Bhadra-Awagya

भद्र अवज्ञा: नागरिक आन्दोलनको प्रवृति


  • CN THARU

नेपालमा नागरिक आन्दोलनको इतिहास पुरानो मानिन्छ । शान्ति र लोकतन्त्रको लागि नागरिक आन्दोलन एक समयको नारा थियो । २०६२-६३ मा नागरिक अगुवाहरुको भाषण सुनि बस्ने युवाहरु आज नागरिक आन्दोलनको अग्रपंक्तिमा देखिन्छन् । कुरो नागरिक समाजको होइन यहाँ नागरिक आन्दोलनसँग सम्बन्धित रहेको कारण मुलतः शासकलाई खवरदारीको लागि यस किसिमका आन्दोलन अपरिहार्य बन्छ । नागरिक आन्दोलन न्यायपूर्ण व्यवस्थाका लागि हुने गरेको इतिहास छ तर नेपालमा संविधान २०७२ बनाउने क्रममा जुन षडयन्त्र गरेर यहाँ प्रतिगमनको विऊ रोपियो आज त्यसैको मलजल पाई पूर्ण आकार लिंदै जननिर्वाचित भनिएका प्रधानमन्त्रीले संसद मात्र विघटन गरेका छैनन् । उनको योजना त देशलाई २०४७ सालकै संविधान अनुसार चलाइराख्ने दिशामा केन्द्रित छ भन्न सकिन्छ ।

पौष ५ गते नेपालको राजनीतिक दृष्यमा जे देखियो र त्यसपछि विविध पक्षबाट जुनस्तरको प्रतिक्रिया प्राप्त हुन पुगेको छ, ती सबै शासकवर्गको प्रतिक्रियाहरु मात्र हुन् । अहिले पनि राज्यविहिन राष्ट्रियताहरु जसले यो राज्य हाम्रो पनि हो भनि अनुभूत गर्न पाएका छैनन ती मौन छन् । उनीहरु या त अलमलमा छन् या प्रतिक्रिया दिन डराइरहेका छन् । सटीक एजेण्डा तय गर्न जोखना हेर्नु नपर्ने हो तर व्यक्तिगत कुण्ठाले हो अथवा अन्य केही लालसाले तराई मधेश राष्ट्रिय परिषद मात्र यो प्रतिगमनलाई संघीयता रक्षार्थ गरिने आन्दोलनसँग जोडी सडकमा उत्रेको देखिन्छ । आम रुपमा उत्पीडित जनताहरु शासकवर्गको स्वार्थको लडाइ मात्र सम्झिदिएको हो भने याद रहोस् मधेशी जनता आन्तरिक उपनिवेशबाट निरन्तर उत्पीडनमा रहनेछन् ।

प्रतिगमनको परिभाषा: प्रतिगमन विरुद्धको संघर्षमा तराई मधेश राष्ट्रिय परिषद शुरु देखि नै लागि परेको छ । प्रतिगमन परिभाषीत गर्दा आधार कुन टेक्ने वहस चलिरहेकै छ । यसमा सरोकारवालाहरुको धारणा वीच एकमत नहोला तर प्रतिगमनले अहिले सबै वर्ग-समुदायलाई एकठाउँमा ल्यादियो । मधेश विद्रोहले विशेषतः तीन मुद्दामा बढी सरोकार बनाए । ती–बन्दुक अथवा सुरक्षा निकाय, अर्र्थतन्त्र बाँडफाँड गर्ने ठाउँ र कलम अर्थात् जनप्रशासन भएकोले राज्यलाई सबै ठाउँमा मधेशीको समानुपातिक समावेशिता चाहिएको मुद्दामा सम्झौता भएर त्यसलाई वैधानिक बनाउने विषय थियो जुन हाल संविधानमा लेखिए पनि व्यवहारमा षडयन्त्र गर्दै निष्कृय बनाइएको मानिन्छ । त्यसैले कतिपय सहभागीहरुबाट एक वर्ष अगाडि लोकसेवा आयोगले विज्ञापन मार्फत समानुपातिक समावेशिताको धज्जी उडाउँदा काठमाण्डौका नागरिक अगुवाहरु चुपचाप थिए किन? आफुलाई पर्दा मात्र प्रतिगमन देख्ने दृष्टीकोण शासकीय मनोदशा त हो नि? भन्दै प्रश्न उठाउँदै पनि छन् ।

यति हुँदाहुँदै पनि टीएमएनसी ले प्रतिगमन विरुद्धको आन्दोलनमा सहभागी बन्दै साथै प्रश्न पनि उठाउने गरिआएका छन् । जवाफ कसले दिने? यो प्रश्न त्यतिकै जटील देखियो जति कि प्रतिगमन सचिने जवाफ । कसैको लागि संसद पुनःस्थापना होला प्रतिगमन सचिने उपाय त कसैको लागि लोकतन्त्रको पुनर्गठन । तराई मधेश राष्ट्रिय परिषद नेपाल वहुलराष्ट्रिय राज्य घोषणा गरिए पश्चात विविध राष्ट्रियताहरुको राजनीतिक पहिचानको आधारमा स्वशासनको स्थापनालाई प्रतिगमन सचिने उपाय ठान्दछ । दोश्रो संविधान सभाले पहिलो संविधान सभाको अपनत्व स्वीकार गरेको सत्य हो भने वहुलराष्ट्रिय राज्य सर्वदलिय सहमतिले नेपाल राज्यको परिभाषामा राख्ने निर्णय उल्टाएको दिन देखि यो राज्य साम्प्रदायिक हो दावी गर्न सकिन्छ । यहि विषयमा एउटा नविन वहस उठाउनका लागि टीएमएनसीको भूमिकालाई प्रतिगमन विरोधी आन्दोलनमा महत्वपूर्ण बनाउन खोजिएको हो । उपरोक्त टीएमएनसीको धारणाप्रति सबै सहमत हुन नसकला तर यसको जगमा उठ्ने वहसले विकल्प दिन सक्षम हुने विश्वास लिन सकिन्छ ।

नागरिक आन्दोलनमा भद्र अवज्ञा: भद्र अवज्ञा नागरिक आन्दोनको रीढ (पिठ्यूँको हाड) हो । यो वर्तमान संविधानले दिएको दायरा भित्रै रहेर गर्न सकिने छुट छ । त्यसैले भद्र अवज्ञा मार्फत दिइने दवाव अनुशासित र इमानदार हुने गर्दछ । वृहत नागरिक आन्दोलनको अगुवाईमा हिजो अर्थात् माघ १२ गते भएको भद्र अवज्ञा (वालुवाटार मार्च) भाटभटनी पुग्दा रोके । प्रहरी प्रशासनबाट प्रधानमन्त्री निवास भन्दा करिब एक कि.मी.वरै निषेधित क्षेत्र तय गरेको जानकारी प्राप्त भयो । अदालतमा विचाराधिन मुद्दा रहेको समय न्यायधिशहरुलाई दर्शनभेट गर्न वालुवाटार वोलाउने प्रधानमन्त्री पार्टीको पनि वैठकहरु त्यहीं डाक्ने गरेको र मन्त्रीपरिषदको वैठकहरु समेत आफ्नै निवासमा वोलाउने गरेको हुँदा प्रतिगमनको सरदार बसेको वालुवाटार घेर्न भद्र अवज्ञा नागरिक आन्दोलनमा हिजो भयो । प्रहरीले लगाएको काँडेतार फालेर जनता अगाडि बढदा चिनियाँ राजदुतावास छेऊ नपुग्दै पानीको फोहरा र लाठी चार्ज गरियो । तथापी आन्दोलनकारी संयमित नै रहे ।

भद्र अवज्ञा गर्दा धरपक्कड गर्न मामुली विषय हो तर निर्मम तरिकाले लाठी चार्ज गर्नु हतास मनोदशाको उपज भएको वुझ्न सकिन्छ । वृहत नागरिक आन्दोलन शान्तिपूर्ण तरिकाले सम्पन्न गरिनुपर्छ भन्ने मान्यता भोली पनि रहने छ र निरन्तर यो शर्तको पालना गर्न तत्पर रहने संकल्प पनि हो । जहाँसम्म साइवर सेनाका भाटगिरी आन्दोलनलाई विकृत बनाउने जालसाजी गरिआए ती त क्षुद्र स्वार्थका लागि उद्देलिन मन हो । मन फेरिन वेर लाग्दैन र सबै सवालको जवाफ दिईरहनुपर्ने जरुरत हुन्न पनि । भद्र अवज्ञा गर्दा घाइतेहरु दर्जनौं भए र ती सबै घाइतेहरुको उपचार नागरिक बिना सरकारी खर्च आफैं आफैं उठाइ वेहोर्ने सामुहिक जिम्मेवारी पनि थपिए । यो दायित्ववोधले भद्र अवज्ञालाई थप अनुशासित र शिष्ट बनाउन प्रेरित गरेको छ ।

अन्त्यमा, नागरिक आन्दोलन प्रति विकर्षण गराउने योजना असफल बन्दा व्यक्तिगत चरित्र उपर प्रहार गर्ने काममा समय गुजार्नु भन्दा रचनात्मक सुझाव दिनु राम्रो । मधेशी जनता अहिले पनि त्यहि हैसियतमा छन् जुन हैसियतमा आजभन्दा १४वर्ष अगाडि थिए । त्यसैले कसको कति हैसियत छ भनि नाप्ने यन्त्र भनेको संकटको घडिमा उसले निर्वाह गर्ने भूमिका नै हो । अहिले संघियता उपर प्रहार हुँदैछ र दर्जनौं सहिदको अपमानलाई सहज कार्यको रुपमा स्वीकार गर्ने होइन । खतरनाक ओली प्रवृति नेपालको राजनीतिमा व्याप्त छ र तराई मधेशमा समेत यो प्रवृति मौलाएका छन भन्न सकिन्छ । अऔपनिवेशिक मन मस्तिष्क मार्फत सिर्जित विचारले मात्र उपनिवेशबाट मुक्तिको उपाय सुझाउँछ ।

त्यसैले यो भन्नुपरेको छ कि औपनिवेशिकताबाट मुक्ति पाउन पहिले आफ्नै मस्तिष्कलाई अऔपनिवेशिक बनाउन शुरु गर्ने कि ? यथार्थमा नागरिक आन्दोलन सफल हुने भनेको अऔपनिवेशिक परियोजनाको सफल कार्यान्वयनले हो । वर्तमान राजनीति र यसको वरिपरि घुम्ने पार्टी पद्धतिले जारी संक्रमणकाल अन्त्य गर्न भूमिका खेल्न सक्ने ल्याकत राख्दैन । लम्बिदो संक्रमणकालबाट पटक पटक प्रतिगमनको दशा वेहोर्नु पर्ला नै । यहि सोंचले हालको प्रतिगमन बारे धारणा बनाएर नागरिक आन्दोलनमा भूमिका निर्वाह गर्दा सबैको हितमा हुने देखिन्छ ।

सिएन थारु
तराई मधेश राष्ट्रिय परिषद (TMNC)

                               

प्रतिक्रिया