#कमलदह

कमल दह – एक अनौठो ताल (इतिहास सहित)


  • सुरज सिंह

परिचयः
बाह्रौं महिना कमलको फुल र जलले भरिएको दह “कमल दह” हो। चारैतिर हरियो डाँडाकाँडाको बिचमा सौन्दर्य दृश्य झन्डै २ वर्ग किलोमिटर क्षेत्रफल अगोटेको कमलदह क्षेत्र हो। यो पौराणिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थल “कमल दह” सिरहा जिल्लाको मिर्चैया नगरपालिका – ०९, मा अवस्थित रहेका छन ।
धार्मिक महत्व बोकेको कमलदह प्राकृतिक सम्पदाले भरिभराउ छ। कमलदह क्षेत्रमा हरेक नयाँ वर्ष, चाडपर्व एवं बिदाका बेला घुमफिर तथा पिकनिक मनाउनेहरूको घुइँचो लाग्नुको साथै प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन सर्वसाधारण तथा श्रदालुभक्तजनको निकै ठूलो भीड लाग्ने गर्दछन् । यहाँ हरिबोधिनी एकादशी दिनदेखि चार दिनसम्म (पूर्णिमा सम्म) ऐतिहासिक कमलदह मेला पनि लाग्दै गरेका छन्। एकादशी मेला महोत्सव कमलदहमा हरेक वर्ष विभिन्न किसिमका कार्यक्रमहरू; कुस्ती, नाच र अन्य मनोरञ्जनात्मक साधनहरू हुने गर्दछन्। एकादशीको दिन श्रदालुभक्तजनको नुहाउनका लागि धेरै भीड लागेका हुन्छन् किनभने ऐतिहासिक पृष्ठभूमिको आधारमा यस कमलदह मा नुहाएपछि सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मयान्ता रहिआएको छ। कमलदह मेलालाई “ठुठिया मेला” को नामले परिचित रहेका छन् साथै कुस्ती (पहलवानी)को लागि प्रख्यात मेला पनि कमलदह मेलालाई नै चिनिन्छ। यहाँ विभिन्न मठ मन्दिर निर्माण गरिएको छ । शिव मन्दिर, हनुमान मन्दिर, तथा विभिन्न देविदेवताको स्थान पनी अवस्थित रहेको छ। हरेक वर्ष पूर्णिमाको एक दिन पहिला नै कमलदह मेला सम्पन्न भई त्यहाँकै मेला कमलाको पुर्णिमा मेला लाग्ने प्रचलन रहेको छ।

https://www.facebook.com/hallabolnetwork/

देवनागरिक लिपिमा सुरुको अक्षर ‘क’ बालबालिकाहरूलाई सिकाइ अभ्यासमा ‘ क ‘ बाट कमल, कलश, कमिलाको ताँती, पाठकलाई साक्षरता बनाउनलाई सिकाउ,,ने माध्यम हो। ‘क’ बाट काम युवाहरूलाई सिकाउने, मानौँ ‘क’ बाट कर्म त्यसकारण ‘क’ अक्षर नै महत्वपूर्ण मानिन्छ। त्यस्तै कमलमा ओकार लगाउँदा कोमल हुन जान्छ अर्थात् कमलको फूल भरी नै कोमल सेतो रंगको सुशोभित देखिन्छ साथै माता सरस्वतीको सवारी पनि हाँस माथि सेतो कमलको फूल पनि सुशोभित देखिन्छ। बार्है महिना पानी र सेतो कमल फुल फुलाउने प्राकृतिक सौन्दर्यले भरिपूर्ण दह क्षेत्रलाई कमलदह भनिन्छ।
यसै सन्दर्भमा सिरहा जिल्लाको साविक चन्द्रोदयपुर; डण्डाटोल, धर्मपुर, कदिमाटोल, रमपुरा, सुन्दरपुर हालको गोलबजार नं. पा.-०८,०९, १०,र मिर्चैया नं.पा ०९ मा बसोबास गर्ने मानिसहरू आज भन्दा १०० बर्ष अगाडि र अहिलेको समय वि.सं. २०६० साल सम्म कमलदहको पानी शुद्ध मानी भोज, बिहे, श्राद्ध र अन्य विभिन्न प्रयोजनका लागि साथै पिउने काममा ठेलागाडी लिएर ड्राममा लोड गरी ढुवानी गरेर पानीलाई सदुपयोग गरी रहेका थिए। गाउँघरका गरिब मानिसहरू काँधमा बोकेर पानी ल्याई पिउने काम गरिरहेका थिए।नजिकै रहेको पहाडमा बसोवास गर्ने मानिसहरु डोकोमा गाग्री लोड गरी पिठ्युँमा बोकी पानी ल्याई पिउने काम गर्दथे।
पर्यटकीय स्थल तथा ऐतिहासिक कमलदहको सम्बन्धमा यसको इतिहास र परिवर्तन बारे खोज उन्मुख गरी विभिन्न मानिसहरूः डण्डाटोलमा बसोवास गर्ने नन्दलाल महतो, नजिकै गाउँमा बसोवास गर्ने बुढापाखा, कमलदहमा पुजा आराधना गर्ने पुजारीहरूसँग जानकारी लिई यसको इतिहास तयार पारेका छौँ।

इतिहासः
आजभन्दा करिब १०० बर्ष अगाडि इस्वी सम्वत् १९९० सालभन्दा केही अगाडि वा पछाडि कमलदह क्षेत्रमा ठुलो हरियाली प्रकृतिले भरिएको बनजङ्गल थियो। तिन तिर डाँडाकाँडा करिव ३०,४० फीट उत्तरतिर पहाड छन् र त्यसको बिचमा करिब २५ हेक्टर गहिरो ठाउँ जहाँ थोरै मात्रामा पानी जम्ने गर्दथे र माथिल्लो तहको खोलसीहरूबाट वर्षातको समयमा पानी तलतिर बगेर जरूवा खोलामा जाने गर्दथे।जरूवा खोला भनेको पहाडबाट सानो खोल्सीहरूको ठाउँ ठाउँबाट बर्षातको मौसममा पानी जम्मा भई ठुलो आकार लिई नजिककै गाउँ रमपुरा, ढोढना र पिप्रा हुदैं घुर्मीखोलामा पानी बग्ने गर्दथे र त्यहीँ पानीबाट तरकारी खेती गर्नका निम्ति किसानहरू सिँचाइ पनि गर्नुहुन्थ्यो। कमलदहबाट बग्ने पानी पनि जरुवा खोलामा मिसिन्थियो। त्यहीँ पानीलाई साविक पानबारी गाउँ हाल नरहा गाउँपालिकामा बसोवास गर्ने घोरे कान्छा नाम गरेको एक जना मानिसले त्यो ठाउँमा करिब ३०० फिट लम्बाई ३० फिट चौडाईको बाँन्ध बँन्धाई त्यसको दक्षिण तर्फ करिब ७ विघा जग्गा उहाँले संरक्षण गरी राख्नु भएको थियो। उहाँको मृत्यु पश्चताप लाटा तामाङ तथा उनका दाजु भाईहरू मिलेर उक्त जग्गा बिक्री गर्नुभयो र बान्धको संरक्षणका लागि ०-५० जग्गा समुदायमा हस्तान्तर गर्नुभयो। तर उक्त जग्गा लिने मानिस बान्ध संरक्षणको लागि राखिएको जग्गा पनि हस्तक्षेप गरी आफ्ना नाउँमा वि. सं. २०२४ सालको सबै नापीमा नपाउँन लागेको थाहापाए पछि कमलदहको नजिककै गाउँ धर्मपुरमा बसोबास गर्ने वलेमास्टर, डण्डाटोलमा बसोबास गर्ने वासुदेव महतो र नन्दलाल महतो तिनैजना मिली बन रेन्जरलाई भनी नाप नक्सा बान्धकै हकहितमा जग्गा पर्ने गरी कायम गराएको दरबन्दी जग्गा लिने र समुदायहरूको बिचमा भयो। अन्ततः कमलदह कै जग्गा निर्णय र घोषणा भयो।
कमलदहको वरीपरी अहिले पनि घना जङ्गलहरू छन् त्यस स्थानमा बसोबास गर्ने धार्मिक देवी-देवताहरू दिहवारनीको नामले प्रख्यात छन् र धेरै जसो मानिसहरूको मनोकामना यहाँ पुरा भई राखेका छन् । जस्तै, बालबालिकाहरूका लागि निसन्तान महिला माता दहवारनीसँग वर माग्ने गर्छ त्यस्तै कुनै बिरामीको लागि औलहा जिउमा हुने त्यसको निवारणका लागि बैशाख जुड सितलमा भार चढाउने गर्छ। मनोकामना पुरा हुनेहरू कमलदहको दक्षिण बाँन्धमा स- साना मन्दिरहरू बनाई पुजने गर्दछन् र कमलदह मातासँग घमन्डी गर्नेहरू र नराम्रो दृष्टिले हेर्ने लाई कुभलो पनि भएको विश्वास पनि छन । आजभन्दा ५० बर्ष अगाडि कमलदहको सतहमा कमलको फुल र पूरणको पातहरू हुनेगर्थयो । भोजहरूमा त्यो पातमा, भातको भोज, चुरादहिको भोज तथा पिकनिकमा मासु तथा अन्य प्रकारका खानेकुरा खाने गर्थ्यो। बिचको अबधि मानौं २०५० साल देखि २०७० साल सम्म जब कमलदह समुदाय बन अन्तर्गत फुलवरीया सम्म जब गाविसमा कायम भयो त्यतिखेर कमलदहलाई समुदाय बनसमितीहरू विकास कामको लागि ठेक्का लगाई र माछा पालन पोषण गरेर पानी तथा कमलको पात फुल सबै विनाश तिर भएको थियो तर अहिले २०७० साल पछि ठेक्का लाग्दैन। नेपाल सरकारबाट पनि सोही सैनिकहरू ठाउँ ठाउँमा घर(बस्ने स्थान) बनायो र संरक्षण गर्दै आइरहनुभएको छ। जसले गर्दा कमलदहको अहिलेको स्थिति राम्रो छ। अहिले सिरहा जिल्ला २ नं प्रदेशको पिकनिक स्थल नै कायम भएको छ। यहाँ हरिबोधिनी एकादशीका देखि लिएर पुर्णिमा सम्म प्रत्येक साल ठुलो मेला लाग्ने गर्छ जसमा देशविदेशका पहलवानहरु पनि सो अवसरमा आई मेलाको शोभा बढाउने गर्छ र इनाम लिई जाने गर्दछ । अझ मेलामा करिब १०,००० को संख्यामा मानिसहरू ४ दिन सम्म मनोरञ्जन लिन्छन्। त्यो स्थान मिर्चैया नं. पा. – ०९ मा पर्ने गर्छ र मेला घुर्मीनदी; गोलबजार नं. पा. ०९ र १० मा पर्ने गर्छ र मेला घुर्मी नदी देखि कमलदह स्थान सम्म लाग्ने गर्दछ।
माता दिहवारवनीको नामबाट करिव आज भन्दा ८० बर्ष पहिले जति खेर जमिन्दारी प्रथा थियो त्यति खेर यसै सिरहा जिल्ला अन्तर्गत औरही गाउँमा बसोवास गर्ने बिजलाल सुब्बा जसको सन्तान उमाबाबुको १०० विघा जग्गा कमलदह देखि दक्षिण रमपुरा पश्चिम,डुमरी वथानको जग्गाहरूको जमिन्दारी थियो उक्त मौजाको नाम कमलदह मौजा राखने गरेको थियो त्यो ठाउँहरूमा, अहिले वस्ती वसी सकेका छन्। कमल दहमा कमलको फुल साथ साथै गाई वस्तुहरूलाई खाने जल, धान तथा जल कुम्ही, जलघासँ ठाउँ ठाउँमा उर्मिरहन्थ्यो। उमाबाबु हातिमा चढेर कहिले कहीँ आउने गर्दथे। मलहिनियाले हात्तीलाई चरा खुवाउन कमलदहमा लगि हात्तीलाई अहारा खुवाउने गर्दथे। यसै क्रममा एकचोटी सिगयाही मरानको बासुदेव महतो नाम गरेको एक हात्तीको मालिकले चरा खुवाउन कमलदहमा ल्यायो तर उनका मलिनियाले घमन्डी गरेको कारण हात्ती पानीबाट बाहिर आउन सकेन पछी हात्ती मालिकलाई खबर प्राप्त भएपछि स्वर्गीय वासुदेव महतोले लडु पान सुपारी लिएर हात जोडी बिन्ती लगायो त्यस पछी हात्ती बाहिर आयो।कमलदहमा अहिले पनि शक्ति छ जसले मन धर्म कर्मले उपासना गरी जलफुल चढाउँछ उहाँको मनोकामना पुरा हुने विश्वास छ । अहिले पनि कमलदहको विभिन्न मन्दिरहरूमा पुजारीहरू पुजा आराधना गर्नेगर्दछ सृष्टिको निर्माण गर्ने ब्रह्मा कमलफुलबाटै सृष्टि रचेको मान्यता रहेकोले सृष्टि निर्माण यहाँबाटै भएको हो भन्ने मान्यता रहिआएको हो। कमलदह भित्र धेरै सुनचाँदी, गरगहना तथा पित्तलको भाडासमाग्री रहेको छ भन्ने गरिन्छ।जब मानिसहरू दाउरा ल्याउन, पिकनिक गर्न र घुम्नजादा मान्छेहरू कमलदह माता संगै प्रार्थना गरेर खाना पकाउने समाग्री लिन्थे। उनिहरूको बिन्ती सुनेर हरेक माग पूरा गर्दिनुहुन्थ्यो। यदि कुनैपनि मानिसलाई लाई कुनै दुःख कष्ट भएमा उनिहरूले प्रार्थना गरेपछि उनिहरूको रोग निको हुन्थ्यो ।
पौराणिक मन्याता अनुसार राजा सलहेश हरेक वर्ष वैशाख १ गते र २ गतेका दिन सिरहा जिल्ला स्थित आफ्नो राजधानी मैसोधागढ बाट आफ्नो सेनासहित घोडामा सवार भई “कमलदह” मा स्नान गरी फुलवारीमा आफ्ना साथीहरूसँग कुस्ती लडेसकेपछि आफ्ना प्रेमिका सँग वनविहार गर्ने किम्बदन्तीको स्मरण गर्न प्रतेक बर्ष बैसाख १ गते लाखौं मानिसहरूको सलहेश फुलवारी मेलामा उपस्थिति हुनेगर्दछन्। प्रेम गाथाले भरिएको फुलवारीमा आएर भाकल गरे मनोकान्छा पुराहुने जनविश्वास रहेको छ।
अहिले जसरी कञ्चनजल र पानीमाथि तैरिएका घना पुरणका पात्त र कमलको फूलले आँखाको नयन झैँ चकमक देखिँदैछ, कुनै बेला पनि यस्तै देखिन्थ्यो । यही यसको खासियत हो । पुरणको पात्त पौराणिक मान्यता अनुसार शुद्ध मानिन्छ । कुनै बेला आसपासका गाउँमा भोजभतेर हुँदा यस दहबाटै पुरणको पात्त लगिन्थ्यो । यसको छुट्टै महत्त्व छ । करिब १२ बिघा क्षेत्रफलमा फैलिएको यो ताल पौराणिक इतिहासमा भगवानले आफ्ना सेना (दैतभुत) मार्फत् एक रातमै खनेको धार्मिक किम्बदन्ती पनि छ। प्रचिनकाल को कुरा हो, जब बहलमान(गोरू गाडी चलाउने मान्छे) र उसको परिवार सँगै कमलदहमा वनभोज गर्न आएको थियो। उनिहरू भाँडाकुँडा कमलदह मातालाई प्रार्थना गरी भाँडाकुँडा लिई बनभोज गरेर घर फर्किने बेलामा भाँडाकुँडा आफ्नो गाडिमै लिएर फर्किन थाल्यो, जब घुर्मीखोलाको कटन लागेको थियो त्यतिबेला नै गोरूगाडीमा भएको सम्पूर्ण भाँडाकुँडा सहित त्यहाँबाट तानेर कमलदहमा लगेर डुबायौं। किनभने त्यहाँ कमलदहबाट कुनै पनि समान लिएर घर फर्किने नियम थिएन, सम्पूर्ण सामान लिएपछि सफा गरेर फेरि कमलदह कै पानीमा राखिदिनु पर्थ्यो र भाँडाकुँडा आफै पानीभित्र डुब्थ्यो। त्यसपछि बहलमान धेरै प्रथाना गरेप्रश्चताप दयावान कमलदह माता उहाँको गोरूगाडि सहित पानि बाहिर आयो र खुसीको साथ घर फर्कियो।
अहिले कमलदहमा माछापालन, लुगा धुने साथै घरपालुवा जनावरलाई पानी लाने जस्ता कार्यले गर्दा शुद्ध पानी अशुद्धमा परिन्त भएको हो। तसर्थ अहिलेका मान्छेहरू कमलदहको पानी अशुद्ध भएकोले पानी खाँदैनन्। साथै यस कलयुगमा विभिन्न किसिमको गलत कार्यले गर्दा कमलदहमा भाँडाकुँडा प्रकट हुने पनि बन्द भएका छन्।

आर्थिक र विकासः
पछिल्लो २५–२५ वर्षदेखि बीचमा स्वार्थपूर्तिको अड्डा बनाएर कमलदहको अस्तित्व र पहिचान नै धरापमा पार्ने कोशिश भएको थियो । अत्ति लोपोन्मुख तथा महत्त्वपूर्ण कमल फूलको नामले परिचित कमलदहलाई ठेक्का लगाएर माछा पालनको रुपमा प्रयोग गरिँदा कुरुप बन्दै गएको थियो । ठेकेदार पनि मोटाए, त्यसबाट आएको रकमले त्यसमा संलग्नहरुको पनि रंगरुप परिवर्तन भयो । तर, त्यो बढी समयसम्म टिक्न सकेन । नजिकै रम्पुरामा बसोवास गर्ने पत्रकार बिनय यादबले पत्रकारिता क्षेत्रमा थोरबहुत जान्नेबुझ्ने हुन थालेपछि उहाँलाई यसको पौराणिक र भित्री इतिहास जान्न मन लाग्यो । त्यसप्रति चासो बढ्दै गयो ।करिब २ वर्षअघि यादवले कमलदहको दुर्दशालाई सञ्चार माध्यममा ल्याएँ । समाचारकै कारण उहाँले अनावश्यक तनाव पनि झेलेँ । दबाबका बाबजुद कमलदह बचाउको लागि भ्याएसम्म आन्तरिक प्रयास पनि थालेँ । पछिल्लो वर्षदेखि माफिया र ठेकेदारको चंगुलबाट कमलदह मुक्त भएको छ । कुकर्मका २० वर्ष जतिको अवधिमा कमलदह क्षेत्रको दोहन गरेर भुडी बढाएका केहि भ्रष्टाचारीहरु जेल पनि कोँचिए । फेरि ठेक्का लगाउने उनीहरूको पूरा दम सहितको प्रयास सफल भएन । र अहिले फेरि कमलदह आफ्नो पुरानै स्वरुपमा फर्किन पाएको छ । पर्यटकीय गन्तव्यको अथाह र प्रचुर सम्भावना छ यहाँ । पुरातात्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण छ । दशकौंदेखि प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिनदेखि तीन दिनसम्म लाग्ने ‘ठुठिया मेला’ यहीँ लाग्ने गर्दछ। तर, विडम्बना यसको विकास र संरक्षणको लागि तीन तहमध्ये कसैको ध्यान देखिँदैन । कयौं पटक मन्त्री, नेता र सरकारका प्रतिनिधिहरु आए, आश्वासन दिएर गए । समाचार आएपछि डेढ वर्षअघि ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण योजना’ अन्तर्गत सेना मार्फत् केहि काम भएपनि नामकै लागि । तीन करोड बजेट थियो, जुन रकमले केहि हदसम्म कमलदहको मुहार फेर्न सकिन्थ्यो । तर, प्राप्त बजेटको करिब पौने एक भागभन्दा पनि कमै रकमले काम गराएर बाँकी सबै रकम स्वाहा भयो । कमलदहको लागि नगरपालिकाले समेत बजेट विनियोजन गरेपनि कागजसम्ममै सीमित रहयो । सच्चा मनले कतैबाट यसको लागि प्रयास र पहल नभएको मात्रै हो, आधुनिक तरिकाले भौतिक पूर्वाधारको निर्माण गरि चौतर्फी विकास र सबल व्यवस्थापन गर्न सकिए कुनै ‘फेवाताल’ भन्दा कम छैन ‘कमलदह’ । प्राकृतिक सुन्दरताले सजिएको मनमोहक कमलदह नेपालकै नमूना पर्यटकीय गन्तव्यमध्ये एक बन्न सक्छ । अब कमलदहलाई नाम झैँ सुन्दर बनाउने सपना छ सबैको। सम्बन्धित निकायसहित सबैको आवश्यक सहयोग रहयो भने पक्कै पनि यो सपना साकार होला । प्रकृत्तिको अनुपम सृजना ‘कमलदह’प्रति गहिरो माया छ हाम्रो।

निष्कर्षः
यस दहलाई सबै मिलिजुलि आधुनिक भौतिक पुर्वाधार निर्माण गरि आधुनिक पर्यटक स्थलको रुपमा विकास गर्नु जरुरी छ। संरक्षणका लागि समुदायबाट संरक्षण राखेका छन् सम्बन्धित निकाय सरोकारवालाहरूले अझ त्यस स्थानलाई फराकिलो, र व्यवस्थित गर्न योजना बनाओस्, चाडो भन्दा चाडो पर्यटकिय स्थलको रूपमा विकास हुने गरोस् र यो एउटा रमणीय, प्रकातिक र धार्मिक स्थल कमलदहको नामले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पनि आफ्नो पहिचान कायम हुनेछ।

                               

प्रतिक्रिया