पि.सि.आर. को उपहार…..


  • प्रशान्त शर्मा

कोरोना कहर: लकडाउन र मध्यम वर्गीय जीवन
त्रि.वी होस्टलमा सरेको ७ दिन मात्रै भएको थियो, होस्टल पाएर हर्षित भएका म लगायत अरु थुपै विद्यार्थीहरू थियो । तिनिहरुको पनि होस्टल सर्ने क्रम बिस्तारै सुरु हुदै थियो, मेरो कोठा छेउका विद्यार्थीहरु त आएका पनि थिएनन् । होस्टलको नयाँ वातावरणमा घुलमिल हुनै लागेको थिए । लहरै लहरे भएका कोठाहरु मध्ये आफू पस्न आटेको कोठा आफ्नै हो या अरुको भनी दिमागले सोच्ने अवस्था थियो । त्यो अर्थात मेरो खुट्टालाई मेरो रुम सम्म पुग्न पूरा गरिसक्नु पर्ने पाइला याद नभएको अवस्था थियो । कोठा मिलाइ सकेर बल्ल आरामको श्वास मात्रै के फेरेको थिए, काठमाडौंका सिडीओ साहबको हस्ताक्षर सहितको सुचना भएको खबर माथी फेसबुक स्क्रोल गर्दा आँखा पर्यो, अौला रोकियो । सुचनामा उपत्यका खालि गर्न वैशाख १६ गतेसम्मको अन्तिम म्याद दिइएको थियो । सिडियो साहाबको त्यो सुचना निम्न र मध्यमवर्गीय परिवारबाट आउने विद्यार्थीका लागि उपत्यका छोड्न दिइएको अल्टिमेटम जस्तै थियो । विस्तारै भर्न लागेको त्रि वी का छात्र होस्टल पनि धमाधम खालि हुन थाल्यो । जसले जसरी बसको टिकट पाए घर फर्कन थाले । वैशाख १३ गते होस्टलमा बिताएको को त्यो रात अझै सम्झना गर्दा लाग्छ मानौ कुनै हरर मुभीको विशाल तर खन्डहरुमा परिनत हुन पर्खिरहेको कुनै पुरानो महलमा फसेको छु । होस्टल सरेको २ दिनमात्रै भएकोले कुनै साथि पनि चिनिसकिएको थिएन । पानी भर्ने क्रममा हल्का चिनजान भएकोहरु पनि घर पलायन हुन लागेका थिए, त्यहाँ आफ्ना कोही नभएर एकदमै एक्लो महसुस भयो ।

परिवारको माया
यता घरबाट फोनमा आमा पनि छोरा घर आइजा, छिमेकी अन्टिको छोरा पनि आइसक्यो, यस्तो महामारीको बेला घरबाट टाढा नबस भनी कहिले रिसाएर कहिले मायाले बारम्बार निर्देशनात्मक रुपमा नै आग्रह गर्दै हुनुहुन्थ्यो । वहाँ छोरा चाडै घर फर्कियोस भनि म प्रतिका आफ्नो निश्चल माया देखाइरहनु भएकै थिए यता म पनि आफुलाई असुरक्षित र एक्लो महसुस गर्न थालिसकेको थिए ।

१४ गते बिहान म पनि अब घर जानुपर्छ भनि निर्णय गरे र बसको टिकटका लागि आफूसँग भएको हरेक बसहरुमा फोन गर्न थाले । अन्ततः एउटा बसमा केबिनमा खालि छ सर अरु कुनैले खालि नै नरहेको भनेर जवाफ आयो । लामो बाटोमा क्याबिनको सिट पिडादायी नै हुन्छ भन्ने मलाई थाहा थियो । एकछिन त उदासिए फेरि मनमा आमालाई सम्झना गर्दै सोचे आखिर कोहीनकोही त्यस सिटमा पनि बसेर जाने नै छन, एकचोटि पुनः त्यो केबिनमा खालि छ भनी भनेको दाइलाई फोन गरे, यसपालि वहाँले भन्नू भयो, सर भोलिको ५/६ नम्बरको सिट खालि छ । भोलि अर्थात् बैशाख १५ गते मैले एक सेकेन्ड पनि न सोचि हस धन्यवाद दाइ भनी टिकट कन्फर्म गरे । म पनि उपत्यका खालि गर्ने ठुलो भिडको एक हिस्सामा सामिल भए । पुर्वनिर्धारित योजना आनुसार १५ गते साझ ६ बजे बस समाउन बल्खु पुगे,त्याहाँको दृश्य हेर्दा लाग्यो कि मानै उपत्यका खाली गर्ने कुनै प्रतियोगिता चलिरहेको छ, आँखा अगाडिको दृश्य हेर्दा सबै मानिसहरु माथि हाँस्न थाले-कस्तो भेडा रहिछन् सबै ! फेरि याद आयो आफू पनि यै भिडको हिस्सा छु – आँखा रसायो त्यतिकै मा बस पनि आइपुग्यो आफुले कनफर्म गरेको सिट पाउँदा आफुलाई भाग्यमानी ठाने । भोलि बिहान ६ बजे पुग्नुपर्ने थियो जाम का कारण दिउँसो १ बजे घर पुगे, त्यतिकै पनि बसको यात्र मलाई निकै असहज लाग्थ्यो यसपालि त झन १८-१९ घन्टा लगातार बसको यात्रा एकदमै थकित भइ घर पुगे।दिनभरि सुते बेलुकी साथीहरूले संग भेटघाट भयो पुरानै शैलीमा।

कोरोना टेस्ट, नतिजा र सावधानी
बैशाख १७ गते शुक्रबार का दिन घरायसी कामले नै सदरमुकाम जलेश्वरमा रहेको मामाघर गएको थिए, त्यतिकैमा कुन्नि के आयो मनमा बसमा स्वास्य अवस्था थाहा नभएको कति अपरिचित व्यक्तिको सम्पर्कमा आएकोछु, कहिकदाचित आफू पनि संक्रमित भएको रहेछु भने घरपरिवार लगायत सम्पुर्ण समाजलाई नै जोखिममा राख्न मेरो आत्माले मलाई अनुमानि दिएन । मैले आफ्नो कोरोना परिक्षण (पी.सी.आर) गराउने निर्णय गरे । मामा घरबाट नजिकै रहेको जिल्ला अस्पताल मा स्वाब दिएको भोलिपल्ट शनिबार भएकोले रिपोर्ट का लागि आइतबार बिहान १० बजे पछि मात्रै आउन भनियो । त्यसै दिन साझ घर नजिक मै भइरहेको भोजमा पनि सहभागी भए । सब थोक साधारण थियो, मान्छे लाई म आफू भन्दा टाढै बस्न भन्थे तर कसैले मानेनन् अझ परिवारका सदस्यले त थोरै पनि सावधानी अपनाएनन् । दाइ हेमराज त संगै सुत्नु भो र संगै एउटै थालमा खाना समेत खानुभयो । मेरो स्वास्थ्य अवस्था पनि राम्रै थियो कुनै पनि किसिमको लक्षण दिखाइरहेको थिएन । त्यही भएर म आफू संक्रमित नभएको कुरामा निश्चित नै थिए । घरकै कामले गर्दा आइतबार फुर्सद भएन अर्कोदिन अर्थात सोमबार, बैशाख २० गते दाइलाई कामले नै मामाघर (जलेश्वर) जानुपर्ने भएकोले वहाँ लाई नै रिपोर्ट ल्याइदिन भनेको थिए । सोमबार दिउँसो वहाँको फोन आयो – भन्नुभयो पोजेटिभ आएछ, मलाई मजाक लाग्यो – फेरि सोधे साच्चै हो र ! अ् साच्चिकै यस्तो कुरा पनि कोइ झुट भन्छ ! मैले भने त्यसो भए रिपोर्ट ह्वाटसैप गर्नु । एक छिन पछि ह्वाटसैपमै दाइको म्यासेज आयो, सच्चै कोरोना पोजेटिभ रहेछु ! एकछिन त रिपोर्ट माथि नै विश्वास भएन, कोरोना मजाक जस्तै लाग्यो । तै पनि आमालाई भने – आमा म संक्रमित छु आइसोलेट गर्नुस मलाई, आमा निकै चिन्तित हनुभयो, तर मेरा निम्ति अझै विश्वास लागेको थिएन, बारम्बार रिपोर्ट हेरिरहे ।

स्वाद र गन्ध सबै हरायो
त्यसैदिन सोमबार बेलुका हल्का ज्वरो जस्तो महसुस भयो साथै घाँटी मा खस्रो -खस्रो महसुस हुन थाल्यो । म निकै डराए, यति हुदाँ चाहि आफू संक्रमित भएछु भनेर विश्वास भयो । मंगलबार बिहान उठ्दा मैले स्वाद र सुगन्ध दुवै गुमाइसकेको थिए । चारैतिर फोन हुन लाग्यो घरपरिवार का मान्छे चिन्तित थिए, चिकित्सक को सम्पर्कमा घरमै उपचार चल्यो र सबै जनाको स्नेह ले चौथो दिन मेरो घाँटी राम्रो भयो र गुमाएका स्वाद र सुगन्ध पनि विस्तारै आउन थाले, चिकित्सक का आनुसार अब म खतरा भन्दा बाहिर छु, तर यसक्रममा म शारीरिक रुपले एकदमै कमजोर भएको रहेछु र १० दिन आझै आइसोलेसन मा वस्नुपर्ने थियो मैले ।यति सम्म सब ठिक थियो, म निको हुन लागेको थिए या भनौ निको भइ सकेको पनि थिए सायद । म सतर्क थिए तर आफू कोरोना पोजेटिभ रहेको कुरा कसै संग लुकाएको भने थिइन । सबैलाई सतर्क गराएको थिए तर अचम्म त के भयो भने, कोरोना बाट ठिक भइसक्दा मात्रै म संक्रमित छु भन्ने कुरा गाँउभरी हल्ला भयो, चर्चाको विषय बन्यो । मेरो जस्तै लक्षण भएका अरु थुप्रै थिए गाउँमा र अहिले पनि छन् । कोरोना समुदाय स्तरमै फैलिएको छ भन्ने कुरा सरकारलाई पनि थाहा छ र जनतालाई पनि । तर म र लक्षण भएका अरु गाउँलेहरुमा फरक यति थियो कि मैले पिसिआर टेस्ट गरेपछि आफू कोरोना संक्रमित रहेको पक्का थियो भने अरु लाई आफू संक्रमित होइन भन्नेमा उ दृड्ढ थिए । मेरा निम्ति कोरोना संक्रमन भन्दा पनि बढि पिडादायक समाज निर्मित समस्याहरु हुन थाले । पर्याप्त ज्ञानको अभाव र कोरोना सम्बन्धि चेतनाको अभावमा धेरैले यसलाई गलत तरिकाले बुझेका छन् ।

समुदायबाट मायाको सट्टा अपहेलना
दूध लिएर आउनेलाई गाउँका अरु मान्छे ले फलानोको घरमा नजाउ, त्यसको छोरालाई क‍ोरोना लागेको छ रे, उसको घर अगाडिको बाटोमा कोहि हिड्दैन तपाईं दूध कसरी पुगाउनु हुन्छ । र साच्चै हो पनि, मेरो घर अगाडिको बाटोमा मान्छेको आवतजावत कम भएको थियो, जानेले पनि मात्रै मेरा घर अगाडि मास्क लगाउने, सारी, कपरा वा गमछा ले नाक छोप्ने केही अगाडि पुगेपछि हटाउने गर्नेगरेका मैले स्वयं देखेको थए । यस्तो गर्ने अशिक्षित मात्र हैन कथित शिक्षित व्यक्तिको पनि कमी थिएन । टिउसन पढाईरहेको एक छिमेकी अंकलको टिउसनमा अचानक विद्यार्थीहरू आउन बन्द गरे, मरो टोलमा अचानक तरकारी बेच्नेहरु आउन बन्द गरे । र यो सब त्यसबखत सुरु भयो जब म संक्रमन भन्दा बाहिरिएका थिए । समाजमा रहेको अशिक्षा, पछ्यौटेपन, कोरोना प्रतिको मानिसहरुमा रहेको गलत बुझाईले हर सम्भव समस्याहरु दिइरह्यो ।

अर्कोतर्फ गाउँमा कोरोना संक्रमनको वर्तमान अवस्थालाई हेर्ने हो भने स्थानीय स्वास्थ्यकर्मी र अौषधि पसलेका अनुसार ७५ प्रतिशत मानिसमा कोरोना संक्रमनको लक्षण देखापरि रहेको छ जसको आधारमा हामी कोरोनाको लक्षण अनुसार दिइनुपर्ने अौषधीहरु चलाइरहेका छौ । ती सम्पूर्ण व्यक्तिहरु समाजमा निर्बाधरुपमा चहलपहल गरिरहेका छन् र संक्रमन फैली रहेको छ ।

टियूमा समाजशास्त्रको दोस्रो सेमेस्टरमा एउटा पेपर Sociology of Health पनि पढ्दैछु । समाजशास्त्रमा स्वास्थ्य सम्बन्धि कुरा किन राखिएको छ भन्ने बल्ल ज्ञान हुदैछ । यस पेपरबाट सैद्धान्तिक ज्ञान बटुलिरहेको मैले आफू कोरोना संक्रमित हुदा व्यवहारीक ज्ञानमा पनि पोख्त हुने मौका पाए ।

सुरुमै हामीले सावधानी अपनाउने तरिको रुपमा भौतिक दुरीको बदलामा सामाजिक दुरीलाइ लियौँ । सामाजिक दूरीको तात्पर्य वा भन्न खोजीएको कुरा भौतिक दुरी नै थियो तर संक्रमितबाट सबैले सामाजिक दूरी नै बनाए । संक्रमितहरुलाइ कुनै अपराधीलाई गरिने जस्तो ब्यवहार गरियो । महामारीप्रति हाम्रो बुझाई कति सिमित र अवैज्ञानिक छ भन्ने कुरा त यसअघिको लकडाउनमा जब बाहिर बाट आएकाहरु र संक्रमितलाई क्वारेन्टाइनमा आइसोलेट गरेर राखिन्थ्यो, त्यसलाई समाजले कुनै अपराध गरेबापत जेलमनरा जाकिए समान बुझ्थे । त्यसबेला भारत न्यूज मिडियामा क्वारेन्टाइन जान नचाहने संक्रमितहरु माथि प्रशासनद्वारा अत्याधिक बल प्रयोग भएको भिडियोहरु छ्यापछ्याप्ती देख्न सकिन्थ्यो । सरकार र मिडियाद्वारा त्यसबखत तब्लीगी जमातलाई कोरोना फैलाएको एकतर्फी आरोप थोपरियो, कोरोना बम भनेर चित्रण गरियो ।

समाजशास्त्रमा Latent function भन्ने जार्गन खुब प्रयोग हुन्छ जसको मतलब सामाजिक संरचनाका त्यस्ता उपज वा कार्य हुन् जो अनपेक्षित हुनेगर्छ वा जानाजाज गरिएको हुदैन । त्यसबखत सरकारले आफ्नो असक्षमता ढाक्न चाइना र मुस्लिम समुदायलाई अपराधी घोषित गर्यो तर भैदियो के भने, समाजले कोरोना संक्रमितलाई अपराधीको नजरले हेर्न थालियो । त्यसको प्रभाव सामाजिक र भौगोलिक रुपमा जोडिएको छिमेकी देश नेपालमा नपरेको भन्न सकिन्न ।

मेरो गाउँमा पनि ठिक यही भईरहेको छ । Social Stigma (सामाजिक कलंक) का कारण मानिसहरु पि.सि.आर टेस्ट गर्न डराईरहेका छन् । समाजले उसलाई कोरोनाको लक्षणका साथ त्यतिबेलासम्म सहर्ष स्विकार गरेको छ जबसम्म उसको पिसिआर रिपोर्ट पोजेटिभ देखिदैन । आफू संक्रमित छु भन्ने थाहा हुदाहुदै पनि मानिसहरू कोरोना परिक्षण गराउन मानिरहेका छैनन् । किनभने परिक्षणको उपहारस्वरूप समजले संक्रमितलाई बहिसकृत गर्छ जसकारण संक्रमित पनि समाजलाई उपहारस्वरूप कोरोना फैलाईरहेको छन् । संक्रमण प्रमाणित भएपश्चात भोग्नुपर्ने सामाजिक दूरीका कारण मानिसहरू परिक्षण बाट टाढिएका छन् र मेरो गाउँमा लगायत देशका अधिकांश ठाउँमा यो पनि तिब्र रुपमा संक्रमन फैलिनुको मुख्य कारण बनिरहेको छ ।

सरकारद्वारा कोरोना सम्बन्धि पर्याप्त जनचेतना र उचित सतर्कतामा कमीका कारण पनि यस्तो अवस्था देखिएको हो । मुख्यतः हाम्रो समाजमा पहिलेदेखि नै जनस्वास्थ्यको मामिलालाई अतिकम महत्त्व दिने गरिन्छ त्यसमाथि प्रधानमन्त्रीकै कोरोना केहीपनी हैन जस्तो अवैज्ञानिक वक्तव्यबाजिले अशिक्षित जनतामा कोरोनालाई सामान्यरुपमा लिने मनोविज्ञानमा बल पुगेको देखिन्छ ।

जन चेतनाको खाँचो
मैले समयमै कोरोना परिक्षण गराई आफ्नो दायित्व पूरा गरे र खुसि यस कुराको छ कि मैले आफूबाट आरुकोहीलाई संक्रमित हुन दिइन । अन्त्यमा यहीँ भन्न चाहन्छु कि कोरोना परिक्षण (पी.सी.आर) गराउनु अपराध होईन, कोरोना पोजेटिभ आउनु कुनै पाप होइन, संक्रमित लाई माया र प्रेम गरौं । पि.सि.आर गराए बापत मैले पाएको उपहार अरु कसैले पाउन नपरोस् । शंका लागेमा परिक्षण गराउ आफू र आफ्नो घरपरिवार लगायत समाजलाई सुरक्षित राख्न आफ्नो सामाजिक दायित्व पूरा गरौ किनभने यस्तो महामारी बाट आपसी सहयोग, सहचार्य र सामाजिक सदभाव को मदतले मात्र पार पाउन सकिन्छ नाकी हेला, तिरस्कार र अपमानले ।

लेखक समाजशास्त्रका बिद्यार्थी हुन्

                               

प्रतिक्रिया