विश्व शाकाहारी दिवस:शाकाहारी किन हुने?


  • वचन साह बिराम

आज अक्टुबर १ अर्थात् विश्व शाकाहारी दिवस को अवसरमा सम्पूर्ण शाकाहारी सदाचारी जनमानसहरुमा शुभकामना!

विश्वमा मूलत: तीन प्रकारका खाद्य जीवनशैली अँगालेका मानिस पाइन्छन्- मांसाहारी, शाकाहारी र पूर्ण शाकाहारी(भिगन)। धेरै किसिमका शाकाहारी भोजनहरु भएकाले यसलाई किटेर परिभाषित गर्न गाह्रो छ। भिगनहरु माछा, मासु, अण्डा साथै दूध र दुधजन्य पदार्थ र महसमेत खादैनन्। कतिपयले जनावरका छालाबाट निर्मित जुत्ता, ब्याग इत्यादि समेत प्रयोग गर्दैनन्। प्राणीबाट यस्ताबाट यस्ता बस्तुहरु प्राप्त हुने भएकाले यसको उपभोगले हिंसा बढाउने उनीहरुको तर्क पाइन्छ। यस किसिमका शाकाहारीको सङख्या एकदमै न्यून छ। विश्वमा सरदर शाकाहारीको सङख्या ३-५ प्रतिशत रहेको छ। भारतमा सबैभन्दा बढी अर्थात् ३०-३५ प्रतिशत जनसङ्ख्या शाकाहारी रहेको अनुमान गरिएको छ।

शाकाहारी किन हुनुपर्छ त?
यस विषयमा अनेक खाले यथार्थपरक तर्कहरु पाइन्छ। शाकाहारी जीवनशैली अँगाल्नु कुनै धार्मिक मान्यताभन्दा मुख्यत: शारीरीक र वातावरणीय स्वास्थ्य लाभका पक्षहरुसँग सम्बन्धित छ। वैज्ञानिक दृष्टिले हाम्रो शारीरिक संरचना शाकाहारी भोजनको लागि हो। किनभने मांसाहार भोजन गर्ने प्राणीको आन्द्राको लम्बाई छोटो हुन्छ भने तुलनात्मक रुपमा मानिसको आन्द्रा धेरै लामो हुन्छ। मांसाहारी र शाकाहारी प्राणी बिच शारीरिक भिन्नता:
१. मांसाहारीको दाह्रा हुन्छ, शाकाहारीको दाँत हुन्छ ।
२. मांसाहारीको नंग्रा हुन्छ, शाकाहारीको नङ् हुन्छ ।
३. मांसाहारीले अँध्यारोमा पनि आँखा देख्न सक्छ, तर शाकाहारीले सक्दैन।
४. मांसाहारीको शरीरबाट पसिना आउँदैन, शाकाहारीको आउँछ ।
५. मांसाहारीले पानी चाटेर पिउँछ, शाकाहारीले घट्घट पिउँछ।
६. मांसाहारीको आन्द्रा लम्बाई छोटो हुन्छ, तुलनात्मक रुपमा शाकाहारीको लामो हुन्छ।
७. मांसाहारी जन्मनासाथ आँखा खुल्दैन, शाकाहारीको खुलेको हुन्छ ।

यी माथिका तथ्यबाट मानिस प्राकृतिक रूपले नै जन्मजात शाकाहार प्राणी भएको वैज्ञानिक पुष्टि हुन्छ। त्यसैले मांसाहार सेवन मानिसको शरिरको लागि उचित हुँदैन।

हामीले खाने कुनैपनि खानेकुरा पचाउनको लागि त्यो लामो प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ। मानव शरीरमा मासु पचाउने पाचनरसहरुको यथेष्टता नभएकाले पचाउन धेरै समय लाग्ने गर्दछ। मानव शरीर एउटा यन्त्र जस्तै कार्य गर्दछ। कुनै यन्त्रलाई अाराम नदिई लामो समयसम्म चलाईराखेमा निश्चय पनि त्यसको कार्यक्षमता र जीवन अवधि घट्न जान्छ। यस कारणले मांसाहारी भन्दा शाकाहारीमा रोग प्रतिरोधात्मक क्षमता बढी भएको पाइन्छ। मांसजन्य खाद्यमा रहेका अत्यधिक भिटामिन ‘ए’ लाई विषविहीन पार्ने क्षमता मानव कलेजोमा नभएको कारण पनि प्रकृतिले मानिसलाई शाकाहारी विकसित गराएको हुनुपर्छ। मांसाहारभन्दा शाकाहारीमा बुढ्यौली प्रक्रिया(Ageing process) सुस्त हुने भएकाले शाकाहारीहरु अौसतरुपमा धेरै बाँच्ने सावित भइसकेको छ। हाम्रो शरिरमा उच्च रक्तचाप, हृदयघात, पक्षघात, युरिेक एसिड, कब्जियत, पायल्स, पत्थरी, कलेजो तथा मृर्गौलासम्बन्धी रोग लगायत आन्द्राको शत–प्रतिशत क्यान्सर मांसाहारकै कारण हुने गरेको पुष्टी हुँदै अाएको छ। यसैगरी मानवशरीरमा लाग्ने सर्ने र नसर्ने ७० प्रतिशत रोगहरुको कारक मांसहार नै भएको कुरा विभिन्न अध्ययन अनुसन्धानहरुले देखाइसकेका छन्। मानिसको शरिर प्राकृतिक रूपले नै शाकाहारी भएकोले मांसाहार गर्नु भनेको “मकै पिस्ने मिलमा ढुंगा पिस्नु” जस्तै हो । त्यसैले मांसाहार हाम्रो शरिरको लागि हानीकारक भएकै कारण डाक्टरहरूले पनि शाकाहारी हुन सल्लाह दिएका छन्।

विदेशी जीवनशैली पछ्याउने क्रममा मांसाहार भोजन भोग हिन्दू संस्कृतिमा पनि व्यापक रुपमा बढेको पाइन्छ।यद्यपी उनीहरुको तुलनामा नेपाली समाजमा पशु बध गर्ने, काट्ने, भण्डारण गर्ने र पकाउने विधी स्वस्थ्यकर छैन भनेर विभिन्न स्वास्थ्य निकायहरुले सचेत गराउदै अाएका छन्। खासमा पशु वध गर्नुअघि त्यो स्वस्थ्य वा निरोगी छ/छैन भनेर जाँच्ने, सफा स्थानमा वध गरेपछि त्यसलाई फ्रोजन  गर्ने जस्ता विधीहरु हामीकहाँ अपनाइँदैन। यसले मासुलाई झनै विषाक्त बनाउँछ। वस्तुभाउलाई बाँच्नका लागि विभिन्न प्रकारका दाना अौषधी दिइन्छन् जसको रसायनिक अंश त्यसका शरीरमै हुन्छ। जति पकाएपनि नष्ट नहुने ति विकार तत्व हाम्रो शरीरमा पस्ने खतरा हुन्छ।

अब कुरा गरौं, वातावरणीय पक्षको।
फ्रेन्ड्स अफ अर्थ नामक संस्थाको एक रिपोर्ट अनुसार विश्वमा १ के.जी.चिकेन उत्पादन गर्न ३.५ के.जी.दाना खपत हुन्छ भने १ के.जी.पोर्क उत्पादन गर्न ८ के.जी.अाहार चाहिन्छ। विश्ववमा मांस उत्पादन गर्न करिब १०० गुणा धेरै पानीको खपत भएको छ। वनस्पतिजन्य खाद्य वस्तु उत्पादन गर्दाको तुलनामा मासु र मासुजन्य वस्तु उत्पादन गर्दा अनुमानित ५० प्रतिशत बढी हरितगृह ग्यास निष्कासन हुन्छ अर्थात् १ के.जी.मांस उत्पादन गर्न ३६.४ के.जी. कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ। फलस्वरुप वातावरणीय उष्णता अथवा पृथ्वीको अौसत तापमान वृद्धि हुँदै गएको छ। यसले विभिन्न वातावरणीय विपत्तिहरु निम्त्याउन सक्छ। मासांहारी कै कारणले वातावरणमा ठूलो क्षति भईरहेको अारोप छ। मांस उत्पादनका प्रयोजनले पालिने अत्यधिक जनावरको चरनका कारण जङगल क्षेत्र नष्ट भईरहेको छ। धेरै किसिमका जीव तथा वनस्पति लोप हुने खतरा पनि बढेको छ। मांसाहारहरुले अरु जीवजन्तुलाई अाफ्नो भोग्यवस्तु ठानेर सहअस्तित्वको मान्यतालाई कुल्चेका छन्।

मांसाहारी वस्तुको भोगमा कता कता हिन्दू संस्कृतिको बलि प्रथा पनि जिम्मेवार रहेको छ। हिन्दूको पवित्र ग्रन्थ ऋग्वेदमा देउताको लागि त्याग, उपहार, नैवेद्य, दान आदि चढाउनुलाई बलि भनिएको छ। अझ बलिको अर्थ हामीमा भएको दोषः काम, क्रोध, लोभ, मोह र ईष्र्या त्याग्नु भन्ने बुझिन्छ। देउतालाई कुनै प्रिय वस्तु चढाउनुलाई पनि बलि भनेर बुझिन्छ। सबै प्राणी देवी देउताका सन्तानसरह भएको कुरा शास्त्रहरु नै बताउँछन्। कुन चैं मातापिताले आफ्ना सन्तानको निर्मम हत्या हिंसा रुचाउँछन् होला? हत्या गर्ने ठाउँ त कि नर्क हो कि वधशाला। देवी देउताको मन्दिरमा जीवहत्या हिन्दूले विश्वास गरेका शास्त्रको विरुद्ध हो र अधर्म हो।  त्यो जनावरले आफूलाई बलि दिन र मासु खान भनि अनुरोध नगरेको वा अनुमति नदिएको हुनाले पशुबलि दिनु र मासु खानु मानवीय स्वतन्त्रता र अधिकारको होइन।
हिन्दू शास्त्रीय मान्यताअनुसार मानवको उत्पत्ती क्रमश: मत्स्य(माछा)अवतार, कुर्म(कछुवा), नरसिंह(सरीसृप)अवतार, बराह(बँदेल/सुँगुर), बामन अवतार(पुड्के मानव), परशुराम अवतार र अन्तत:पूर्ण मानव राम अवतार भएको हो। यसर्थ,पहिलो अवतार माछा विष्णुका अवतार हुन् जसलाई अधिकांस हिन्दुवादीहरुले भोजनका रुपमा प्रयोग गर्न अलिकति पनि हिचकिचाउदैनन् भने सुँगुर छुन नि पाप लाग्छ भन्छन्। गाईलाई लक्ष्मी मानेर पूजा गर्ने हिन्दुहरु आफ्नै विष्णुको प्रथम, द्वितीय र तृतिय अवतारहरुको हत्या र तिनीहरुका मांस भोजन पनि तिनकै शास्त्रानुकुल छैन भन्ने अनविज्ञ छन्। अब सबै अवतारहरुप्रति गाईसरह आस्था पाल्ने कि? बौद्ध धर्ममा पशु हिंसा र मांस सेवन पूर्ण रुपमा बन्देज गरिएको छ भने हिन्दूमा छैन। हिन्दू धर्ममा पनि पूजाआजा परेको दिन मात्र हैन कि अरु दिन बन्देज गर्न अावश्यक छ।

विश्वका धेरै महान् व्यक्तित्वहरु पनि शाकाहारी जीवनशैली मन पराउने गरेका यदाकदा भेटिन्छन्। गणितिज्ञ पाइथागोरस (ई.पू.५७०-४९५) शाकाहारी थिए र उनले शाकाहारी अभियान नै चलाएका थिए। उन्नाइसौं शताब्दीसम्म शाकाहारी भोजनलाई पाइथागोरियन भोजन पनि भनिन्थ्यो। दार्शनिक प्लेटो पाइथागोरसका अनुयायी थिए। लिओनार्दो दा भिन्ची, अल्बर्ट आइन्स्टाइन, महात्मा गान्धी, राजेन्द्र प्रसाद, लिओ टोल्स्टाय, मार्क ट्वेन इत्यादि ब्यक्तिहरु शाकाहारी नै थिए।

अन्त्यमा,
शाकाहारी भोजनबाट हाम्रो शरीरलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व प्राप्त गर्न सकिने भएकाले मासु र मासुजन्य पदार्थविना स्वस्थ जीवनयापन गर्न सकिन्न भन्ने कुरा वैज्ञानिक तवरले गलत प्रमाणित भइसकेको छ। शाकाहारी भोजनको गुणगान मात्र गरेर हुदैन, नियमित सन्तुलित शाकाहारी भोजन मात्र मांसाहार भन्दा सर्वोत्तम मानिन्छ। तपाईं आफू कस्तो खानपिन, रहनसहन र जीवनशैली अपनाउने भन्नेमा पूर्ण स्वतन्त्र हुनुहुन्छ तर तपाईको निर्णय सधैं वैज्ञानसङ्गत होस् भन्ने अपील गर्दछु।
“आफू पनि बाँचौं,अरुलाई पनि बाँच्न देऊ”

                               

प्रतिक्रिया