‘संविधानको धारा ३३ रोजगारीको हक, कसले दिन्छ सरकार’ भन्दै परीक्षार्थीले दिए धर्ना


  • thebuddhaexpress

‘संविधानको धारा ३३ रोजगारीको हक, कसले दिन्छ सरकार’ भन्दै नासुका परीक्षार्थीले लोकसेवा आयोगमा धर्ना दिएका छन्।

लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा आइतबार धर्ना दिएका छन् । उनीहरूले कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।

उम्मेदवारहरुले प्लेकार्डमा -‘ नेपालको न्याय प्रणाली कत्ति झन्झटिला हो, ढिलो न्याय अन्याय हो, कस्ले सुनिदिने गरीबका छोरा छोरीको बेदना खै कता हरायो सय दिने हनिमुन योजना, लोकसेवा आयोगलाई बढिदैछ कार्यबोझ हामीलाई बढ्दैछ मानसिक रोग!’ लगायतका नारा प्रदर्शन गरेका छन्।

गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् ।परीक्षामा उत्तीर्ण भएर पनि अन्तर्वार्ता नहुँदा ४/५ सय नासुको भविष्य अन्योल भएको लिखित परीक्षामा सफल भएका उनीहरूले जनाएका छन् ।

अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उनीहरूको गुनासो छ ।

नासुमा नाम निकालेकाहरूलाई आयोगले अदालतको आदेश अस्पष्ट भएको भन्दै कानुनी परामर्श गरेर काम अघि बढाउने आश्वासन दिएको छ ।

                               

प्रतिक्रिया