मनसुन थप सक्रिय : ३ दिन भारी बर्षाको सम्भावना , सतर्क रहन आग्रह


  • सुरज सिंह

पुर्व देखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा आज भाद्र १० गते बिहीबार देखि भाद्र १२ गते शनिबार तिन दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भाद्र १० देखि १२ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग हुने अनुमान गरिएको छ ।

वैशाखदेखि अहिलेसम्म लगातार परेको भारी वर्षाले बाढी डुवान र पहिरोको जोखिम बढाइदिएको प्राधिकरणले जनाएको छ ।

पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ ।

बिहीबार देखि शनिबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्ने तथा ‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई बिशेष सर्तक रहन भनिएको छ ।

तराइका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा रहेको भन्दै प्राधिकरणले सचेत रहन अनुरोध गरेको छ ।

तत्काल खोज, राहत र उद्धारका लागि राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रको टोल फ्री नं ११४९ मा फोन गर्न र तयारी अवस्थामा रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेका छन्।

                               

प्रतिक्रिया