मिथिलाञ्चलमा चौरचन पर्व मनाइँदै : कलंक हटाउने संयोग


  • सुरज सिंह

भदौ शुक्लपक्षको चतुर्थीका दिन सिरहा सहितका मिथिला क्षेत्रको विभिन्न मैथिल स्थानमा चौरचन (चौठी चन) पर्व मनाइदैछ ।संकटबाट बचाउने र कलंक हटाउने पर्वको रुपमा शुक्रबार चौरचन मनाइँदैछ।

मिथिला क्षेत्रमा खासगरी मधेशी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक ब्रत बसी मनाउने गरिएको छ ।चौरचन पर्वले पुत्र, धन तथा मान वृद्धि गरी लागेको कलंक पनि हटाउने विश्वास छ। 

चौठि चन पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर सूर्यास्तपश्चात साढे दुई घण्टा गरिने चन्द्रमाको पूजालाई नै चौरचन भन्ने चलन रहेको छ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाई/भौसीको गोबरले लिपि सकेपछि आँगनमा पिठार (चामलको पीठो)ले अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राखी त्यसमा पकवान, मिठाई लगायतका प्रसादहरु चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने मैथिल परम्परा रहेको छ ।

पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, केरा, पुरी र विभिन्न फलफूल लगायतका सामग्री राखेर पूजा गरिन्छ । चौंठचनको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसम अनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि उपस्थित पुरुषले चार भाग गरी पातमा भोजन गरेपश्चात बाँकी रहेको भाग त्यही नै खाल्डो खनी गाड्ने चलन रहेको छ ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ । यो पर्व खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको छ ।

सन्तान र घरपरिवारको सुख, शान्तीका लागि यो पर्व मनाउँदै आएको ब्रतालु महिलाले बताईन् । ‘पर्वमा चन्द्रमालाई अर्घ दिएर सम्पन्न गरेपछि छरछिमेक, इष्टमित्रलाई प्रसाद ग्रहण गराउने मैथिल चलन रहेको छ।

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनको विभिन्न प्रचलित कथा रहेको छ । कथा अनुसार श्रीकृष्णलाई आजैको दिन स्यमन्तक मणिको प्रसंगमा लागेको कलंक छुटेकोले यस पर्वको पौराणिक महत्व पनि स्थापित भएको छ ।

                               

प्रतिक्रिया