#होली

फागु : सांस्कृतिक संदर्भमा


  • रामदयाल राकेश

मैथिली साहित्यका महाकवि विद्यापति ले वसंत ऋतुको अनुपम सौन्दर्यको चित्रांकन गर्दा फागु महोत्सवको बासंती र सांस्कृतिक पक्षमाथि प्रकाश पार्नु भएको छ किनभने फागु वसंतऋतुमा मनाइने सबै भन्दा ठूलो लोकोत्सव हो ।
उहाँको एउटा वसंत * लाई उद्दृत गरेर उपयुक्त कथनलाई समर्थित गर्न सकिन्छ ।
” नव वृन्दावन नव नव तरुगन
नव नव विकसित फुल
नवल वसंत नवल मलयानिल
मातल नव अलिकुल ।”
यस कथनलाई अझ स्पष्ट गर्न सकिन्छ
‘ आएल ऋतुपति राज वसंत
धायल अलिकुल माधवी पंथ ।’
वसंतऋतुको पदार्पण जब प्रकृतिको प्रांगणमा हुन्छ तब भमरा समूह सबैभन्दा पहिला मातेको हुन्छ । रसिक भमरा फुलको सुवास एवं सुगन्धले भरिएको बाटो तिर अर्थात आफ्नो गन्तव्य तिर थाल्द छ । यस्तै मादक मनोहर र मस्त तथा मधुर वातावरणको सृजना गर्नमा वसंतऋतु सफल हुन्छ । चारैतिर जब सरस र सुन्दर वातावरण सृजित हुन्छ अनि मिथिलावासीहरु पनि मदमस्त भएर फागुको लोकोत्सव मनाउन थाल्दछन् । मस्ती नै यस लोकोत्सवको मुलमंत्र हो । जिवनमा आनन्द प्राप्ती नै मानिसको ठूलो अभिलाषा हुन्छ । फागु लोकोत्सव मनाउनको पछाडि अन्वेषण पनि एउटा मुख्य कारक तत्व हो । वास्तवमा भन्ने हो भने यसको प्रारम्भ वसंतपंचमी देखीनै हुन्छ । जब मिथिलावासीहरु जुन अधिकांश कृषक हुन् आफ्नो मुख्य धानवाली घर भित्र सुरक्षित रुपमा राखिसक्दछन त्यस पछि मौज मस्तीले भरिएको लोकोत्सव फागु मनाउनेमा चिन्ता विहीन भएर दत्तचित्त हुन्छन । यो मनोवैज्ञानिक पनि हो । जब मानिस चिन्ताविहीन हुन्छ, काम काजको बोझ बाट उन्मुक्त हुन्छ अनि ऊ आमोद – प्रमोदमा लाग्न खोज्दछ । यसै मनोवैज्ञानिक मनस्थितिको मनग्गे कुंठित एवं दमित उन्मुक्ति हो यो फागु पर्व ।

महाकवि कालिदासको शब्दमा :-
” उत्सव प्रिय : खलु मनुष्या :”
आजको आधुनिक मनोविज्ञानले पनि यस तथ्यलाई पुष्टि गर्दछ । मानिस स्वाभावत : उत्सव प्रिय हुन्छ । तसर्थ यसको अनुरुप सुरम्य एवं सुरुचिपुर्ण वातावरणको पनि सृजना हुनु सर्वथा स्वाभाविक हुन्छ ।

संसारका विभिन्न जातिले आआफ्नो सांस्कृतिक परम्परा अनुसार आफ्नो मौलिक लोकोत्सव मनाउनको पछाडि पनि यहि तथ्य लुकेको छ । अमेरिका र युरोपमा क्रिसमस , मुस्लिम देशहरुमा ईद (रमजान) र हिन्दु देशहरुमा दशै , दिपावली र फागु मनाउनु यसै तथ्यको ज्वलन्तै उदाहरण हुन् । यस किसिमको लोकोत्सव मनाउदा संस्कृतिको संरक्षणको साथैसाथ मनोरञ्जनको पनि भावना पुष्ट हुन्छ । यस अर्थमा फागुको सांस्कृतिक पक्ष झन प्रष्ट हुन्छ । कामसुत्रको ‘जय मंगला टीका ‘ मा सुवसंतलाई ‘ मदन महोत्सव ‘ भनिएको छ जस्मा नृत्य , गीत , नाधादि को सम्यक् विधान हुन्थ्यो ।” होलका फाल्गुन पुर्णिामायां श्रृंगाकादि मुक्तेन किंसुकम्दि कुसुम रागाम्भसा परस्परोक्षणम् मिथ : पटवास प्रक्षेपश्च ।” सरस्वती कण्ठाभरको अनुसार सुवसंतक नै वसंताअवतार को पहिलो दिन हो पृथ्विमा उसको नवोन्मेष , उसको मंगलावतरणको मंगल उदघोष ।

प्रकृतिको प्रष्फुटित पुर्ण यौवनको बासंती पृष्ठभूमिमा जब प्रकृति आफ्नो पीत परिधानमा परिवेष्टित हुन्छिन र मधुमासको मन्द – मन्द मलयानील पनि संगीतमय गाना गाउँदै प्रवाहित हुन्छ तब फागुको सांस्कृतिक पर्व सम्पुर्ण नेपाल अधिराज्यमा मनाइन्छ । संगीतमय तिहारहरुमा ‘फागु’ को तिहार सर्वोत्कृष्ट र सबै भन्दा सरस तथा सुहाउदो किसिमको मानिन्छ । यसको पृष्ठभुमीमा आँपको बगैचाहरुमा कर्णपिय कोईलीको सरस एवं सुमधुर पंचमतान , पपिहा को पी-पी को पुकार , पुस्पहरुको मधुमय मुस्कान , मौरीहरुको गीत गुन्जन , नदि नालाहरुको कल कल निनाद तथा मानिसहरुको संगीतमय स्वरलहरीले गर्दा सम्पुर्ण वातावरण प्रतिध्वनित हुनथाल्दछ । चारै तिर नयाँ उत्साह , नौलो उमंग , रमाइलो रमझमको सुमधुर र संगीतमय वातावरण दिगदिगन्तमा परिव्याप्त हाल्दछ । वन – उपवन ,खेत खलिहान , गाउँ-गल्ली र चौबाटो-चौतारी तथा गोरेटो-घोडेटो फागुको लोक लहरीबाट निनादित हुन थाल्दछ । फागुको सुमधुर सम्झनामा वासंती मादकता नेपाली तन्नेरी र तरुणीहरुको प्रेमासिक्र आँखामा गाजलको रुपमा खेल्न थाल्दछ र निलो आकाशमा सेतो बादल मादल लिएर संगीतको सरस धारा प्रवाहित गर्न थाल्द छ ।सांस्कृतिक पनि फागु ऋतुराजको यस्तै मधुरतम एवं मादक वेलामा सम्पन्न हुन्छ । यसलाई मैथलीभाषा ‘फगुवा’ र ‘होरी’ भनिन्छ । प्राकृतिक सौन्दर्यका अमर गायक महाकवि कालिदासले यसलाई ‘अभिज्ञान शाकुन्तलम ‘ , ‘रघुवंस’ र ‘मालविकाग्निमित्रम् मा ऋतु -उत्सवको उपाधि बाट अलंकृत गरेका छन ।

होलिकोत्सव मनाउने सम्बन्धमा अनेक मत प्रचलित छन ।
१. यस्तो मान्यता छ कि यस पर्वको सम्बन्ध ‘कामदहन’ सित जोडिएको छ ।भगवान शंकरले क्रोधाग्नि बाट कामदेवलाई भष्म गरेका थिए त्यस बखत देखि यस त्यवहारको प्रचलन शुरु भयो ।

२. फाल्गुन शुक्ल अष्टमी देखि पुर्णिामा सम्म आठ दिन होलाष्टक मनाइन्छ । छिमेकि मुलुक भारतमा कति प्रदेशहरुमा होलाष्टक शरु भएपछि एउटा रुखको हांगा काटेर यसमा रंग-विरंगी कपडाको टुक्राहरु बाँधिन्छन ।यस हांगालाई जमिन मुनि गाडिन्छ ।र यहाँ होलिकोत्सव मनाईन्छ ।

३. यो लोकोत्सव हिरण्यकश्यपुकी बहिनी होलिका संग सम्बन्धित भएकाले यसलाई होलिका दहन पनि भनिन्छ ।हिरण्यकश्यपुको आतंक र अत्यचार बाट सबै प्रजाजन प्रताडित एवं पिडीत थियो । उसको छोरा प्रहलाद भगवानको सच्चा भक्त थियो । उसले प्रहलाद लाई मार्नको लागि एउटा षड्यन्त्र रच्यो । होलिकाको काँखमा राखेर प्रहलादलाई मार्ने योजना बनायो तर प्रहलाद भगवानको असीम कृपाबाट बच्यो र होलिका चाहिँ आगोमा जलेर मरिन् । त्यसै बेला देखि होलिका दहनको परंम्परा चल्दै आएको विश्वास छ ।

४ . यस दिनमा आम्रमंजरी तथा चन्दन मिसाएर खानुको बडो महत्व छ । यस फाल्गुन पुर्णिमाको दिनमा एकाग्र मनले झुलामा झुल्दै श्री गोविन्द पुरुषोत्तमको दर्शन गर्नेले सोझै बैकुण्ठ बाँस गर्दछ ।
५. भविष्य पुराणमा भनिएको छ एक पल्ट नारदले महाराज युधिष्ठिर लाई भने राजन : फाल्गुनको पुर्णिामाको दिनमा सबै मानिस लाई अभयदान दिनु पर्छ त्यसले गर्दा सम्पुर्ण प्रजा आनन्द र उल्लासपुर्वक हाँसोस ।

हाम्रो देश नेपालको मिथिलाञ्चलमा प्रतिवर्ष यो लोकोत्सव मनाइने परंपरा प्रचलित छ । के गाउँ के सहर सबै ठाउँमा यो समान रुपमा मनाइन्छ । रंग र अविरको खुल्मखुल्ला प्रयोग हुन्छ । सम्पुर्ण वातावरण रंगीन देखिन्छ । यो रंगारंग लोकोत्सवमा के बच्चा , के युवक के बुढा सबै समान रुपमा सहभागी हुन्छ ।त्यस्तै के बच्ची , के तरुणी र के बुढी सबै समान भएर एक आपसमा रंग र अवीर ले शेराबोर भएर उन्मुक्त भएर यस लोकोत्सवलाई सार्थकता र जिवंतता प्रदान गर्दछ । साल भरिको दमित एवं कुंठित मनोग्रंथि लाई फुकाउने अवसर प्रदान गर्दछ यो फगुआ तिहारले । अश्लील लोकगीत गाइन्छ ,गाली गलौज गरिन्छ तर कसैले नराम्रो मान्दैन । तरुणीहरु लाई जिस्काउने गरिन्छ तर यसलाई पनि नराम्रो मानिदैन । देवर भाउजुको बिचमा छेडछाड स्वच्छन्दता पुर्वक चल्द छ तर यसलाई पनि समाजिक स्वीकृति नै मानिन्छ । देवर र भाउजुको बिच सदियौ देखि गांसिएको सुमधुर सम्बन्धको द्योतक हो यो लोकोत्सव । सालि संग पनि यस्तै निबंध सम्बन्ध गांसिन्छ फगुआ भरि ।
यसै संदर्भमा एउटा फगुआ लोक गीतको टुकडा प्रस्तुत गरिन्छ – ‘नकवेसर कागा ले भागा , सैयां अभागा न जाना ‘ अर्थात लोग्ने र स्वास्नी साथसाथ सुतेको छ तर कागले स्वास्नीको नकवेसर लिएर भागीसक्यो । लोग्ने अभागी लाई थाहै भएन किनभने ऊ मस्त भएर वेहोश अवस्थामा सुतिराखेको छ । यस कथनको पनि सांस्कृतिक पृष्ठभुमी छ । फगुआ भरि मासु , माछा र मदिरा प्रशस्त खाने परंपरा छ। यस बाहेक भाँग , कुसुम र अन्य नशालु पदार्थको सेवन स्वतन्त्रतापुर्वक गरिन्छ । जब सम्म मानिस वेहोस हुदैन तब सम्म यसमा कुनै व्यवधान आउँदैन । यो त भो मांसहारीको हाल । शाकाहारी मानिसहरु भिन्न भिन्न किसिमका स्वादिष्ट भोजन हलुआ , खीर , मिठाई र फलफुल खाने गर्दछन । यिनीहरु भाँग र कुसुमा ( नशालु पदार्थ जस्तो भाँग , धतुर लाई पिनेर दूध किशमिश , अलैंची , काजु , नरिवल मिसाएको पेय पदार्थ ) खाने गर्दछन । यस्तो पौस्टिक खाना खानको पछाडी कामोत्तेजना बढोस् भने चाहना हुन्छ । प्रेमको देउता कामदेव आफ्नो सम्पुर्ण शौर्य र पराक्रमको साथ प्रत्येक मान्छेमा कामवासनाको संचारमा साथ दिन्छ । तसर्थ यस लोकोत्सवको एउटा पक्ष कामुक भावनालाई उत्तेजित पार्नु पनि हो भन्न सकिन्छ ।

यश लोकोत्सवलाई कृष्ण र राधाको रासलिला संग पनि जोडिन्छ । कृष्णले जसरी मायावी एऊटा साधारण मानिस जस्तो राधा र उसकी सखीहरु संग सहवास र सुख शयलको आनन्द लुटेको थिए । यमुनाको तटमा कदम्ब रुखको मुनि कृष्णले राधा तथा गोपिनीहरुसंग ‘होरी’ खेलेका थिए । जनकपुरमा राम र सीता एक आपसमा फागु खेलेका थिए । हिमालयमा शिव र पार्वती ‘होरी’ खेलेकी थिईन । त्यस्तै आजका तन्नेरी र तरुणीहरु वीच रंग र अवीर पिचकारीमा भरेर एक अर्का माथि रंगीन आक्रमण गर्ने परंपरा सदियौं देखि चल्दै आएको छ । यस प्रसंगमा एउटा फगुआ लोकगीत प्रस्तुत गरिन्छ –
” रंग घोरु ने प्रिय मिथिला के गोरी
मिथिला के कुल-रिती एहन थिक
खेलत फागु सबै जोडी , रंग घोरी …

किनका हाथ कनक पिचकारी              किनका हाथ अबिर झोरी , रंग घोरी ....
रामजीके हाथ कनक पिचकारी 
सखियन हाथ अविर झोरी , रंग घोरु ...
खेलत फागु रंग रस मातल 
मिलत गले एक-एक टोली , रंग घोरु ...

यो लोकोत्सव साम्प्रदायिक सद्भावको प्रतीक हो । यसमा सबै जाती , सबै वर्ग र सवै वर्णका मानिसहरु समभावले शरिक हुन्छन् ।जाति -पातिको कुनै बंधन हुदैन । अमीर र गरीबको बिच कुनै भेदभाव हुदैन । चारै वर्ण र छतिस जात संगै मिलेर सोल्लास यसलाई मनाँउछ । प्रजातान्त्रिक मूल्य र मन्यताको अधारमा यो लोकोत्सव सम्पुर्ण मिथिलाञ्चलमा प्रतिवर्ष मनाईन्छ । यसको मुल उदेश्यनै साम्प्रदायिक सद्भाव हो । यसको सबै भन्दा गहकिलो संदेशनै सबै मानिस समान हो । यसको मुल मन्त्रनै पारस्परिक मैत्री सम्बन्ध हो । यसको शुभ र सुखद उपलक्ष्यमा सालभरिको रिस-इबी , मतभिन्नता र मनोमालिन्य विर्सेर एक आपसमा अंगालो मानेर यो तिहार मनाईने प्रचलन अधापि पनि छ । एक अर्काको टाउकोमा अवीर दलेर र जिउमा रंग हालेर नमस्कार गरिन्छ । अंगालो मारिन्छ । दुई हृदय एक आपसमा गासिन्छ । यो नै सबै भन्दा महत्त्वपूर्ण र मौलिक पक्ष हो यस लोकपर्व को ।

मिथिलाञ्चलको हरेक गाँउमा एक मैन्हा देखिने गाउँभरिको कसिङगर एक ठाँउमा एकत्रित गरिन्छ र फागु पुर्णिमाको रातिको अंतिम प्रहरमा त्यसमा आगो सल्काईन्छ । यसलाई स्थानीय भाषामा ‘सम्मत ‘ भनिन्छ । यसलाई पनि सम्भाव र सदभावको सुचक नै मान्न सकिन्छ । सम्मतको प्रदक्षिणा गरेर र त्यसको खरानी शरीरमा घसेर मानिसहरु विभिन्न बाजागाजाको साथ गाँउको हरेक घरमा घुम्न थाल्दछ । ‘ भले हो भले ‘ र ‘ सुनलो मोर कबिर ‘ भन्दै फगुआ लोकगीत गाँउदै हरेक घरदैलोमा फगुआ लोकगीत गायकदल पुग्दछ । प्रत्येक घरवालाले यथोचित स्वागत गर्दछ । रंग र अवीर हालेर पान र सुपारी खान दिएर खुल्ला हृदयले यश गायक दल लाई विदावारी गरिन्छ । यो धेरै राम्रो परंपरा हो तर अचेल गाउँलेहरुमा राजनैतिक मतमतान्तर एवं मतभेदले गर्दा यो परम्परा लोप हुदैगएको भान हुन्छ । यो समाजिक लोकोत्सव साँघुरो भएर पारिवारिक पर्वको रुपमा सिमित हुँदै गएको छ जुन सर्वथा शोचनीय र विचारनीय कुरा हो । पारिवारिक परिधिमा सीमित यस उत्सवलाई फेरि उन्मुक्त वातावरणमा ल्याउने जोरदार कोशिश हुनु नितान्त जरुरी छ ।

संक्षेपमा भन्दा फागु आमोद-प्रमोद , हास – परिहासको उल्लासमय र विलासमय लोकोत्सव हो । यसको संदेश ‘ सर्वे भवन्तु सुखिनः सर्वे संतु निरामया ‘ हो । समाजिक एकता , समता र समरुपताको यो पर्व हो । यसलाई यसै समाजिक र सांस्कृतिक संदर्भमा मनाउनु सर्वथा उपयुक्त होला । समयको साथ साथमा यसमा आएका केही विकृतिहरु र केही कुरुतिहरु लाई हटाउँदै यसलाई आफ्नो लोकपरंपरामा नै मनाउनु मुनासिव देखिन्छ ।

                               

प्रतिक्रिया