नेपाल राज्यले मधेसी सहिदहरु संग विभेद गरेको आरोप राजनीतिक बिश्लेशक तुलानारायण शाहले लगाएका छ्न।
वृहत नागरिक आन्दोलन द्वारा सिफल चौक स्थित सहिद धर्मभक्त माथेमाको सालिक अगाडि अयोजित कार्यक्रममा सहिद माथेमा र सहिद दुर्गानन्द झाको सन्दर्भ उल्लेख गर्दै शाहले उक्त कुरा प्रकट गरेका थिए।
सहिद दुर्गानन्द झा ले क्रूर पञ्चायत विरुद्ध र लोकतन्त्र स्थापनाको निमित्त २०१७ सालमा जनकपुर स्थित जानकी मन्दिर नजिक तत्कालीन राजा महेन्द्र सवार गाडी उपर बम प्रहार गरेका थिए ।
बम प्रहारले कुनै अप्रिय घटना नघटे पनी राजा चढेको गाडीको झ्याल फुटेको थियो ।उक्त घटना लाई लिएर झा लाई कानुन संशोधन गरेर फाँसी दिएको थियो । त्यसबेला नेपालमा कुनै ब्राह्मण लाई सरकार द्वरा फाँसी दिने चलन थिएन ।
उनले भने २०४६ सालको जनआन्दोलनमा धनुषाको यदुकोहा गाउँमा एकदिनमै पाँच जनाले सहादत दिए । र त्यति मात्र नभई हरेक परिवर्तनकारी आन्दोलनहरुमा मधेसीहरुले आफ्नो बलिदानी दिने गरे पनि राज्यको विभेद नितिका कारण ती महान सहिदहरुको योगदानको बारेमा आम जनमानशहरुले थाहा पाउन सकेन ।
नागरिक आन्दोलनमा आफ्नो र मधेसी समुदायको समर्थन रहेको भएता पनि बिगतमा लोक सेवा आयोग द्वारा मधेसी ,जनजाती, आदिवासी ,दलितहरु को आरक्षण कटौती गर्दा काठमाडौंका नागरिक समाजका अगुवाहरु किन बोलेनन् भनेर उनले प्रश्न समेत गरे ।
प्रतिगमन आज आएर अचानक भएको होइन भनेर उनले जिकिर गरे। उनले जोडे , संविधान निर्माण प्रक्रियाको बेला नै प्रतिगमनको बिउ रोपिएको थियो , त्यति बेला हामी बिच एकरुपता थिएन अब एक जुट भई यो प्रतिगामी कदमको विरुद्ध सबै नेपाली लाइ मिलेर लड्न आग्रह समेत गरे ।
उक्त कार्यक्रम लाई प्राध्यापक केदारभक्त माथेमाले समेत सम्बोधन गरेका थिए । कार्यक्रम बोल्दै उनले भने प्रतिगमनविरुद्धको आन्दोलनमा प्राध्यापकहरूको व्यापक सहभागिता नहुनु दु:खद हो र प्राध्यापकको उपस्थितिले मात्रै छात्रछात्रा आन्दोलित हुनसक्ने भन्दै प्राध्यापकहरु लाई व्यापक रूपमा सहभागी हुन अपिल समेत गरे ।
यस अान्दोलनमा नागरिक अगुवा , पत्रकार , विधार्थी र स्वतन्त्र युवाहरु को समेत बाक्लो उपस्थिति रहेको थियो ।