सिराहाको ऐतिहासिक सल्हेश फूलबारी मेला भव्य


  • thebuddhaexpress

सिराहाको पतारीमा लाग्दै आएको ऐतिहासिक सल्हेश फूलबारी मेला गत वर्ष पनि कोरोनाका कारण प्रशासनले रोक लगाएको थियो । यसपालि ऐतिहासिक, पौराणिक तथा पर्यटकीय स्थल सलहेश फुलबारी मेला भव्य रुपमा लागेको मेला समितिले जनाएको छ ।

वैशाख १ अथार्त जुडसितल(आज) सलहेश फुलबारी मेलामा विहानै देखिश्रद्धालु भक्तजनहरूको हजारौं-हजारको सँख्यामा भिडभाड रहेका छन् ।मेला हेर्न आएका भक्तजनहरू र दर्शनार्थीहरुले विधिपूर्वक पूजाआजा गर्न घुइँचो लागेका छन्।

हजारौं हजार सँख्यामा यो मेलामा नेपाल र भारतबाट समेत मानिस मेला भर्न आउँछन् । उक्त मेलामा बलि दिने चलन पनि छ ।पहिलो पूजा कुलेश्वरको हुन्छ । त्यसपछि सलहेसको पूजा गरिन्छ। अनि सबै देवीदेवताको पूजाआजा गरिन्छ । यो परम्परा सदीयौँदेखि चलिआएको छ । सलहेस फूलबारीको मध्यभागमा दुईवटा गहबर (देवताको मन्दिर)को निर्माण गरिएको छ । पहिलो गहबर सलहेस महाराजको हो भने दोस्रो मालिनीको । यी गहबरमा महाराज सलहेस र मलिनीको भव्य मूर्तिको स्थापना गरिएको छ । यसबाट यसको पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्व प्रस्ट हुन्छ । पुजारी हरिसिंहदेव दनुवारले जानकारी दिनुभयो ।

सिराहामा प्रत्येक वर्ष नयाँ सालको अवसरमा सिराहा, लहान, भगवानपुर, लक्ष्मीपुरलगायतका पालिकाका विभिन्न स्थानमा फूलवारी मेला, सल्हेश मेला, मानिकदह पकरिया मेलालगायत बढी भीडभाड हुने मेला, जग, धार्मिक एवं प्रवचन कार्यक्रम, मौतका कुवा, सांस्कृतिक कार्यक्रम लागेका छन् ।

१४औं शताब्दीका राजा सल्हेशको सम्झनामा सल्हेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झना स्वरुप १ वैशाखमा परम्परागत मेला आयोजना हुन्छ ।

लहान बजारदेखि चार किलोमिटर पश्चिम-दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको सल्हेश फूलबारीको मध्यभागमा हारमको रुखमा हरेक वर्षको अन्तिम दिन माला आकारमा फूल फुल्छ ।

मेलाको भोलिपल्ट दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जान्छ । यही अनौठो फूल हेर्न पनि यहाँ टाढा-टाढाबाट श्रद्धालु आउँछन् ।

यसको ऐतिहासिकभन्दा धार्मिक महतव अचेल बढ्दै गएको छ । लोकनायक सलहेस दुसाध (पासवान) जातिको इष्टदेवता या लोकदेवताका रूपमा पूजित र सम्मानित हुँदै आएका छन् । स्थानीय बासिन्दाका अनुसार लोकनायक सलहेस प्रतिदिन माणिकदहमा नुहाएर सलहेस फूलबारीमा फूल टिपेर र महिसौथास्थित राजमाता र कमलामाईको पूजाआजा गर्थे भन्ने भनाइ पनि छ ।

फूलबारीमा अवस्थित गहबरको नजिकैको रूख जसलाई ‘हरम’ नाम दिइएको छ, यसैकोे एउटा हाँगामा प्रत्येक वर्ष चैत मसान्तको दिन एक दिनका लागि मात्र एउटा फूल माला आकारमा फुल्छ र भोलिपल्ट ओइलाएर जान्छ । यसको रहस्य अहिलेसम्म खुलेका छैन । तर, स्थानीयवासी के विश्वास गर्छन् भने ‘दोना’ मालिन आफ्नो प्रेमी सलहेसको आलिङ्गनमा आबद्ध भएर आफ्नो अमर प्रेमलाई प्रकट गरिरहेको प्रतीकका रूपमा यो फूल फुल्ने गर्छ । रोमाञ्चक र रामोन्टिक यो घटना छटौँ शताब्दीदेखि नियमित र निश्चित मितिमा घटित हुँदै आएको छ ।

सलहेस फूलबारीलाई प्रेमीप्रेमिकाको मिलन केन्द्रका रूपमा प्रचार गर्न सकिन्छ । आन्तरिक पर्यटनको केन्द्रका रूपमा पनि यसलाई विकास गर्न सकिन्छ ।

                               

प्रतिक्रिया