सुजिता ठाकुर जमिन माथि कि मुनि?


  • thebuddhaexpress

महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुर लापता भएको २५ दिन बितिसक्दा पनि कुनै अतोपतो लागेको छैन । ससुराली पक्षले सुजाता अर्कै जनासंग भागेको बताउँदै आएका छन् भन्ने रतौली माइते रहेको परिवारजन्यले हत्या गरि खेतमा पुरेको आरोप लगाउंदै आएका छन् । जिल्ला प्रहरीले जाहिरी दर्ता गर्न नमाने पछि माइते पक्षले महिला सेलमा निवेदन मात्र दिएका छन् । यति दिन बितिसक्दा पनि प्रहरीले चासो लिएर अनुसन्धान नगरेको पिडित परिवारको कथन छन् ।

वैदेशिक रोजगारी शिलशिलामा साउदी रहेको सुजिताको भाई जितेन्द्र पाण्डेले सामाजिक संजाल मार्फत यस घटनाको उजागर गर्दै ससुराली पक्षले नै दिदीको हत्या गरि आफ्नै खेतमा पुरेको आरोप लगाएका छन् । सुजाताको पांच वर्षीय छोराको एउटा विडियो पनि सार्वजनिक गरिएको छ जसमा ति बालाकले आमाको हत्या हजुरबुवा, बुवा र काकाले गरेको बताएको छ ।

प्रहरीको चासो नदेखे पछि साउदीबाट नै जितेन्द्रले सामाजिक अभियन्ता सरोज रायलाई सहयोगको लागि आग्रह गरे पछि शुक्रवार अभियन्ता राय रतौली गाउँ पुगेर पिडित परिवारसंग भेटेका थिए ।

शनिवार अभियन्ता राय प्रदेश न. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटि यस घटना वारे ध्यानाकर्षण गराएको छ । अभियन्ता रायले यस घटनाको उठान गरेपछि प्रहरी पनि हर्कतमा आएका छन् । शनिवार केहि प्रहरी आएर पिडित पक्षले लगाएको आरोप अनुसार सुजाताको शवलाई गाड़ेको ठाउँको निरिक्षण समेत गरेका छन् । यति मात्र होइन, यस घटनाको छानविनको लागि मधेशी आयोगले पनि चासो लिएको छ ।

यस घटना वारे थप जानकारी लिन बुद्धा एक्सप्रेस टिमले अभियन्ता राय संग सम्पर्क गर्दा उनले दिएको जानकारीले हाम्रो पनि होश उड्यो । उनि शुक्रवार असार ११ गते सुजाताको माइते रतौली पुगेर घटना वारे बुझेका थिए ।

अभियन्ता रायले गरेको सामाजिक अनुसन्धानको पूर्णपाठ उनकै भाषामा:

“साँझ ७ बजे हामी सुजाताको घर पुगे । घरमा सुजाताको बुवा कामेश्वर पाण्डे, आमा र दुइ कान्छो भाइ आकाश र शिवम घर मै थिए । मेरो आउने खबर वारे साउदी रहेका सुजाताको दाइ जितेन्द्रले घर परिवारलाई दिसकेको थियो । बुवाले विस्तारमा घटना वारे बताउन सुरु गरे ।

घटना २५ दिन पहिला जेष्ठ २० गते हो । विहान करिव आठ बजे सुजाताले बुवालाई फोन गरेर कस्तो घरमा विहे गराई दिएको भनेर रिस पोखेकी थिइन् । फोनमा कुरा भई रहंदा पछाडीबाट झगडाको पनि आवाज आइराखेका थिए । केहि बेर पछि सुजाताको देवर रुपेश ठाकुरले पनि फोन गरेर बुवा कामेश्वरलाई तुरन्त भमरपुरा आउन भन्यो । बुवा जान तरखर मै थियो कि फेरी रुपेशको फोन आयो र उनले आउनु पर्दैन झगडा शान्त भयो भनेपछि त्यो दिन माइतेबाट सुजातासंग भेट्न कोइ गएन । बुवाले पछि सुजाताको मोबाइलमा पटक पटक फोन गर्दा स्विच अफ आएको थियो । रुपेशको मोबाइलमा बुवाले ११:३० बजे फोन गर्दा उनले उठाएन । आधी घण्टा पछि रुपेशले आफै फोन गरेर सुजाताले कोठामा ताला मारेर घर छोडेर भागेको जानकारी बुवालाई दियो ।

तर राति सम्म पनि छोरी संग कुरा नभए पछि अर्को दिन विहान आठ बजे सुजाताको बुवा र आमा भमरपुरा पुगे । रतौली बाट भमरपुरा एकदमै नजिक मोटर बाटो दश मिनेटको रहेछ । सुजाताको कोठामा लागेको ताल्चा फोड्न लगायो । सुजाताको कपडा देखि सबै समान यथावत थियो । दराजमा सुजाताको गरगहना पनि यथावत देखेर बुवाको मनमा शंका जन्मिन थाल्यो । तर माइते पक्षले लगातार सुजाता घर छोडेर अर्कै केटासंग भागेको मात्र भनिराखे ।

दश वर्ष पहिला सुजाताको विहे पतिराम ठाकुरको जेठो छोरा मुकेश संग भएको थियो । यस अगाडी करिव १४-१५ महिना पहिले सुजातालाई ससुरा, सासु, श्रीमान र देवर सबैजना मिलेर मारपिट गर्दा सुजाताको आँखामा चोट लागेको थियो जसको उपचार पछि जलेश्वर अस्पतालमा भएको थियो र प्रहरी समेतमा निवेदन परेको थियो । पछि श्रीमान र देवरले अब आइन्दा मारपिट नगर्ने शर्त सहित बोंड बनाएपछि प्रहरीले छोडेको थियो ।

यहि विचमा सुजाताको चिनजान कतारमा कार्यरत पिपरा गाउँपालिका अलिपट्टी निवासी विजय मुखिया संग सामाजिक संजाल मार्फत भएको थियो । बिचबिचमा विजय संग सुजाताको कुराकानी फोन मार्फत भईरहन्थियो । चार-पांच महिना पहिला विजय कतारबाट गाउँ फर्केका थिए । सुजाता आफ्नो माइते आईराख थिइन् । यहि क्रममा विजयसंग एकपल्ट माइतेमै सुजाताको भेटघाट पनि भएको थियो । घटनाको एक दिन अगाडी मात्र सुजाता आफ्नो आमासँग जनकपुर किनमेल गर्न गएकी थिइन् तर घरमा कुनै पनि विवाद वारे चर्चा गरिनन् ।

वारम्बार ससुराली पक्षले विजयसंग भागेको आरोप लगाए पछि सुजाताको बुवाले नै प्रहरीमा निवेदन दिएर विजयलाई पक्राउ गर्न लगाए तर दिनभरीको सोधपछि केहि ननिस्के पछि सात दिन सम्म गाउँ नछोड्ने शर्तमा विजयलाई रिहा गरि दिए । घरपरिवारको शंका झन् गहिरो हुन् थाले ।

घटना भएकै दिन सुजाताको ९ वर्षीय छोरी आंचल र ५ वर्षीय छोरा रौनक दुवैलाई ससुराली पक्षले जनकपुर बस्दै आएका फुफु अन्जु ठाकुर काँहा पठाई दिएका थिए र अर्को दिन वापस लिएर आएका थिए । घटनाको केहि दिनपछि सुजाताको छोरा रौनक रतौली आए । सुजाताको आमा र छोराले आपसमा कुरा गरेको एक विडियो दाई जितेन्द्रले सार्वजनिक गर्यो जसमा रौनकले आमालाई मारेको, जिउमा टेप बाँधेर घांटी रेटेको, शवलाई फ्रिजमा राखेको आदि इत्यादि पोल खोलेका छन् । यो विडियो जितेन्द्रले फेसबुकमा राखेपछि ससुराली पक्षमा चिसो पस्न सुरु भयो ।

त्यहि बिचमा कसैले फोनबाट सुजाताको बुवालाई जानकारी गरायो कि ससुराली पक्षले आफ्नो खेतमा ७-८ फिट गहिरो खाल्डो खनेको थियो जो अहिले माटोले भरि दिएका छन्, सुजाताको शव त्यंही पुरिएको हुनुपर्छ ।

यता सुजाताको दाई जितेन्द्रले लगातार सामाजिक संजालमा सबै कुरा पोस्ट गरि राखे जसबाट ससुराली पक्ष पनि घबराई सकेका थिए । सुजाताको ससुर पतिरामले कुरा मिलाउन कामेश्वरलाई वारम्बार दवाब दिराखे । जाने गई सक्यो अब नाति-नातिनीको जीवन बनाउनुस भनेर कामेश्वर लाई मनाउन पतिरामले पटकपटक प्रयाश गरे ।

त्यहि बिचमा जितेन्द्र र रुपेश बीच फोनमा कुराकानी भयो जसमा जितेन्द्रले दिदीको अन्तिम संस्कार जसरि पनि गर्नुपर्छ त्यसैले शवलाई गाडेको ठाउँबाट निकाल्न रुपेशलाई अनुरोध गर्छ र रुपेशले यस्तो अवस्थामा शवलाई निकाले भन्ने झन् बवाल हुन्छ भन्दै गरेको सुन्न पाइन्छ ।

छोरीको हत्या नै भएको प्रमाणहरु अगाडी आउन थाले पछि जितेन्द्रले साउदी बाट नै बुवालाई पतिरामको कुनै दवाबमा नआई प्रहरीमा मुद्धा दर्ता गर्न वारम्वार भनेपछि असार ७ गते माइते पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहिरी दर्ता गराउन गए तर एसपीले दर्ता गर्न मानेन, हार मानेर महिला सेलमा निवेदन दिएर फर्के । जबकि एसपीलाई सबै प्रमाण वारे जानकारी गराउंदा पनि चासोको साथ अनुसन्धान नभएको आरोप पिडित पक्षको रहेका छन्।”

अभियन्ता रायको भनाई अनुसार यो जघन्य अपराधको मामिला हो, एकदम open case हो, यति प्रमाण भएर पनि दोषीलाई सजाय भएन भन्ने प्रहरी प्रशासनबाट सबैको विश्वास उठ्ने छ । यदि जिल्ला प्रहरीले निस्पक्ष अनुसन्धान गरेन भन्ने हामी अन्य निकाय समक्ष जान्छौं तर यस घटनालाई ढाकछोक गर्न दिदैनौं ।

पहिला पनि अभियन्ता रायले यस प्रकृतिको घटनामा आन्दोलन समेत गरेर पिडितलाई न्याय दिलाएका छन् ।

अभियन्ता सरोज राय यस घटनामा चासो देखाउन सुरु गरेपछि आफुहरुको आशा जागेको सुजाताको बुवा कामेश्वरले बुद्धा एक्सप्रेसलाई बताए ।

                               

प्रतिक्रिया