महिषासुर वलिदानी दिवस


  • सिएन थारु


एक समय दिल्ली स्थित जवाहरलाल विश्वविद्यालयमा विद्यार्थीहरुले महिषासुर वलिदानी दिवस मनाए । पछि त्यस खालको कार्यक्रमहरु अन्यत्र पनि विस्तार भएर गयो । यसरी कार्यक्रम विस्तार हुने क्रमसंगै पक्ष र विपक्ष विच झडप हुन थाले । कार्यक्रम उपर हस्तक्षेप हुँदै जादा दशैंको भाष्य उपर विपक्षी मत निर्माण हुन थाले । त्यस मत अनुसार महिषासुर सुरवीर र पराक्रमी राजा थिए जसको प्रतिष्ठाले आर्यहरुको छलछाम ओझेलमा परेको थियो । उनीहरुको तर्कहरु निष्क्रिय भएर बसेको थियो । त्यस समयमा महिषासुरको राज्य सभ्यताको उत्कर्षमा पुगेको मानिन्थे । जबकी आर्यहरु फिरन्ते जीवन यापन गर्दै ज्ञान बटुल्न शुरु मात्र गरेका थिए । महिषासुरलाई पराजय गर्दा उनीहरुको प्रभूत्व विस्तार हुने दाउ खोज्दै कपटपूर्ण तवरले नारीको अगुवाईमा युद्ध गर्न पुगे । यो युद्धनीति विपरित कर्म थियो किनकी त्यस समयमा एउटा महायोद्धासंग युद्ध गर्न सोही तहको महायोद्धा रणमैदानमा देखिनु पथ्र्यो र त्यसैलाई धर्म ठान्थे । तर आर्यले नाटकीय तवरले दुर्गा भवानीको अगुवाईमा असन्तुलित युद्ध छेडे र महिषासुरको हत्या गर्नसके । यस अर्थ महिषासुरको युद्धमा पराजित भएको तर्क धर्मयुद्ध विपरितको तर्क भएको बुझाउने हो भने महिषासुर वलिदानको प्रतिक हो ।


पूर्वि तराई मधेशमा दशैंको मुल्य पश्चिम तराई मधेश भन्दा पृथक छ । पूर्वि तराई मधेशमा दुर्गा भवानीले महिषासुर उपर विजयी हासिल गरेको भाष्य बमोजिम दशैं मनाइन्छ । यसरी मनाइने दशैंको अवसरमा देवी प्रति श्रद्धाभाव जगाउने गरिन्छ । भगता गीत मार्फत देवीको लागि झुमरा गाउने चलन छ । महिषासुरलाई दानवराज परिभाषित गरि सत्य माथि असत्यको विजय भनि दुर्गा भवानीको जय जयकार हुने गर्छ । त्यसको विपरित पश्चिम भारतमा अयोध्या नरेश रामले लंका नरेश रावणलाई यहि समयमा मारेको र अयोध्या फर्केको खुशियालीमा रामको गुनगान गर्ने चलन छ । रामले देवीको पूजा गरेको र देवीकै अशिर्वाद लिई लंकामा चढाई गर्दा विजयी हुन सकेको कथा अनुसार दशैंमा देवी पूजा हुँदै आएको छ । तथापी पूर्वि भारत लगायत नेपालका तराई मधेश र पश्चिम भारतको भाष्य निर्माणमा अलग अलग दृष्टीकोणले काम गरेको छ ।


दशैं साँस्कृतिक महत्वको चाडबाड त हो नै तर यो राजनीतिक प्रभूत्व विस्तारको रुपमा अग्रसर रहेको देखिन्छ । नेपालको सन्दर्भमा भिम वहादुर विश्कर्माको मृत्यु यसै वर्ष नवमीको दिन भरतपुर, चितवनमा हुन गई दुर्गा पूजामा समेत दलित उपर अछूतको व्यवहार छ भनि बुझाउने गर्छ । त्यो भन्दा अगावै सन् १८६७ मै राणा शासनको समय निधारमा टीका नलगाउने र दशैं वष्किार गर्ने घोषणा गरेका धनकुटावासी मध्ये रामलिहांग र रिदमा आठपहरेलाई राज्यद्वारा मारिए । त्यो समय त मुलुकी ऐन बमोजिम सञ्चालन गरिएको राज्य थियो तर अहिले त संविधान मार्फत सञ्चालित राज्यव्यवस्था छ भनिएको छ । त्यसैले राज्यको संविधान र व्यवस्था फेरिए पनि नीति फेरिएको छैन । राज्य धर्मनिरपेक्ष घोषणा गरिए कारण कुनै एक निश्चित धर्म विशेषको राज्य हुनु जरुरी छैन भनि स्वीकार गरियो । यति भएर पनि धर्मनिरपेक्षताको मुल्य विपरित राजनीति अग्रसर बन्दै गएको छ । आफ्नो धर्मको मुल्य जोगाउने काम स्वयं सो धर्म मान्ने जनसमूहको हुने तर राज्यको नीति हेर्दा प्रष्ट हुन्छ कि कलियुगको एक मात्र हिन्दु अधिराज्य नेपाल हो । यस सम्बन्धमा अशोक एरोमेटिकको फेसबुक टाइमलाइनको स्टाटस थप तथ्य उजागर गर्न पुग्छ । दशैंलाई नेपालीहरु को महान चाड भनि प्रसार गरिनुको पछाडि कुन उद्देश्यले काम गर्छ ? के नेपाली जति सबै हिन्दु मात्र हुन त ? यो विचारणीय सवाल दशैंको वहस यस अर्थमा नउठने रहेछ कारण कमल थापा जस्ता चतुर राजनीतिककर्मीहरु चिनियाँ राजदूत र अमेरिकी राजदूतले दशैंको टीका लगाएकोले अब गनगन जरुरी छैन भन्दैछन् । यथार्थ के हो कि धर्मको दाउपेंच मार्फत नेपाल राज्यको चरित्र उदांगो बनाउने प्रयत्न निरन्तर जारी छ ।


छिमेकी मुलुक भारतमा दशैंको प्रतिपक्षी मत महिषासुर वलिदानी दिवस मार्फत दिन खोजियो । पहिले जवाहरलाल नेहरु विश्वविद्यालयमा यसको वहस केही समय पहिले कोजाग्रत पूर्णिमाको दिन थालियो । प्रतिपक्षी मत अनुसार देवी को आडमा आर्य र अनार्य विचको युद्ध अन्त्य गर्न पुगे । महिषासुर पराक्रमी राजा आफ्नो साम्राज्यमा शासन गर्दै गर्दा घुमन्ते आर्यहरु त्यस क्षेत्रमा आइपुगे । उनीहरुले त्यहाँको समृद्ध संस्कृति र राज्यव्यवस्था उपर आँखा गाड्न थाले पछि राजाले उनीहरुलाई दण्डित गर्न थाले साथै त्यसमा केहीको मृत्यु पनि भयो । त्यस पश्चात महिषासुरको राज्य हात पार्न आर्यहरु जसरी पनि महिषासुरको बध गर्ने भनि देवी भवानीको रुपमा स्त्री रणमैदानमा उतारे । यो धर्मयुद्ध भन्दा विपरित कार्य मानिन्थे । तर प्रेम र युद्धमा सबै चीज जायज हुने भनेर महिषासुरलाई कपटपूर्ण तरिकाले बध गर्दा यहि कोजाग्रत पूर्णिमाको दिन महिषासुर प्राण आहुति दिएको भाष्य अनुरुप यो वलिदानी दिवसको तर्क अघि सारेका छन् । यो दिवसको विस्तार गर्दै नागपुरसम्म पुग्दा हिन्दु अतिवादीहरु आक्रमण गर्न थाले । प्रतिरोध गर्न निकै कठीन बन्दै गयो साथै सरकारले समेत त्यसता गतिविधी उपर निगरानी बढाउन खोजी पछि अहिले त्यसको प्रभाव कम हुन पुगे ।


अन्त्यमा, उत्तरआधुनिकतावादी जगदिश शम्सेर राणाको अनुसार ज्ञानमा विष्फोट हुन पुगेको कारण आर्थिक केन्द्रहरु पनि विभाजित बन्दैछन् । दशैंको विजय पराजयका कथाले आर्यहरु आफुलाई जितको अग्रभागमा राखे कारण त्यो इतिहास भनेकै आर्यजनको इतिहास हो । आर्यको सभ्यता तथा ज्ञानमिमांशा आफैंमा उत्कृष्ट ठहर हुँदै गर्दा अहिले त्यसको विपरित ज्ञान पनि आफ्नो दायरा बढाउने काम शुरु गरेको छ । त्यो पहल संगै महिषासुर वलिदानी दिवसको निरन्तरताले दशैंको भाष्य उपर चुनौती खडा गर्दैछ । त्यसो त देवासुर संग्राम प्रति नै गैरआर्यको शुरुदेखिको विमति रहेको थियो र छ । जति जति नेपालमा हिन्दुत्वको प्रभाव बढाउने कामले अग्रसरता लिन्छ, सोही बमोजिम महिषासुर वलिदानी दिवस पनि चुनौतीको रुपमा विस्तारित हुँदैजाने अवस्था सिर्जना हुन थाल्छ । नेपालको तराई मधेश भारतीय प्रभावबाट अधिक प्रभावित हुने भएकोले विपरित ज्ञानको जुन लहर भारतमा देखा परे त्यसको प्रभाव नेपालमा समेत पर्ने पक्का छ ।

                               

प्रतिक्रिया