#बलिदानी दिवस

मधेश : दि बलिदानी भुमि


  • Gurusharan Singh (Aavash)

‘मधेश’ संस्कृत शब्द ‘मध्यदेश’ या पाली शब्द ‘मझिम्देश’ को विकशित रुप हो, जसको अर्थ बीचको भुमि हुन्छ । बाबुराम आचार्य जस्ता नेपाली इतिहाशकारले समेत ‘मधेश’ लाई मध्यदेश को अपभ्रंश मान्ने गर्दछन र भारत उपमाहादेशको बीचमा अवस्थित भएको हुनाले प्राचिन ग्रन्थहरुमा यस्लाई मध्यदेश वा मझिम्देश भन्ने गरेको पाइन्छ । मध्यदेश को वर्णन मनुस्मृति, क्रिकांडशेस, अबिधन चिन्तामणि, अमरकोश, महाभारत, कथा सतिसागर, राजतरंगिनी जस्ता अनेकौ धार्मिक ग्रन्थ र साहित्यहरुमा पाइन्छ । मनुस्मृतिमा मध्यदेसको सिमा निम्न प्रकारले उल्लेख गरिएको छ – “हिम्वदिन्ध्योम्रधये यात्प्रागिव्नशनादपि, प्रत्यगेब प्रयागाच मध्यदेशः” अर्थात् हिमालय देखि लिएर बिन्ध्य पर्बतको बीच सम्म तथा पूर्वमा प्रयाग र पश्चिममा बिनाशन (सरस्वती) नदि सम्म फैलिएको भूभाग नै मध्य देश हो ।

संसारमा मानवको उत्पति, विकाश र सभ्यताको क्रम संगसंगै मधेशमा पनि मानव सभ्यताको विकाश भएको देखिन्छ र मधेशको बुटवल क्षेत्रमा करिब १ करोड १० लाख बर्ष पुरानो मानवसमप्राणि ‘रामापीथेकस’ भनिने आदिमनावको दाँत भेटिएको छ जुन अहिले पनि काठमाडौँ को संग्रहालयमा राखिएको छ र त्यसैगरि विभिन्न कालखण्डमा दांग देखि मोरंगमा भेटिएको जिवाश्म, हातहतियार ले पनि मानव उद्भ्व र बिकाशको प्राचीनता लाई दर्साउदछ र यसै क्रममा मानव बिकाश जंगली र बर्बर युग हुदै सभ्य युग तिर आगाडी बढे । गण एबम कबिला बेबस्थालाई पार गर्दै मधेशमा राज्य ब्यबस्थाको बिकाश भएको देखिन्छ ।

१८ औ सताब्दी तिर प्रति बर्ष २ लाख रुपैया भुक्तान गर्ने सर्तमा सन् १८१६ मा अंग्रेजहरुले मधेशको पुर्बी भूभाग नेपालको राजा लाई दान गरिदिए । त्यसै गरि, भारतमा सन् १८५७÷५९ मा भएको सिपाही बिद्रोह लाई दबाउनका लागि नेपालका राजा द्वारा अंग्रेजलाइ गरिएको सन्य सहयोगको बदलामा उपहार स्वरुप सन् १८६० मा अंग्रेजहरुले पश्चिम मधेशको भूभाग नेपालको राजालाइ दिए । ततपस्चात मधेश लाई आन्तरिक औपनिबेशीकरण गर्ने दुष्प्रयास नेपालका राजाहरु द्वारा आरम्भ गरियो ।

मधेशलाई अर्धौपनिबेश को रुपमा राखेकै कारण राणाकाल देखिनै मधेसी समदायका लागी नरेन्द्रमणि जस्ता मधेशी बेग्तित्वले आवाज उठाउन सुरु गरिसकेका थिए । उनले सन् १९४८ सालमा राणा प्रधानमन्त्री पद्मशमशेर लाई संबैधानिक सुधारका लागि लिखित सुझाब दिएका थिए, जसमा उनले मधेसी जनता माथि भइरहेको भेदभावलाई अन्त्य गर्न सुझाएका थिए । त्यसअघि नै सन् १९३५ मा जनकपुरको पापमोचनीमा पण्डित रामाकान्त झा को नेतृत्वमा मधेसका २२ युवाले आआफ्नो रगतले हस्ताक्षर गरी राणाशासन अन्त्यका लागी शपथ लिएका थिए । पछी पण्डित झाले राणाशासन बिरोधी आन्दोलन तथा शपथ लाई बीपी कोइरालाको समक्ष लगेर बिसाए र काँग्रेस पार्टीको सदस्यता लिएर महोत्तरी जिल्लाका अध्यक्ष भए । २००७ शालमा प्रजातन्त्र आयो तर बिपीले मधेशी जनताहरुलाइ दिएका अस्वाषण पुरा भएन ।

मधेशीहरु पहिलो पटक ठगिएका थिए, २००८ सालमा, कुलानन्द झा र बल्देबदाश यादव को नेतृत्वमा तराई कांग्रेस पार्टीको गठन भयो जसको मुख्य उदेश्य स्वयत्त तराई राज्यको स्थापना, नागरिक सेवामा मधेसीहरूको उचित प्रतिनिधित्व साथै सेनामा पृथक तराई रेजजमन्टे खडा गर्नु रहेको थियो । त्यस पछि नै मधेशीहरुले आफ्नो हकअधिकारको लागि आफ्नो ज्यानको आहुति दिन समेत तयार भए । नेपाली राजनीतिको बिकाश संगसंगै २००९ सालमा किसानहरुमाथि भएको अन्याय अत्याचार को बिरुद्ध आन्दोलनको संखनाद भयो र सो आन्दोलनलाइ दबाउनको लागि राज्यले गोलि बर्सायो जुन गोलि लागेर रौतहटको आशार्फी शाह सहिद भए । यही आन्दोलनको क्रममा २०११ सालमा सिराहाका बहादुर सदा र बाराको मुंगालाल महतोले पनि सहादत प्राप्त गरे र २०१४ सालमा सप्तरीको अघोरी यादवले आफ्नो प्राण को आहुति दिए ।

त्यस्तै २०१७ को राजा महेन्द्र को ‘कु’ पश्चात देशमा पंचायती व्यवस्था लागु भयो र केहि अवधी पछी राजा महेन्द्र पुर्बी मधेश भ्रमणको सिलसिलामा जनकपुर पुगेको बेला, तानाशाह शासन लागु गरेको भन्दै जनकपुरका १८ वर्षीय युवा दुर्गानन्द झा ले राजा महेन्द्र माथि बम प्रहार गरेका थिए तर बम ले राजा महेन्द्र चढेको गाडीको केही भागमा क्षती मात्र भयो कुनै किसिमको मानवीय क्षति भने भएन । राजा महेन्द्र माथि बम प्रहार गरिएको कारणले दुर्गानन्द झा लाई फांशी दिइयो जबकी त्यती बेला महिला र ब्राहमण लाइ फांशी दिने गरिदैन्थ्यो । दुर्गानन्द झा मधेशी ब्राहमण भएकै कारणले कानुन संसोधन गरेरै भएपनि उनलाई लाई फांशी दिइयो ।

२०१८ सालमा पंचायत को विरुद्ध कांग्रेशले दोश्रो सशस्त्र सङ्घर्ष सुरु गर्यो जसमा प्रहरीको गोलि लागि बुध सिंह राना, गणेश राउत कुर्मी, रामविलाश राय, सुलेमान मिया, सिब्चान्द्र मिश्र, जलिल मिया, गोपाल झा, परिक्छन ठाकुर लोहार, मोहन शाह कानु, रामचन्द्र महतो कोइरी, सुखारी हाजर, सुखदेव सिंह जस्ता सयौं मधेशीहरुले आफ्नो ज्यानको बलिदानी दिए । फेरी २०४६ को आन्दोलनमा आफ्नो ज्यानको आहुति दिए जसको कारणले देशमा बहुदल पनि आयो तर मधेश र मधेशी लाइ राज्य संचालनमा खासै स्पेस (न्यायपुर्ण स्थान) दिइएन ।

पंचायती व्यवस्था बिरुद्ध मधेशी युवाहरु जोडदार आवाज उठाउदा आफ्नो ज्यानको बलिदानी दिदां समेत मधेशीहरु लाइ उपेक्छित भएर नै बस्नु पर्यो, युवाहरुमा एक किसिमको ह्राशको मनोविज्ञान तयार हुनपुग्यो । केहि बर्ष पछी माओवादीले सर्बाहारा बर्गको मुग्ति र एक किसिमको पहिचान र स्वायत्तताको आन्दोलनको रुपमा सुरुवात गरे । निराश भएर बसेका मधेशी युवाहरुको रगतमा क्रान्तीको ज्वारभाटा उठ्यो । ससस्त्र संघर्षमा पूर्ण रुपमा होमिएको मधेशले आफ्ना हजारौ सपुतहरुको गौरवपुर्ण बलिदानी दियो । धनुषाका एकै परिवारका ५ जना सम्मले सहादत प्रप्प्त गरे, हजारौ अङभङ भए । हजारौ संख्यामा बलिदानी दिए पनि माओबादीले स्वायत्तताको सपना पुरा गराउन सफल भएन र अन्तरिम संबिधान २०६३ मा ‘संघियता’ शब्द उल्लेख बिना नै माओवादीले उक्त संबिधानमा हस्ताक्षर गरि स्वीकार्यो । पटकपटक झै मधेशी जनताहरुलाइ एक पटक फेरी ठगिएको अनुभूति भयो ।

माघ १ गते अन्तरिम संबिधान घोषणा भयो । त्यसमा संघीयता र स्वायत्तता कहीँ कतै उल्लेख थिएन । त्यसको भोलीपल्टै मधेशी जनाधिकार फोरमका अध्यक्ष उपन्द्रे यादवको नेतृत्वमा माईतीघर मण्डलामा अन्तरिम संनवधान जलाइयो । संविधान जलाएपछि उपेन्द्र यादव लगायत २८ जनालाई प्रहरीले गिरफ्तार गर्यो । अन्तरिम संविधान जलाएको कसुरमा मुलुकी ऐन अदालती बन्दोबस्त १२१ अनुसार थुनुवा पुजी र्दइयो । अध्यक्ष यादवलाई प्रहरीले गृफ्तार गरेको भन्दै फोरमले माघ २ गते देखि ५ गते सम्म मधेश बन्दको आह्वान गर्यो । सोही क्रममा माघ ५ गते माओबादी नेता राम कार्की र मात्रिका यादव सबार गाडी लाहान बजार पुग्यो । बन्दको अबज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले माओबादी नेता सबार गाडी रोक्न खोज्दा दुवै पाक्छ बीच झडप भयो र बिधार्थी रमेश महतोको मृत्यु भयो । तत्पचात माघ ६ गते पुरै मधेशमा आन्दोलन आगो झैँ फैलियो । यसपटक पनी राज्यले कयौं मधेशी यूवाहरुको निर्ममता पुर्वक ज्यान लियो । पचाश भन्दा बढी मधेशी युवाहरुले आफ्नो ज्यानको बलिदानी दिए । पछि मधेश आन्दोलन दोस्रो, तेस्रो मा पनि सयाैं मधेशीहरुले आफ्नो ज्यानको आहुति दिए । मधेशमा मधेशको लागि धेरैले बलिदानी दिए र कालान्तरमा माघ ५ गते बलिदानी दिवशको रुपमा मनाउन थालेका छन् ।

राणा शासन अन्त्य भयो, पंचायत अन्त भयो, राजतन्त्र अन्त भयो, सात दशकमा सात वटा संविधान जारि भयो । मधेसमा यतिका सङ्घर्ष भए, मधेशले हजारौ बलिदानी दिएता पनि सामान्य उपलब्धि बाहेक मधेशले धेरै कुरा पाउन बाँकी छ । मधेसीले अझैसम्म पनि राज्यमा न्यायपुर्ण स्थान र सम्मान पाएका छैनन् । यतीसम्म कि अन्तरिम संविधानले सुनिस्चित गरेको हकअधिकार पनि यो संबिधानले खोसी दिइएको छ । हो ति बलिदानी र बिद्रोहहरु ले मधेशी समुदाईको राजनीतिक चेतना भने प्रचुर मात्रमा जरुर बढाएको छ ।

तसर्थ राज्यका निर्णायक पक्षले के बुझ्न आवस्यक छ नेपालको स्थायी सत्ताको वर्षौ देखीको धोखा र बिभिन्न क्रान्तीहरुले राजनीतिक रुपमा आहात तर सचेत मधेशले उठाएका मुद्दाहरुलाइ यथासीघ्र संविधान संसोधन मार्फत सम्बोधन गरि देश र मधेशको समृद्धीको बाटो खोलि दिनु पर्छ हैन भने आउने दिनमा आन्दोलन ले अर्कै बाटो लियो र राष्ट्रिय दायराभन्दा बाहिर निस्क्यो भने त्यति बेला चाहेर पनि केहि गर्न नसकिने आवस्था आउन सक्छ ।

लेखक ः गुरुशरण सिंह (आभाष )
कानुन बिधार्थी
गोलबजार – ९, सिरहा (हाल काठमाडौं)

                               

प्रतिक्रिया