राष्ट्रिय परिक्षा बोर्डः कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय , १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने’


  • सुरज सिंह

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ र १५ दिन अगाडि सूचना दिएर अर्को मिति तोकेर परिक्षा सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले भने, “अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइनेछ।” राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै होम सेन्टर राखी तालिका सार्वजनिक गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार कोभिडको परिस्थितिलाई आँकलन गरेर भविष्यमा अर्को निर्णय हुनेछ । हाल वैकल्पिक विधिबाट परीक्षा लिनेबारे कुनै निर्णय भएको छैन ।

यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोना भाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए।

तर कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति चौतर्फी दबाब र धेरैले असन्तुष्टि जनाउँदै आएका छन्।

केही दिन अगाडि देखि नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तिर्व बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यसअघि र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले निर्धारित परीक्षाबारे पुनर्विचार गर्न परीक्षा बोर्डलाई आग्रह गरेको थियो।

                               

प्रतिक्रिया