हैवीवेट नेताहरु भर्सेज कृष्णा को क्रेज


  • प्रशान्त शर्मा

पछिल्लो समयको राजनीतिक अभ्यासमा चुनावलाई ठूलो आर्थिक लगानी गर्नसक्ने हैवीवेटहरु बीचको प्रतिस्पर्धा बनाइएको छ । हैवीवेट यस अर्थमा कि एक सामान्य मानिसलाई राजनीतिमा आउने वा चुनाबमा उठ्ने ल्याकत र इच्छाशक्ति भएपनि निर्वाचनका निम्ति चाहिने तामझाम, तडकभडक, लाबालस्कर र व्यापक खर्च गर्ने सामर्थ्य नभएकै कारण कतिपय स्वच्छ छवि भएका असल मान्छेलाई राजनीतिक दलले प्राथमिकतामा नराखी चुनावको टिकट वितरण गर्ने परम्परा रहेको छ । यस्तै भ्रष्ट राजनीतिक अभ्यासको विपरीत एक निम्न वर्गीय र मधेसी समुदाय भित्र रहेको जातीय वर्गीकरणको पदसोपानमा समेत तल्लो स्थानमा रहेको, पेसाले हास्य कलाकार कृष्ण कुमार महतो धनुषा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका लागि आफूलाई स्वतन्त्र उम्मेदवारका रुपमा उभ्याएका छन् । महतो आफ्नो सरल, सहज र सादगीपुर्ण निर्वाचन प्रचार प्रसारका निम्ति निकै चर्चित पनि हुन थालेका छन् ।

उनी एक अटो रिक्सामा विहानै निस्कने गर्छन् । ५-१० जना सहकर्मी साथीहरू संग चुनाव प्रचारप्रसार गर्न उनी पूर्व निर्धारित गाउँमा पुग्छन् । वर्तमान दलीय राजनीतिको बेतिथी वारे सहकर्मी साथीहरूको सहयोगमा सडक नाटक गर्छन् , नाटक हेर्न भिड जम्मा हुन्छ, अनि बुझाउन र सुनाउन चाहेका कुरा प्रस्तुत गर्छन् । मान्छेको अभावमा उनी आफै कहिलेकाहीँ क्यामरा म्यान पनि बन्ने गर्छन् । त्यसपछि नाटक हेर्न जम्मा भएको भिड बाट युवाहरू उनीसँग सहर्ष अगाडिको घरदैलो कार्यक्रममा सहभागी हुन्छन् । गाउँमा कृष्णा आएको खबर पाए पश्चात् गाउँवासी उत्साहित हुन्छन् र सबैले आआफ्नो हैसियत अनुसार उनका स्वागतको जोहो गर्न हौसिन्छन् । कोही फूलको माला ले त् कोही उनका टिमका निम्ति खाना को प्रबन्ध मिलाउन स्वस्फूर्त अगाडि सर्छन् ।

कृष्णाको क्रेज खासगरी युवाहरु र निम्न वर्गीय मानिसमा देख्न सकिन्छ । मान्छेहरु बिच घटिरहेको राजनीतिक अभिरुचि र राजनितीकर्मी प्रतीको सम्मान, कृष्णाको जोश, उत्साह र सरलताले बढेको छ । मधेसमा रहेको परम्परागत ध्रुवीकृत कट्टरवादी राजनीतीको विकल्पमा कृष्णाको चुनावी तौरतरिका र राजनीतिक अभ्यासलाई जनताले रुचाइरहेको देखिन्छ भने उनको उम्मेदवारी र राजनीतिक चेतनाले समग्र राजनीतिकर्मी को साख माथि उठाईरहेको अवस्था छ ।

यस क्षेत्रमा नेकपा एमालेका सचिव रघुविर महाँसेठ, सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सह महाँमन्त्री महेन्द्र यादव र जसपा बाट महाजन यादव उम्मेदवार छन् । जसमा मुख्य प्रतिद्वन्द्वी रघुविर र महेन्द्र हेरिन्छ ।

स्थानीय निर्वाचनमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङ्ग को जितले स्वतन्त्र उम्मेदवार प्रति देशैभरिका मतदाताको ध्यानाकर्षण गरेको छ । काठमाडौं र धरानका मतदाताले पार्टीगत राजनीति गरिआएका पुराना अनुहार दोष मात्रै दिएर पन्छिएनन् , आफ्नो असन्तुष्टिलाई मताधिकार द्वारा राजनीतिक चेतनाको पुष्टि गरे । धनुषा निर्वाचन क्षेत्र नं ४ का मतदाताको चाहाना निर्वाचन परिणाम ले देखाउला तर काठमाडौंका मिडियाको नजरमा पर्न नसकेका यी स्वतन्त्र उम्मेदवारले मधेसमा भने आफ्नो प्रस्तुति निक्कै ओजपुर्ण ढंगले देखाइरहेका छन्, उनलाई हाम्रो शुभकामना ।

  • प्रशान्त शर्मा
    समाजशास्त्र केन्द्रीय विभाग कीर्तिपुर मा अध्यनरत

                               

प्रतिक्रिया