“३१औं स्थापना दिवस”को अवसरमा अख्तियारले राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने


  • thebuddhaexpress

“३१औं स्थापना दिवस”(२०७८ माघ २८ गते)को अवसरमा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गर्ने भएको छ ।

देशभरका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीका लागि “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” शीर्षकमा खुला निबन्ध प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

आयोगले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रथमलाई रु.२५ हजार, द्वितीय हुने विद्यार्थीलाई रु १५ हजार र तृतीय हुनेलाई रु.१० हजार नगद र प्रतियोगि विद्यार्थी प्रदान गर्नेछ । सहभागी बिधार्थीको एक अभिभावकलाई आउन जान लाग्ने बसभाडा र अन्य खर्च आयोगले प्रदान गर्ने सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

आयोगले माघ २६ गते संचालन हुने राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगितामा विद्यार्थी स्वयं उपस्थित भई सहभागी हुनुपर्ने सूचनामा उल्लेख गरेको छ । निबन्ध लेखनको समय ३ घण्टा तोकेको छ । प्रतियोगिताका सहभागी विद्यार्थीले दुई हजार देखि तीन हजार शव्दमा नबढाई निबन्ध लेख्नुपर्ने छ ।

निबन्ध नेपाली भाषामा लेखिएको हुनुपर्ने, इच्छुक विद्यार्थीले आफूले लेखेको निबन्ध साथ आफ्नो नाम थर, ठेगाना, विद्यालयको नाम र ठेगाना, अध्ययनरत कक्षा र सम्पर्क फोन नम्बर उल्लेख गरी विद्यालयबाट आयोगको कार्यालयलाई सम्बोधन गरी लेखिएको सिफारिस पत्र समेत संलग्न गरी आयोगको सम्बन्धित कार्यालयमा पठाउनुपर्ने सूचनामा उल्लेख गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले आफूले लेखेको निबन्ध पुस ३० गतेसम्म सम्बन्धित कार्यालयमा आइपुग्ने गरी पठाउन सूचित गरेको छ ।

आयोगको मातहत कार्यालयमा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रथमलाई रु. १२ हजार, द्वितीयलाई रु. ९ हजार र तृतीयलाई रु. ७ हजार ५०० र सान्त्वनालाई रु. ५ हजार २ जनालाई प्रदान गर्ने भएको छ ।

आयोगका कार्यालयहरूमा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम भएका विद्यार्थीहरूलाई समावेश गरी माघ २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता संचालन गर्ने भएको छ।

                               

प्रतिक्रिया