नेपालको बजरंगी भाइजानले निर्माण गरे २५ बेडको आइसोलेसन केन्द्र


  • thebuddhaexpress

सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा न. १० स्थित श्री महेन्द्र रत्न जगरनाथ लक्ष्मीनियाँ मा.वि. सितापुरको परिसरमा सामाजिक अभियन्ता सरोज रायको पहल र नेतृत्वमा निर्माण गरिएको ‘टीएमएनसी आइसोलेसन सेन्टर’ नामक २५ बेडको कोविड -१९ अस्थाई आइसोलेसन केन्द्रको जेष्ठ २७ गते विहिवारको दिन एक कार्यक्रम बीच उद्धघाटन गरिएको छ ।

देव्रेबाट डीएसपी उद्धव सिंह भाट, सामाजिक अभियन्ता सरोज राय, नगरप्रमुख देवानन्द र विधालय व्यवस्थापन अध्यक्ष रामबाबु

आइसोलेसन केन्द्रको कार्यकारी निर्देशक समेत रहेको अभियन्ता सरोज राय, नगरप्रमुख देवानन्द महतो, इलाका प्रहरी प्रमुख डिएसपी उद्धव सिंह भाट र विधालय व्यवस्थापन समिति अध्यक्ष रामबाबु राय यादवले संयुक्त रुपमा आइसोलेसन केन्द्रको उद्धघाटन गरेका छन् ।

उद्धघाटन कार्यक्रमको अध्यक्षता गरेको अभियन्ता रायले उक्त आइसोलेसन केन्द्र हालको संक्रमितको पूर्णरुपले निशुल्क उपचारको साथ तेस्रो लहर आउने सम्भावना समेतलाई ध्यानमा राखी स्थापना गरिएको जानकारी दिए । डाक्टरको सेवा लगायत अन्य जाँच, औषधी, पोषिलो खाना लगायत सम्पूर्ण सेवा निशुल्क हुने उनले बताए । सो सेन्टरका लागि पाँच जना डाक्टर, केही नर्स तथा अन्य प्राविधिक व्यक्तिको व्यवस्था गरिएको छ, उनीहरु सबैजनाले निशुल्कै सेवा गर्ने बताइएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै अभियन्ता रायले टीएमएनसी सदस्य सप्तरी बोधेबर्साइनको आलोक यादवको कोरोनाबाट भएको असमायीक मृत्यु प्रति दुख व्यक्त गर्दै उक्त आइसोलेसन केन्द्र उंहाको सम्झनामा समर्पित गरेको बताए ।

आइसोलेसन केन्द्र स्थापनाको प्रशंसा गर्दै प्रमुख अतिथि नगरप्रमुख देवानन्दले युवाहरुको प्रयाश र निस्वार्थ योगदानलाई बरहथवाको माटोले कहिले विर्सन नसक्ने बताउंदै यस्तो उधारनीय कार्यमा सबैलाई जुट्न आग्रह गरे ।

कार्यक्रमको विशिष्ट अतिथि इलाका प्रहरी प्रमुख डिएसपी उद्धव सिंह भाटले अभियन्ता रायले गर्दै आएको विभिन्न सामाजिक कार्य प्रति निकै प्रभावित रहेको बताउंदै आइसोलेसन केन्द्रलाई चाहिने आवश्यक सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिवद्धता गर्दै यस्तो मानवीय कार्यमा युवाहरुको सक्रियता सिंगो देश कै लागि गौरवान्वित रहेको बताए ।

कार्यक्रमको अर्को विशिष्ट अतिथि विधालय व्यवस्थापन समितिको अध्यक्ष रामबाबु राय यादवले कोरोना संक्रमितको उपचार निकै चुनौतीपूर्ण र जोखिम रहेको भए तापनि मानिसको ज्यान जोगाउने संवेदनशील विषय भएकोले विधालय परिवारले आइसोलेसन केन्द्र निर्माण गर्न विधालय परिसर भित्रको दश कोठे भवन र विधालय संग रहेको अन्य साधन सहयोग पुर्याउन पाएकोमा आफुलाई निकै सन्तोष मिलेको बताए ।

आइसोलेसन केन्द्रको व्यवस्थापनमा भोलेन्टियर सहयोग दिराखेका सर्लाही कोविड-१९ रापिड रेस्पोन्स टिमको संयोजक नविन यादवले देशकै नमुना आइसोलेसन केन्द्र बनाउन आफ्नो टिम सक्दो प्रयाश गर्ने बताए ।

अभियन्ता रायले दिएको जानकारी अनुसार आइसोलेसन निर्माणमा भोलेन्टियर्स कार्प नेपालले २५ थान आक्सिजन सिलिन्डर सहित अन्य स्वास्थ सामग्री उपलब्ध गराएका छन् । यस्तै, बालविकास नेपालले केहि थान थर्मलगन र सेनेटाइजर उपलब्ध गराउनुको साथ केन्द्रलाई चाहिने औषधी र खादान्न सामग्रीमा पनि सहयोग गर्ने संस्थाको अध्यक्ष विरेन्द्र यादवबाट आश्वासन आएको छ । भेनस अस्पतालले विरामीको निशुल्क ल्याब परिक्षण गर्ने जिम्मा लिएका छन् । जनकल्याण समाजले ४० थान नेवोलाइजर र संजय पुस्तक भण्डारले केहि थान मास्क र फेस शिल्ड सहयोग गरेका छन् । लालबाबु राय, महेन्द्र ठाकुर र मदन गुप्ताले २५ थान औषधी राख्ने स्टेन्डको साथै स्थानीय केहि दाताबाट आर्थिक सहयोग समेत गरेका छन् ।

टीएमएनसी आइसोलेसन केन्द्र संचालनको लागि गठन गरिएको संचालक समितिको कार्यकारी निर्देशकमा अभियन्ता सरोज राय, व्यवस्थापन संयोजकमा नविन यादव, आर्थिक संयोजकमा बिरेन्द्र यादव, यातायात व्यवस्थापन संयोजकमा सरोज कुशवाहा, खादान्न र औषधि संयोजकमा घनश्याम झा, प्रचार प्रसार संयोजकमा कृष्ण दाहाल, स्वंमसेवक संयोजकमा संजिव यादव, मेडिकल इन्चार्जमा डा. राजेश यादव र विधालय बाट एकजना रहने गरि गठन गरिएको छ ।

उद्धघाटन कार्यक्रममा वार्ड अध्यक्ष राम जिनिस साह, प्रधानाध्यापक देवीदत्त प्रसाद यादव, डा. सत्यनारायण यादव, विसिएनको उपाध्यक्ष राधा मतांगी, बालविकासको सुनिल यादव, मेडिकल टिमबाट ड़ा. धर्मेन्द्र यादव, डा. रंधिर यादव, हेल्थ असिस्टेन्ट पप्पु यादव र खुसीलाल यादव, फिजियोथेरापिस्ट अमर महतो, पत्रकार विश्वनाथ ठाकुर लगायत स्थानीय बुद्धिजीवी र भलभला व्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।

आइसोलेसन केन्द्रमा भर्ना भएका हरेक विरामीको लागि टुथब्रस र पेस्ट, साबुन, सेनेटाइजर, मास्क, चपल्ल, नेवोलाइजर, चवनप्रास, वेसारयुक्त दुध, काढा आदिको व्यवस्था गरिएको र दक्ष मेडिकल टिमबाट उपचार हुने व्यवस्था मिलाइएको जानकारी अभियन्ता रायले दिए । साथै, ओपिडी सेवा र पिसिआर जांचको लागि चांडै व्यवस्था मिलाउने जानकारी समेत उनले दिए । 

सामाजिक अभियन्ता सरोज रायको नेतृत्वमा सर्लाही बरहथवामा निर्माण भएको २५ बेडको आइसोलेसन सेन्टरको उद्धघाटन

                               

प्रतिक्रिया