हरितालिका तिज मनाईदै : यस्तो छ महिमा


  • सुरज सिंह

हिन्दुधर्मावलम्बी नारीहरुको महानपर्व हरितालिका तिज बिहीबार भगवान शिवको आराधना गरेर मनाईदै छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा ब्रत बसी भगवान शिवको पुजा आराधना र उपासना गर्नाले सुख,शान्ति र परिवारको कल्याण प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।

यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

तिजको अघिल्लो दिन हिजो दर खाएका महिलाहरुले आज निराहार ब्रत बसेर शिवालयमा गएर पुजा आराधना गर्ने गर्दछन ।  यस वर्ष पशुपतिलगायत देशैभरीका मुख्य शिवालयहरुमा व्रतालु र दर्शनार्थी महिलाहरू भगवान शिवको पुजा आराधना गर्न रमझम देखिन्छन् ।

पहाडी समुदायको महिला विशेष गरी तिज मनाउने गर्दछन् ।तर पछिल्लो समय देखि मधेशी समुदायका नारीहरूमा पनि तीजको जमघट गर्ने प्रबृत्ति बढ्दै गएको छ। सामुहिक रुपमा भेला भएर गित गाउँदै नाचगान,मनोरञ्जन गर्ने र दर खाने प्रचलन रहेको छ ।

किम्बदन्ती र शास्त्रीय मान्यता

पौराणिक कथन अनुसारः सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मान्यता रहेको छ ।

यस्तो छ महिमा

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

                               

प्रतिक्रिया