युवक आफू लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको कर्मचारी बताएर ठगी गरेको आरोपमा जनकपुरधामबाट एक जना पक्राउ परेका छन्।
महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौलीका ३२ वर्षीय सागरकान्त चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षकले जानकारी दिए।
आइतबार राति चौधरीलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडिबाट पक्राउ गरिएको हो।
चौधरीले आफू लोक सेवाआयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजातहरु स्थानीय मानिसहरुलाई देखाइ ठगी गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले पक्राउ गरेको हो।
चौधरीको तलास गर्दा ज्याकेटको भित्रपट्टीको गोजीमा लोक सेवा आयोग न्युक्ति, नतिजा प्रकाशन शाखा तथा नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ति पेपर, शपथ लिएको कागज, नेपाल ईन्भेष्ट बैंक लिमिटेडको राजेश कापरको नामको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत वीरगञ्ज लेखिएको रबर स्टाम्प छाप बरामद गरिएको छ।
उक्त युवक आफूले नक्कली कागजपत्र तयार पारेको स्वीकार गरेका छन्।
चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शीर्षकामा ७ दिनको म्याद लिइ थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।