कलैया, बारा। चुरे तथा वनजंगल संरक्षण अभियानले निजगढ नगरपालिका अन्तरगतका विभिन्न चुरे क्षेत्रको खोलामा उत्खन्नका लागि लगाईएको ठेक्का रद्द गर्न प्रजिअ लाई ज्ञापन पत्र सहित दबाव मुलक बिरोध र्याली समेत निकालेका छन ।
अभियानका बारा जिल्ला संयोजक सुरज गुप्ताको नेतृत्व तथा लोसपा नेपालका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीको प्रमुख आतिथ्यमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल लाई ज्ञापन पत्र बुझाएका छन्।
अभियन्ताहरु ले अगुवाइ गरेको विरोध र्याली कलैयाको रामजानकी मंदिर बाट शुरुआत भइ कलैया बाजार भरी परिक्रमा गरी अन्त गरेका थिए । र्यालीमा, (चुरे मास्न पाईदैन, निजगढ नगर प्रमुख मुर्दाबाद, चुरे दोहन बन्द गर, राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति मुर्दाबाद, चुरे क्षेत्रको ठेक्का बदर गर भन्ने बिभिन्न नाराबाजी गर्दै बारा जिल्लाको निजगढ नगरपालिकाले चुरेक्षेत्रको खोला उत्खननका लागि लगाइएको ठेक्का तत्काल वदर गर्न माग गरेका छन ।
नदि दोहनबाट कहिलै नआएको बाढी यो सालमा पुरै नगरपालिका नै बाढीको प्रभावमा परेको र बाढीको कारणले लालबकैया खोलाको राजमार्गमा रहेको पुल नै भत्कीनबाट बचेको थियो । लालबकैया खोला संग दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ जोडिएकाले भोलीको दिनमा चुरेमा हुने उत्खननले विमानस्थल परियोजनालाई पनि असर पार्ने हुनाले सम्बन्धित निकायलाई समयमै ध्यान पुर्याउन उनीहरुले आग्रह गरेका छन ।
डा. कमरुल्लाह अंसारीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले चुरे तथा वनजंगल लाई संरक्षण र सम्बर्द्धनमा जोड दिनुको सट्टा चुरे दोहन र अवैध ठेक्का दिनानुदिन बढाउदै जानुले निकट भविष्यमा बारा लगायत सिंगो मधेश र देशको अहित हुने हुनाले यस्ता कार्य अविलम्ब रोक्न समिती लाई अनुरोध गरेका छन ।
बारा जिल्लाको निजगढ नगरपालिकाले चुरे क्षेत्र भित्रमा पर्ने वडा नं ३ को वगरे खोला, वडा नं १२ को भक्तलाल , वडा नं १ को धन्सार, वडा नं ४ को वकैया र वडा नं १३ को शक्ति खोलामा नदि जन्य पदार्थ उत्खनन तथा निकासीको ठेक्काका लागि गत साउन १३ गते विज्ञापन निकालेको थियो। सोहि विषयमा चुरे अन्तरगत पर्ने कुनै पनि वस्तुमा ठेक्का लगाउनका लागि वन कार्यालय संग समन्वय गर्नुपर्नेमा चुरे अन्तरगतको नदिलाई आर्थिक लाभका लागि दोहन गर्ने कुनै पनि कार्यक्रम नगर्न वन कार्यालय आपती जनाएपछि ठेक्का प्रक्रिया रोकेको थियो ।
तर पुर्व राष्टपति डा रामवरण यादवले अगाडी बढाएका राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार काठमाण्डौ र जिल्ला समन्वय समिति बाराले नदि उत्खन्नका लागि नीजगढ नगरपालिकालाई सहमती प्रदान गरेपछि पुनः ठेक्का लगाई उत्खन्नको प्रक्रिया अगाडी बढाइएको छ।
उक्त विरोध प्रदर्शनमा चुरे अभियानकर्ताहरु राज कुमार यादव, शैलेंद्र यादव, बिरेन्द्र यादव, विष्णु जैसवाल, सल्लाहकार ठाकुर साह कानु, ऋषि कुमार यादव, राजन कुमार साह, मुन्ना कुमार साह, विवेक गुप्ता, मदन गुप्ता लगायत सयौं अभियानीहरुको उपस्थिति रहेको थियो।
डिभिजन वन कार्यालय बारा, निजगढ नगरपालिका र राष्ट्रपति चुरे तराई मधेश सरंक्षण समितिको मिलोमतोमा निजगढ नगरपालिकाले चुरे क्षेत्रमा पर्ने नदीहरुको ठेक्का लगाएको चुरे तथा वनजंगल संरक्षण अभियानले आरोप लगाएका छन । उनीहरुको अनुसार सो ठेक्का अविलम्ब रद्द नगरे सशक्त विरोधमा उत्रने चेतावनी समेत दिएका छन ।


