन्न माग बोध गराउन जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दा ३९ जना चुरे तथा वन जङ्गल अभियानीलाई प्रहरीले प्रकाउ गरेका छन्।
सोमवार दलित भूमिहीन सुकुम्बासीहरुको न्याय र चुरे बन-जंगल संरक्षण सम्वर्द्धन तथा राष्ट्रको सार्वजनिक सम्पत्ति, धार्मिक क्षेत्र, प्राकृतिक सम्पदा जोगाउनका निम्ति र भू- माफियाको विरोधमा र्याली प्रदर्शन गर्ने क्रममा पक्राउ गरेका छन्।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्नका लागि पुगेका चुरे तथा वन जङ्गल संरक्षण अभियान्ताहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको अभियान्ता सरोज रायले जानकारी दिनुभयो ।
करिब ४ महिना अगाडि चुर तथा वन जंगल संरक्षण अभियानले आमरण अनशन गर्दा मधेश सरकारको तर्फबाट मन्त्री राम सरोज यादव संँग ७ बुंदे सहमति भएको थियो ।
सिरहाको मारूति सिमेन्ट फ्याक्ट्रीमा अवैध रूपले कब्जा गरेको वनको जग्गा फिर्ता हुनु पर्ने, लहान बन डिभिजन कार्यालयको प्रमुखले गरेको भ्रष्टाचारको छानविन हुनुपर्ने, चुरे अभियानी दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर्नु पर्ने र परिवारको एकजना सदस्यलाई सरकारी नोकरी दिनु पर्ने, सिरहामा अभियानको संयोजक सुनील यादव लगायत चुरे अभियानी माथी लगाइएको झुठा मुद्दा खारिज हुनुपर्ने लगायतका मागलाई पूरा नगरेको भन्दै विरोधमा उत्रिएका छन्।
अभियान्ता सरोज रायलको अनुसार-‘ मधेश प्रदेश सरकारले उच्च स्तरिय समिती गठन गरेर छानविन गर्यो । प्रतिवेदन पनि बन्यो तर चार महिना बितिसक्दा पनि सार्वजनिक भएको छैन ।यस्ता नेपाल भरि दलित, सुकुम्वासी, भूमीहिन र अव्यवस्थित वसोवासको व्यापक समस्या छन् । सबैभन्दा बढी समस्या तराई मधेशमा छन् । यस बिचमा संघिय सरकारले २० हजारलाई लालपूर्जा वितरण गरेका छन तर त्यसमा मधेशीहरू परेका छैन।’
सोमबार यी मुद्दाहरू लिएर चुरे तथा वन जङ्गल अभियानीहरु मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन्। प्रहरीले लगाएको निषेधआज्ञा तोडेर आन्दोलनकारीले मुख्यमन्त्री कार्यालय भित्र पस्दै क्रममा प्रहरीसंँग झडप हुँदा ३९ जना अभियानी पक्राउ परेका छन् ।
अभियान्ता सरोज रायले भन्छन् – ‘निषेधआज्ञा तोड्न हाम्रो शौख होइन,मधेश सरकारलाई उठाउन र जिम्मेवारी बोध गराउन बाध्यात्मक परिस्थिती बन्यो ।’
चुरे तथा वन जङ्गल अभियानीहरु पक्राउ परेका सबैलाई तुरन्त रिहा गर्न माग गरेका साथै उनिहरुको माग पुरा नगरे प्रदेश सभा घेराउ गर्ने प्रदर्शनकारीले चेतावनी दिएका छन्।
जनकपुरधामको रेल्वे स्टेशनबाट ब्यानर, पोस्टकार्ड सहित नाराबाजी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्रमा चुरे संरक्षण अभियान्ताहरु पुगेका थिए ।